विराटनगरको लाइफ गार्ड अस्पतालको आइसियुमा कसरी भयो आगलागी ?

विराटनगर । विराटनगर महानगरपालिका ५ स्थित लाइफगार्ड अस्पतालको आईसीयूमा लागेको आगो डेड घण्टापछि नियन्त्रणमा आएको छ ।

अस्पतालको आईसीयूमा आइतबार दिउँसो ३ बजेतिर भएको आगलागी विराटनगर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

करिब डेढ घण्टापछि आगलागी नियन्त्रणमा आएको अस्पतालले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विद्युत ‘सर्ट’ भएर आगलागी भएको अनुमान गरिएको छ । वास्तविकता पत्ता घटनाको अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

अस्पतालका चिकित्सक डा.कैलाश श्रेष्ठका अनुसार आगलागीबाट करिब डेढ करोड बराबरको क्षति भएको छ । अस्पतालले १० बेडको आईसीयू सञ्चालन गरिरहेको थियो । अस्पतालका अनुसार आगलागी भएको समयमा आईसियुमा विरामी नरहेकोले मानवीय क्षति भने हुन पाएन ।

अस्पतालमा आगलागी सुरु भएपछि अन्य वार्डका बिरामी र कुरुवाहरू त्रसित बनेका थिए। आईसीयूको एसीबाट आगलागी सुरु भएको अस्पतालले जानकारी दिएको छ । आगोले भेन्टिलेटर, मनिटर, एसी, पोर्टेबल एक्स–रे मेसिन, बेडलगायत आईसीयू कक्षभित्र रहेका सबै सामान जलेको बताइएको छ ।

आगलागीपछि ओपीडीलगायतका सबै सेवा तत्काललाई बन्द गरिएको अस्पतालले जनाएको छ ।

आइतबार, २७ साउन, २०८१, साँझको ०७:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर