विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठुलो सरकारी अस्पताल कोशीमा दुई सिफ्टमा बहिरङ्ग ९ओपिडी० सञ्चालन सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिपत्र आएपछि मङ्गलवारदेखि कोशी अस्पतालमा दुई सिफ्टमा ओपिडी सेवा सञ्चालनमा ल्याएको हो ।
दुई सिफ्टमा ओपिडी सुरु भएपछि साढे ३ बजेसम्म चिकित्सक अनिवार्य बस्नुपर्ने नियम लागू भएको छ । यसअघि दुई बजेसम्म मात्र चिकित्सकले ओपिडीमा बिरामी हर्ने गरेका थिए । जसले गर्दा ओपिडीमा आएका बिरामीले ल्याब रिपोट देखाउने बेलामा चिकित्सक भेटिँदैन थिए । रिपोर्ट देखाउन भोलीपल्ट आउनुपर्ने बाध्यता बिरामीमा थियो । दोस्रो सिफ्ट पनि सञ्चालन भएपछि बिरामीले ओपिडी काटेको दिन रिपोट देखाउन पाउने भएका छन् ।
मन्त्रालयको परिपत्र आएपछि दुई सिफ्टमा ओपिडी सेवा सुरु भएको कोशी अस्पतालका मेसु डा। रविराज सिंहले बताए । ओपिडी टिकट काट्नका लागि बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म समय रहेको मेसु सिंहले बताए । ‘पहिलो सिफ्टमा ओपिडीमा बिरामी जाँच्ने समय बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म हुनेछ । दोस्रो सिफ्टमा ओपिडीमा बिरामी जाँच्ने समय दिउँसो १ बजेदेखि साढे ३ बजेसम्म हुनेछ,’ मेसु सिंहले भने, ‘त्यही अनुसार विभागीय प्रमुखहरूलाई जिम्मेवारी दिएर व्यवस्थापन पनि गरिएको छ ।’ कोशी अस्पतालमा एक दर्जन बढी विभाग रहेको छ । कुनै विभागमा एक जना मात्रै चिकित्सक रहेको छ । जसमा दुई सिफ्टमा ओपिडी सञ्चालनमा समस्या हुने बुझिएको छ ।
कोशी अस्पतालको क्यान्सर र न्युरो सर्जरी विभागमा एक जना मात्रै विशेषज्ञ चिकित्सक रहेका छन् । उक्त विभागमा दुई सिफ्टमा ओपिडी सञ्चालन गर्न समस्या हुने चिकित्सकहरू बताउँछन् । तर, मेसु भने थप जनशक्तिको माग गरेर भएपछि केन्द्रको परिपत्रलाई कार्यान्वयनमा लैजाने पक्षमा रहेका छन् । ‘जनशक्ति अभाव भएको ठाउँमा केन्द्रसँग जनशक्ति माग गर्नेछौँ,’ मेसु सिंहले भने, ‘सञ्चालनमा आएको दुई सिफ्ट ओपिडीलाई थप व्यवस्थित गरेर लैजान्छौँ ।’