किशोरीमार्फत् पक्राउ परे भगौडा

विराटनगर । कोशी अस्पतालबाट भागेका मोरङ कारागारका एक जना कैदीलाई प्रहरीले एक हप्तापछि पक्राउ गरेको छ ।ड्युटीमा खटिएका प्रहरीलाई लडाएर अस्पतालबाट फरार भएको भनिएका विराटनगर–८ का २३ वर्षे आर्यन महमद अहमद खान भनिने मोहमद अहमदलाई प्रहरीले एक हप्ताको मिहेनतपछि बुधबार पक्राउ गरेको हो ।नेपाल–भारत सीमानजिक मोरङको जहदा गाउँपालिका–१ तारेगामबाट उनलाई पक्राउ गरेको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

मोरङको बेलबारी घर भएकी १५ वर्षे एक जना किशोरीलाई बलात्कार गरेको मुद्दामा १२ वर्ष कैद सजायँ ठहर भएर जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका उनी साउन १७ गते बिहान साढे ५ बजे अस्पतालबाट फरार भएका थिए । उनलाई उपचारका लागि साउन १५ गते कोशी अस्पताल भर्ना गरिएको थियो । उपचाररत अस्पतालमै ड्युटीमा खटिएका प्रहरीलाई लडाएर फरार भएलगतै प्रहरीले उनको खोजीलाई तीब्र बनाएको थियो ।

हप्तादिनसम्म भगौडा कैदी कहाँ–कहाँ पुगे ?

अस्पतालबाट भागेका कैदी आर्यनको खोजी गर्न इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा तीन सदस्य टोली सोही दिन परिचालन भयो । अस्पतालबाट भागका उनी त्यसै दिन जोगवनी नाकाहुँदै भारत पुगे । उनलाई अस्पतालबाट रिसिभ गरेर बोर्डरसम्म कैदीका भाइले पु¥याएको अनुसन्धानबाट खुलेको छ । ‘यस विषयमा पनि हामीले अनुसन्धान गर्दै आएका छौं,’ एसपी कार्कीले भने ।

फरार भएका कैदीको घर तथा आफन्त कतै पनि पत्ता नलागेपछि प्रहरीले आर्यन भारततर्फ गइसकेको निश्कर्ष निकालेको थियो । तर, भारतको कुन ठाउँमा पुगे भन्ने कुरा पत्ता लाग्न सकेन । त्यसपछि अनुसन्धान अधिकृतले आर्यनविरुद्ध बलात्कार मुद्दा दर्ता गर्ने पीडितको सम्पर्कमा अझै उनी रहेको सूचना पाए । त्यसै सूचनालाई अनुसन्धान अधिकृतले पछ्याए । अनुसन्धानका क्रममा ती किशोरीसँग आर्यनको सम्पर्क कायमै रहेको निश्कर्षमा प्रहरी पुग्यो । आर्यन कारागारमा हुँदा पनि किशोरीसँग टेलिफोन सम्पर्क हुनेगरेको रहेछ । आर्यनको साथीमार्फत प्रहरीले पाएको त्यो सूचना सत्य थियो ।

किशोरीसँग सम्पर्कमा रहेको आर्यनको बारेमा बुझ्न प्रहरी पीडित किशोरीको घरमा पुग्यो र आर्यन कारागारबाट भागेको घटनाबारे जानकारी गरायो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गर्न सहयोग गरिदिन आग्रह गर्यो । ‘फोन सम्र्पकमा कैदी र पीडित किशोरीबिच कुराकानी भएपछि उनले पनि भारतको लोकेसन भनिदिए । त्यसपछि भारतको झारखण्ड राज्यको साहियबगन्जस्थित आफन्तको घरमा बस्ने गरेको कुरा आर्यनले किशोरीलाई बताए । त्यसपछि इप्रका रानीका प्रहरी निरीक्षक थापा नेतृत्वको टोली उनको खोजीमा निस्कियो । आर्यनले ती युवतीलाई फरार भएको भोलिपल्ट फोन गरेका रहेछन् । फोन सम्र्पकमा युवतीलाई कटियारसम्म आऊ म लिन आउँछुसम्म भनेका रहेछन्,’ उनीहरुबिच भएको कुराकानी उद्धृत गर्दै एक अनुसन्धान अधिकृतले भने, ‘त्यसपछि किशोरीको सहयोगमा एक हप्ताभित्रै कैदीलाई समाउन सक्यौं ।’

अब पाँच वर्ष थप सजाय !

अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर तीन महिनादेखि मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका कैदी हुन् । उनलाई जिल्ला अदालत मोरङले २०८१ वैशाख ७ गते १२ वर्ष कैद हुने फैसला गरेको थियो । उनी इप्रका बेलबारीबाट २०७९ फागुन ४ गते पक्राउ परेका थिए ।

जेलबाट भागेको कैदीको हकमा थप सजाय हुने कारागार ऐन, २०७९ मा उल्लेख छ । फरार भएर पक्राउ परेका कैदीलाई मोरङ प्रहरीले कैदी भागेको कसुरमा म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । कारगारा ऐन, २०७९ मा कैदी भागेको पुष्टि भए पाँच वर्ष कैद वा ५० हजार रुपैयाँसम्म जरिवना हुने कानुनी व्यवस्था छ ।

दुई जना प्रहरीलाई मुद्दा

अस्पतालबाट उपचारको क्रममा कैदी फरार भएपछि प्रहरीले ड्युटीमा खटिएका दुई जनालाई निलम्बन गरेर अनुसन्धान सुरु गरेको छ । ड्युटीमा खटिएका जिल्ला कारागार मोरङमा कार्यरत प्रहरी सहायक हवल्दार राजीव भण्डारी र प्रहरी जवान ज्ञानेन्द्र कटुवाललाई निलम्बन गरी प्रहरीले अनुसन्धान सुरु गरेको हो । उनीहरुलाई कैदी फरार भएकै दिन १७ साउनदेखि निलम्बन गरी कारागार ऐन २०७९ विपरीतको कसुर मुद्दामा मोरङ जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गरेकोे एसपी नवराज कार्कीले जानकारी दिए । कैदी भागे÷भगाएको मुद्दामा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

कैदी फरार भएको घटनामा छानविन समिति पनि गठन भएको छ । मोरङ प्रहरीका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत नेतृत्वमा छानविन समिति गठन भएर अहिले छानविन भइरहेको एसपी कार्कीले बताए । ‘छानविन समिति बनेर पनि छुट्टै अनुसन्धान भइरहेको छ । अनुसन्धान पूरा भई प्रतिवेदन आएपछि मात्रै प्रहरी कर्मचारीको लापरवाही भए नभएको खुल्छ,’ उनले भने, ‘त्यस विषयमा प्रतिवेदन आएपछि मात्रै भन्न मिल्छ ।’

शुक्रबार, २५ साउन, २०८१, बिहानको ०९:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर