विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको राम्रो तयारीको कारण कोरोना विरुद्धकोृ लडाईमा सामान्य अवस्थामा रहेपनि जोखिम कायम रहेकोले सचेत हुनुपर्ने बताउनुभएको छ ।
सोमबार भिडियो सन्देश जारी गर्दै मुख्यमन्त्री राईले लकडाउनको पालना गर्दै सुरक्षित ढङ्गले बस्न आह्वान गर्नुभएको छ ।
लकडाउनको पालनाले कोरोना रोकथाम र नियन्त्रणमा ठूलो सहयोग पुगेको उल्लेख गर्दै मुख्यमन्त्री राईले सबैको एकताबद्ध प्रयासले कोरोना भाइरसलाई जित्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले ७ हप्तादेखि जारी लकडाउनमा नागरिकले राखेको धैर्यताप्रति पनि सम्मान व्यक्त गर्नुभएको छ ।
प्रदेशमा कोरोना संक्रमितको संख्या ३५ पुगेपनि निको भएर घर फर्कनु हुनेको संख्या १६ जना रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको मुख्यमन्त्री राईको भनाइ छ । उहाँले कोरोनाको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा उपचार प्रक्रियामा संलग्न सम्बद्ध सबैलाई हार्दिक धन्यबाद पनि व्यक्त गर्नुभएको छ ।
प्रदेशमा पीसीआर प्रविधिबाट तीन ठाउँमा कोरोना स्वाब परीक्षण हुन थालेसँगै कोरोना परीक्षणको दायरा बढाएको जानकारी दिँदै मुख्यमन्त्री राईले पिसिआर प्रविधिबाट २२ सय बढीको र आरडीटिबाट ८ हजार बढीको परीक्षण भइसकेको जानकारी दिनुभएको छ । उपलब्ध अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु सबै ठाउँ पुगेको र आवश्यक स्वास्थ्य सामाग्री मौज्दात पनि रहेकोले कोरोना विरुद्ध सहज रुपमा लड्न सकिने अवस्था रहेको विश्वास मुख्यमन्त्रीले दिलाउनुभएको छ।
https://www.facebook.com/hamromat1/videos/267988474604790/