कोभिड–१९ उपचारमा होमियोप्याथी, योग र गुन्द्रुक

 डा. खगेन्द्र ओली

गुन्द्रुक परापराकालदेखि नै प्रयोगमा ल्याइएको एक विशेष प्रकारको तरकारी हो । यो नेपाल, भुटान, तिब्बतलगायत भारतका विभिन्न प्रान्तहरु दार्जेलिङ्ग, सिक्किम आसाम उत्तराखण्ड आदि ठाउँहरुमा प्रयोगमा ल्याइन्छ । यो हाम्रो राष्ट्रिय तरकारी पनि हो । यो धेरै पोसिलो र स्वास्थ्यबद्र्धक भएकोले यसलाई अमृत तरकारी पनि भनिन्छ । यसमा धेरै प्रकारका भिटामिनहरु जस्तै सी, डी, वि १२, क्याल्सीयम साथै एण्टी अक्सिडेन्ट पनि पाइन्छ ।

डिपार्टमेन्ट अफ फुड साइन्स एण्ड टेक्नोलोजी पोनीचेरी युनिभर्ससिटी तामिनाडु भारतका अनुसार यी सबै भिटामिनहरु गुन्द्रकमा पाइन्छन् । भिटामिन सी हाम्रो शरीर आफैं उत्पादन गर्न र संचित गर्न पनि सक्दैन । तर, यो हाम्रो शरीरलाई अति आवश्यक पर्ने भिटामिन हो । यसमा भएको एन्टीअक्सिडेन्टले बिभिन्न रोगहरुसँग लड्न मद्दत गर्दछ । एण्टीअक्सिडेन्ट एक प्रकारको मोलेक्युल हो । जसले रोगसँग लड्ने क्षमता इम्युनिटी पावरलाई बढाउन मद्दत गर्दछ । यसले रगतमा भएको खराब कोलेस्ट्रोल र रगतमा भएको बढि बोसोको मात्रालाई कम गराएर ब्लड प्रेसरलाई नियन्त्रण गर्न मद्दत गर्दछ । यसले रगतको मात्रा कमी हुन नदिनुका साथै सेता रक्तकोषहरुको बृद्धिमा सहयोग गर्दछ । सेता रक्तकोषको बृद्धिले रोगसँग लड्ने क्षमता बढाउनुका साथै शरीरलाई क्षति गर्ने व्याक्टेरिया र भाइरसलाई मार्ने काम गर्दछ । साथै यसले रुघाखोकी सर्दी लाग्नबाटसमेत बचाउन मदत गर्दछ । त्यसैगरी अर्को महत्वपूर्ण भिटाभिन बी १२ पनि गुन्द्रकमा पाइन्छ । यसले मानिसको मष्तिस्क सेल र नसाहरुमा काम गर्नुको साथै शरीरमा शक्ति उत्पादन गर्न सहयोग गर्दछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ बाट बच्नका लागि प्रसस्त मात्रामा भिटामिन सी खानुपर्छ । हामी नेपालीहरुले प्रायःजसो गुन्द्रुक खाने भएकोले नेपालमा ठूलो क्षति नभएको हुनसक्छ । यसलाई अनुसन्धानको विषय बनाउनु जरुरी छ । आज विश्व कोरोनाको यस्तो प्रताडित अवस्थामा नेपालजस्तो सिमित स्रोत र साधन भएको देशमा विनाकुनै जोखिम यसरी रोगलाई नियन्त्रणमा ल्याउने कारणहरुमध्ये नेपालमा अत्यधिक गुन्द्रकको प्रयोग पनि हुनसक्छ । गुन्द्रुक दालभन्दा सस्तो भएको हुँदा गरिब मानिसहरुले प्रयोग गर्नसक्ने भएकोले सकेसम्म आफ्नो खानामा दालको सट्टा गुन्द्रुक प्रयोग गर्न अनुरोध गरिन्छ । गुन्द्रुक हाम्रो मितव्ययी र राष्ट्रिय तरकारी पनि हो । त्यसैले यसलाई संरक्षण गर्नु जरुरी छ ।

