विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले पार्टीले कसैलाई सक्नका लागि नभई सुधार्न र सपार्नका लागि आलोचना, आत्मालोचना र कारवाही हुने बताएका छन् ।
मोरङ निर्वाचन क्षेत्र नम्बर ६ को क्षेत्रीय समन्वय समितिको विस्तारित भेलामा अध्यक्ष खतिवडाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापालाई लक्षित गर्दै त्यस्तो बताएका हुन् । मानगढ खानेपानी आयोजनाको गत जेठ १९ गते सम्पन्न निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरी बागी उम्मेदवार खडा गरेको आरोपमा अध्यक्ष थापालाई एमाले मोरङ जिल्ला कमिटीले पार्टीबाट कारवाही गरी साधारण सदस्यसमेत नरहने निर्णय गरेको छ । उक्त निर्णय प्रदेश कमिटीमा विचाराधीन रहेकै बेलामा प्रदेश कमिटीका अध्यक्षले नै कारबार सुधार्नका लागि भएको बताएका हुन् । महानगर कमिटीका अध्यक्ष थापा पनि निर्वाचन क्षेत्र नम्बर ६ कै मतदाता हुन् । उनकै निर्वाचन क्षेत्रको भेलामा अध्यक्ष खतिवडाले थापामाथिको कारवाहीलाई जायज ठह¥याउने गरी अभिव्यक्ति दिनुले जिल्ला कमिटीले थापालाई गरेको कारवाहीलाई अनुमोदन गर्ने सम्भावना देखिएको हो ।
भेलामो प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले पार्टी निर्माणमा वडा कमिटीहरूले गरिरहेका गतिविधिले नै पार्टीको मिसन ०८४ सफल पार्ने बताएका थिए । उनले पार्टी विधान विपरित गरिने गतिविधिले पार्टीलाई कमजोर बनाउने र त्यस्ता कुरा मान्य नहुने बताए । खतिवडाले भने ‘पार्टीभित्र हुने आलोचना, आत्मलोचना र कारबाही कसैलाई सक्न नभएर सपार्नलाई हो भन्ने तपाइँहरुले बुझ्नुपर्छ, यो पार्टीको निर्देशन हो ।’
नेकपा एमाले मोरङ क्षेत्र न.६ को क्षेत्रीय समन्वय समितिको विस्तारित भेलाले निर्वाचन क्षेत्र अन्तरगतका २० वटा वडामा साउन मसान्तभित्र सदस्यता नवीकरण र प्रशिक्षण गर्ने निर्णय गरेको छ ।क्षेत्रीय समन्वय समितिका संयोजक मकरबहादुर बुढाथोकीको अध्यक्षतामा मंगलबार विराटनगरमा सम्पन्न भेलाले २०८४ सालमा हुने निर्वाचनलाई लक्षित गरेर पार्टी संगठन निर्माण र परिचालन गर्न सदस्यता नवीकरण र प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो ।
भेलामा नेकपा एमाले प्रदेश सचिवालय सदस्य तथा क्षेत्र न.६ का इञ्चार्ज कृष्ण(पर्शुराम) बस्नेतले पार्टीलाई विधि तथा नीतिको माध्यमबाट सञ्चालन गर्ने अभ्यास अनुरूप भेलाको आयोजना गरिएको बताए । उनले वडाबाट पार्टीको कामको थालनी गर्ने, वडाका नेताहरूको पृष्ठपोषण लिने कार्यले पार्टीलाई संस्थागत रूपमा बलियो बनाउने बताए ।
भेलामा नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले जिल्लाभर १६ हजार ५ सय पार्टी कार्यकर्ताको सदस्यता नवीकरण भइसकेको जानकारी दिएका थिए ।
एमालेका केन्द्रीय कार्य समिति सदस्य रामलाल साहले सम्पूर्ण कार्यकर्ता पंक्ति सजहतासाथ पार्टी कार्यमा जुटेर पार्टीको राम्रो कामको प्रचार गरेमा मिसन ०८४ सफल हुने बताए ।
भेलामा नेकपा एमालेको ३४ औँ सचिवालय बैठकबाट जिल्ला इञ्चार्जको जिम्मेवारी पाएका केन्द्रीय सदस्य जीवन घिमिरेलाई सम्मान र स्वागत गरेको थियो ।