विराटनगर । विराटनगर महानगरपालिकाको वडा नं. १ स्थित परोपकारघाटमा अब हरेक शुक्रबार परमार्थ सिंघिया आरती सेवा सञ्चालन हुने भएको छ । परमार्थ सिंघिया आरती सेवा परोपकारधाम विराटनगरले विहीबार पत्रकार सम्मेलन गरेर यस बारेमा जानकारी गराएको हो ।
आज साँझबाट प्रत्येक शुक्रबार आरती शुभारम्भ गर्न लागिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ४५ मिनेटसम्म सञ्चालन हुने आरतीको आज साँझ शुभारम्भ गर्ने कार्यक्रम छ । आरती पाँच जना गुरुहरुबाट साँझ ६ः३० बजेदेखि ७ः१५ सम्म चल्ने छ ।
प्रत्येक शुक्रबार सञ्चालनमा आउने परमार्थ आरतीको शुभारम्भ भएको अवसरमा शुक्रबारदेखि सोमबारसम्म भने हरेक दिन आरती सञ्चालन हुनेछ । त्यसपछिभने शुक्रबारका दिन मात्र यसलाई निरन्तरता दिइने समितिका महासचिव राजन न्यौपानेले जानकारी दिए ।
जसका लागि परोपकारघाटको सिंघिया नदिको वारिपारि आरती हेर्न आउने भक्तजनका लागि उभिने व्यवस्थित स्थानको व्यवस्थापन गरिएको बताए । समितिले परमार्थ सिंघिया आरती सेवालाई व्यवस्थित रुपमा सञ्चालन गर्न र निरन्तरता दिन २५१ सदस्यीय मूल व्यवस्थापन समिति, ५१ सदस्यीय सल्लाहकार समिति र १३ सदस्यीय कार्यकारिणी समिति गठन गरिएको जनाएको छ ।
परमार्थ सिंघिया आरती शुभारम्भ कार्यक्रममा मा विराटनगर–१२ स्थित पाञ्चाली मन्दिरका पिठाधीश स्वामी प्रपन्नाचार्य, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, कोशी प्रदेशका सांसद भीम पराजुलीलगायत सहभागी हुने बताइएको छ ।