कोभिड–१९ होमियोप्याथी र मानसिक समस्या

संसारभर उपचार गर्ने धेरै पद्दतिहरु छन् । सबै पद्दतिका आफ्नै मूल्य मान्यता र सिद्धान्तहरु छन् । तर पनि सबैको उदेश्य भनेको स्वास्थ्य समाजको निर्माण गर्नु नै हो । आखिर लकडाउनको समयमा मृत्युदर कम भयो । धेरै मानिसहरु सानोतिनो रोगहरुमा अस्पताल गएनन् । तर, पनि स्वास्थ्य अवस्था धेरै विग्रिएन । त्यसैले विश्व स्वास्थ्य संगठनसम्मले मृत्युदर कम भएको कुरा पुष्टि ग¥यो । यसबाट थाह पाउन सकिन्छ कि एलोप्याथिक चाहिनेभन्दा बढि प्रयोगमा आयो यसमा विश्वभरका देशहरुले ठूलो धनराशी खर्च गरे । अन्य चिकित्सा पद्दतिलाई खासै चासो दिइएन । र कोरोना भाइरसको विकराल अवस्थामा होमियोप्याथी र योगलाई केही देशहरुले प्रयोगमा ल्याए र यसले राम्रो परिणाम पनि दियो । अब आउने दिनहरुमा सबै चिकित्सा पद्दतिलाई प्रयोगमा ल्याएर कोभिड–१९ को समुल अन्त्य गर्न विश्वव्यापी नयाँ अवधारणा बनाउनु जरुरी छ ।

इतिहास पल्टाएर हेर्दा होमियोप्याथी पद्दतिले थुप्रै विश्वव्यापी महामारीहरुमा महत्वपूर्ण भूमिका खेलेको प्रमाणहरु छन् । सन् १९१८ देखि १९१९ सम्म स्पेनिस फ्लुले विश्वमा करिब ४ करोडभन्दा बढि मानिसहरु मरेका थिए, त्यसैगरी, सन् १८१७ देखि १९३० सम्ममा कोलेराले १० लाख मानिसहरु मरेका थिए । र तेस्रो प्लेगको महामारीमा सन् १८५५ मा करिब १ कारोड २० लाख मानिसहरु मरेका थिए । संसारबाट मानिसको अस्तित्व नै हराउने अवस्थामा होमियोप्याथिक औषधीले रोगको रोकथाम तथा उपचार गराउने कुरामा महत्वपूर्ण भूमिका खेलेको थियो । यसैगरी अहिलेको महामारीको समस्यामा पनि यसले कति समय लिन्छ र क्षति कति हुन्छ भन्ने कुराको यकिन भने गर्न सकिएको छैन । यदि लकडाउन नगरिएको थियो भने यसले विश्वलाई अगाडिका महामारीजस्तो बनाउन सक्थ्यो भनेर अनुमान गर्न सकिन्छ । आज विश्वका कतिपय देशहरुमा होमियोप्याथीलाई कोभिड–१९ को रोकथाम र उपचारको प्रयोगमा ल्याइएको छ । भारतको आयुस मन्त्रालय र नेपालको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पनि होमियोप्याथिक औषधीहरु आर्सेनिककम एल्बम ३० लाई रोकथामको पहिलो प्राथमिकतामा राखेको छ । त्यसैगरी जेलसेमीयम, इपाटोरियम, क्याम्फर, एन्टीमोनियम टारटेरिकम, फस्फोरस आदि रोकथामको रुपमा प्रयोगमा ल्याउन स्वीकृति प्रदान गरेको छ । त्यसैगरी उपचारको रुपमा विरामीको समस्याहरु र लक्षणको संकलन गरी विभिन्न औषधीहरु दिन सकिन्छ । जस्तै ब्रायोनिया अल्बा, जेल्सेमीयम, इपाटोरियम, क्याम्फर, इन्टीमोनियम टारटेरिकम, फस्फोरस आदि र आवश्यकता अनुसार मदर टिन्चर र बायोकेमिक औषधीहरु दिन सकिन्छ ।

