विराटनगर । बाल सुधार गृहमा बालबालिकालाई राख्नुपर्ने भएपनि मोरङको विराटनगरस्थित बाल सुधार गृहमा अधिकांश १८ वर्ष उमेर कटेका किशोरहरु राखेको पाइएको छ ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उप–समितिले अनुगमन गर्दा सुधार गृहमा अधिकांश वयस्क कैदीबन्दी रहेको फेला पारेको हो ।समितिले २०८० चैत ८ मा गठन गरेको उपसमितिले अध्ययन प्रतिवेदन समितिमा पेश गरिसकेको छ । अध्ययनबाट बाल सुधार गृहमा भएका कैदिबन्दी अधिकांश बलात्कार मुद्दाको रहेको पनि भेटिएको छ ।
समितिमा जीवन परियार, पुष्प बहादुर शाह, रञ्जु कुमारी झा, राम कुमार राई र सुशिला थिङ सदस्य थिए । विराटनगर बालसुधार गृहको क्षमता ५० जना भएपनि २३७ जना राखिएको उपसमितिले जनाएको छ ।
सुधार गृहमा रहेकामध्ये १२० जना भने १८ वर्षभन्दा माथिका र ११७ जना मात्रै १८ वर्षसम्मका बालक छन् । १८ वर्ष सम्मका मात्रै बालबालिकालाई सुधार गृहमा राखिन्छ । १८ वर्ष कटेकालाई कारागारमै राख्ने कानुन छ । तर, नाबालक हुँदा गरेको गल्तीको सजाय काटिरहेकाहरु अहिले सावालक भएको सुधार गृहका कर्मचारीहरु बताउँछन् ।
अदालतबाट ढिलो फैसला आउँदा पनि धेरै समय उनीहरु यहि बस्ने गरेको बाल सुधार गृहका प्रमुख मिलन चौहानले बताएका छन् । अन्यत्र सार्ने कानुन भएपनि ठाउँ अभावका कारण सार्न नसकिएको उनको भनाइ छ ।
वयस्कहरू धेरै हुँदा उनीहरूले साना उमेरका बालकहरूलाई कुटपिट र दुव्र्यवहार गर्ने गरेको संसदीय उप–समितिको ठहर छ । एउटै कोठामा खाटमुनी र खाटमाथि गरी तीन तहमा कोचाकेच गरेर बालकहरु बसेको पाइएको उपसमितिले जनाएको छ ।
बालसुधार गृह सुधार गृहको रूपमा नभएको र यातना गृह जस्तो भएको निष्कर्ष सहित उप–समितिले कानुन संशोधन गर्न र भौतिक अवस्था परिमार्जन गर्न सुझाब दिएको छ । उपसमितिले मोरङ, सुनसरी र धनकुटा जिल्लाको कारागार पनि अनुगमन गरेर प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनमा एउटा समाजको डरलाग्दो अवस्थाको पनि चित्रण गरिएको छ । समाज कता जाँदै छ भन्ने प्रतिवेदनले देखाएको सुधारगृहका कर्मचारीहरु बताउँछन् । सुधार गृहमा रहेकामध्ये ११९ जना जबरजस्ती करणीका मुद्दाका कैदिबन्दी छन् । जसमा १४ देखि १६ वर्षका १९ जना छन् भने १६ देखि १८ वर्षसम्मका ४१ जना छन् । १८ वर्षदेखि २० वर्षसम्मका ३६ जना र २० वर्षमाथिका ३३ जना छन् ।
सामूहिक जबरजस्ती करणीमा ३ जना पनि सुधारगहृमा बसेका छन् । उनीहरू १६ वर्षदेखि १८ वर्षसम्मका छन् । जबरजस्ती करणी उद्योगमै ४ जनाले सजाय काटिरहेका छन् । उनीहरू पनि १६ वर्षभन्दा माथिकै छन् ।सुधार गृहको मापदण्ड न्दा माथि उमेर समूहका भएपछि प्रशासनलाई व्यवस्थापन गर्न पनि हम्मे हम्मे परेको छ । स्वास्थ्यकर्मीको दरबन्दी नहुँदा मोरङ कारागारबाट गएका स्वास्थ्यकर्मीले कैदीबन्दीको चेकजाँच गर्ने गरेका छन् । सुधार गृहमा बालकहरु विरामी भएमा अस्पताल लैजान सवारी साधनसमेत छैन ।
सुधारगृहमा कक्षा ४ देखि १० सम्म पठनपाठन गर्न विद्यालय सञ्चालन गरिएपनि त्योभन्दा माथिको पठन पाठनका लागि व्यवस्था छैन । उनीहरूले बाहिर गएर परीक्षा मात्र दिन पाउँछन् । गत शैक्षिक सत्रमा कक्षा ११ मा २६ जनाले र १२ मा १६ जनाले विद्यालय नै नदेखी परीक्षा लेखेका थिए ।
कुनैपनि अपराधमा संलग्न भएका बालबालिकालाई सुधार गर्नका लागि बाल सुधार गृहमा ल्याएपनि उनीहरूलाई सुधार गर्ने खालको कुनै कार्यक्रम नभएको सुधार गृहका कर्मचारीहरू बताउँछन् । बालबालिकालाई दिइनुपर्ने आधारभूत सुविधासमेत छैन । उनीहरु आधारभूत सेवाबाट समेत वञ्चित छन् ।