मानसिक समस्या

लकडाउनपछिको विश्वको आर्थिक मन्दी, बेरोजगारी समस्या, भोकमारी, रोगको त्रास, बैंकको ऋण, स्कूल र कलेज बन्द आदि कारणले गर्दा धेरै मानिसहरुमा मानसिक समस्या हुनसक्छ । ती विभिन्न प्रकारका समस्याहरुमा होमियोप्याथिक औषधीले उपचार गर्न सकिन्छ । किनभने यस पद्दतिमा मानसिको शारीरिक, मानसिक र भावनात्मक लक्षणहरु लिएर उपचार गरिने भएको हुँदा यसले शरीरमा भएको सम्पूर्ण रोगहरु जरैबाट निको बनाउछ । मानसिक समस्याका लागि होमियोप्याथीमा धेरै औषधीहरु छन् । तीमध्ये महत्वपूर्ण औषधीहरु एकोनाइटम नेपेलस, आर्सेनिकम एल्बम, केल्केरीया कार्बोनिकम, काली आर्सेनिकम, कालीफास, जेल्सेमियम, इग्नेशीया, लाइकोपोडियम क्लाभेटम ।

योग र ध्यान

योगलाई विभिन्न तरिकाले व्याख्या गरिएको छ । अष्टाङ्ग योगमा यम नियम, आसन, प्राणायाम, प्रतिहार, ध्यान, धारण र समाधी पर्दछन् । हाम्रो जीवनमा आसन, प्रणायाम र ध्यानको धेरै महत्व छ । आसनले शरीरमा रक्त संचार गर्नमा महत्वपूर्ण भूमिका खेल्दछ । यसले शरीरमा भएको अनावश्यक विकार वस्तुलाई शरीरबाट बाहिर निकाल्न सहयोग गर्दछ साथै शरीरलाई स्फुर्त राख्न मद्दत गर्दछ ।

श्वास प्रश्वास क्रियालाई सावधानीपूर्वक नियन्त्रण गर्नुलाई प्राणायम भनिन्छ । यसले शरीरमा प्राणवायुलाई सबै तन्तुहरुसम्म पु¥याएर स्वस्थ राख्नुका साथै शरीरमा प्रशस्त मात्रामा अक्सिजन पु¥याउन मद्दत गर्दछ । यसले मानसिक समस्यासमेत ठिक गर्दछ । आफैंभित्र पसेर आफैलाई चिन्ने बुझ्ने स्वयम्भित्रको यात्रा (अन्तर यात्रा) लाई ध्यान भनिन्छ । यसले मानिसलाई शारीरिक मानसिक रुपमा शान्त बनाउँछ । मानसिक र आत्मिक समस्या हल गर्नुका साथै अन्धविश्वासबाट माथि उठेर विज्ञानको विकास गरी भेदभावमुक्त समाज निर्माण गर्न सहयोग गर्दछ । अब प्रमाणित भयो कि देखेको चिजले भन्दा नदेखेको चिजले संसार संचालित छ । संसारको सबैभन्दा सुक्ष्म चिजहरुमध्ये कोरोना भाइरस पनि एक हो । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दै संसारमा फैलियो । त्यसैगरी कोरोनाभन्दा सुक्ष्म चिज अहंकार हो । यो पनि एकपछि अर्को गर्दै संसारभरि फैलिएको छ । यसले सानोभन्दा सानो एरिया पनि छोडेको छैन । त्यहि भएर हामीले अहंकार त्याग्नलाई अन्तर यात्रा गर्नु जरुरी छ । जसरी कोरोनाले संसारलाई आक्रान्त बनायो त्यसैगरी अहंकाररुपी वस्तुले संसारलाई सक्नेवाला छ । नत्र किन जरुरी छ आणविक हतियार ? के यो अहंकार हैन ? देशमा भ्रष्टाचार, अनियमितता, अनुशासहिनता, बलात्कार, राजनैतिक अस्थिरता, हत्या, हिंसा यी सबै चिजहरु अहंकारले नै पैदा गरेका अवगुणहरु हुन्, यसलाई संसारबाट हटाउन जरुरी छ । यसलाई समयमै हटाइएन भने यसले कोरानाभन्दा बढी क्षति गर्ने वा मानवलाई समाप्त गर्ने संभावना हाबी छ । त्यसैले अन्तरयात्रामा जाने जुन प्रक्रिया छ त्यो प्रत्येक व्यक्तिले अनुशरण गरेमा सबैको भलो हुनेछ ।

दान

त्यसैगरी विश्व स्वास्थ्य संगठनले महामारीको अवस्थामा दान गर्न अनुरोध गरेको छ । दान गर्नु अत्यन्तै महत्वपूर्ण विषय छ । दानको विषयमा विश्वमा धेरै अनुसन्धानहरु भएका छन् । जसको निष्कर्ष अनुसार दानले मानिसलाई तनावमुक्त गराई आनन्द गराउनुका साथै सकारात्मक सोचको विकास गराउँछ । यसले मस्तिष्कमा भएका सेरोटोनिन् हार्मोन निकाल्दछ । जसले गर्दा मानिसलाई आनन्दित, सामाजिक भावले ओतप्रोत बनाउनुको साथै अनिद्रा र डिप्रेसन समेत हुनबाट बचाउँछ । दानले मितव्ययी हुन सिकाउछ । यसबाट आफ्ना सन्ततीले असल शिक्षा, सिक्छन् र त्यो शिक्षा दान गरेको सम्पतिभन्दा कयांै गुणा ठुलो भएर शैक्षिक सम्पतिको रुपमा अहिलेको यो परिस्थितमा हामीले आफ्नो गाउँघरमा भएका असाहय, गरिब, रोगी विरामीलाई दान गर्ने अवसर पाएका छौं । यो समयको भरपुर सदुपयोग गरौं । दिल खोलेर दान गरौं यसले तपाई हामीलाई आत्मविश्वास बढाएर कोरोना लाग्नबाट बचाउँन मद्दत गर्दछ ।

अन्त्यमा आज विश्व थला परेको छ । यसबाट नेपाल पनि अछुतो हुन सकेन । लकडाउनपछिको विश्व आर्थिक, सामाजिक र मानसिक समस्याले ग्रसित हुने कुरा विश्व स्वास्थ्य संगठनको आधिकारिक वेभसाइटहरुमा देख्न पाइन्छ । यस्तो गम्भीर समस्याहरुलाई न्यूनीकरण गर्नका लागि हाम्रोजस्तो सिमित साधन र स्रोत भएको देशमा ठुलो चुनौतीको विषय हो । आज देशभरिका मानिसहरुको कोभिड–१९ को जाँच गर्ने अवस्था छैन । यस्तो परिस्थितिमा सस्तो र भरपर्दो उपचार विधि होमियोप्याथी पद्दतिलाई सरकारले महत्वपूर्ण स्थान दिएर गाउँघर सहर सबैतिर कोरोना रोकथाम र उपचारका प्रक्रियाहरु अगाडि बढाएर औषधीहरु वितरण गर्न जरुरी छ । यसले मानसिक समस्यासमेत निको बनाउने हुँदा कम खर्चिलो र शरीरलाई कुनै पनि नोक्सानी नगर्ने भएकोले यो जोखिमरहित अभियान हुन सक्छ ।

दिर्घकालिन योजनाहरुमा समग्र स्वास्थ्य, शिक्षा र कृषिलाई ध्यानमा राखेर यी क्षेत्रहरुको बृहत्तर विकासको लागि अध्ययन, अनुसन्धान प्रविधि र उपकरणको उपयोग गरी जनतालाई भविष्यमा आउन सक्ने संभावित खतराहरुलाई मध्यनजर गरी अब आउने बजेटमा सम्बोधन गर्न जरुरी छ । यो बजेटले नै लकडाउनपछिको नेपाल र नेपालीको भविष्य निर्धारण गर्ने सुनिश्चित छ । भविष्यमा आउनसक्ने आर्थिक, सामाजिक र मानसिक समस्याको सम्बोधन यही बजेटले गर्नेछ ।

(लेखक : इटहरीस्थित इन्खा पोलिक्लिनिक प्रा.लि.का निर्देशक हुन्)

सोमबार, २९ बैशाख, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर