राष्ट्रिय परिचयपत्र बनाउनेको मोरङमा बिहानैदेखि भीड, लाइनले वृद्धवृद्धालाई सास्ती

विराटनगर । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गत जेठमा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । जेष्ठ नागरिकलाई सास्ती दिने निर्णय भन्दै त्यसको चोतर्फी विरोध भएपछि असारको २७ गते बसेको मन्त्रिपरिषद बैठकले त्यसलाई स्थगन गर्ने निर्णय गर्यो ।

सरकारको निर्णय अनुसार पञ्जीकरण विभागले केहि ढिलो गरि परिपत्र गरिसकेको छ । असार २७ को निर्णय अनुसार विभागले साउन ४ गते सबै स्थानीय तहमा परिपत्र गर्दै परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित भएको जनाएको छ । तर, त्यसबारे आम सर्वसाधारणलाई सहि जानकारी नपुग्दा जेष्ठ नागरिकहरुले सास्ती पाइरहेका छन् ।

मोरङको इटहरा घर भएकी ७५ वर्षीया लक्ष्मीदेवी पौडेल जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार बिहान ६ बजेदेखि लाइनमा बसेकी छन् । राष्ट्रिय परिचय पत्र बनाउन उनी एकाविहानै लाइनमा बसेकी हुन् ।

प्रशासन कार्यालयमा कर्मचारीको अभावमा जनतालाई सास्ती भएको उनले बताइन् । ‘यस्तो गर्मीमा पाउनु दुःख पाइयो । परिचयपत्र बनाउन आएको पालो आउँदैन’ उनले भनिन्, ‘टन्टलापुर घामले टाउको दुखिसक्यो । बिहानैदेखि भोकभोकै छु ।’ ज्येष्ठ नागरिकको लागि राज्यले सहज व्यवस्थापन गरिनुपर्नेमा दुःख दिएको उनको गुनासो छ ।

लक्ष्मीको अगाडि रहेका ७८ वर्षे ज्येष्ठ नागरिक विराटनगर–१४ जतुवका अवदेश चौधरी चार घण्टादेखि लाइनमा बसेर थकित थिए । चर्को घामबाट बच्न साथमा छाता पनि बोकेर आएका उनले ढाडकोे समस्या रहेकोले धेरैबेर उभिन नसक्ने बताए । ‘राष्ट्रिय परिचय पत्र बनाउको लागि लाइनमा बसेको घण्टौं भइसक्यो । पालो आउने कतिखेर आउने हो थाहा छैन’ उनले भने ।

मोरङको बेलबारी नगरपालिका–२ लालभित्ती घर भएकी ७० वर्षीया तारादेवी खत्री पनि विहानै ५ बजे जिल्ला प्रसान कार्यालय मोरङमा आइपुगेकी हुन् । राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गर्न दिनभर लाइन बस्दा पनि बिहीबार र शुक्रबार पालो नआएपछि आइतबार विहानै उनी आइपुगेकी हुन् ।

‘आइबार पनि ढिलो हुन्छ कि भनेर बिहान उठ्नेबित्तिकै नाती केटालाई पठाएको थिएँ’ उनले भनिन्, ‘मेरोे घुँडा दुख्ने समस्या छ । तरपनि लाइनमा बसेको छु ।’ उनले बिहान १० बजेपछि राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराइन् । ‘राष्ट्रिय परिचयपत्रका लागि निकै दुःख रहेछ । दुई दिनमा बल्ल बल्ल पालो आएर काम भयो,’ उनले भनिन् ।

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि परिचयपत्र बनाउन आउँदा कार्यालयमा निकै भीड रहेको छ । राष्ट्रिय परिचयपत्र बनाउन दैनिकजसो जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको घुइँचो लागेको छ । परिचयपत्र बनाउन ज्येष्ठ नागरिक बिहान ५ बजेदेखि नै जिल्ला प्रशासनमा लाइन बस्ने गरेका छन् ।

सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बिमा, पेन्सन लिन, कर तिर्न, सवारी चालक अनुमति पत्र, कम्पनी दर्ता तथा नवीकरणमा समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासनहरूमा भिड लाग्ने गरेको छ । सरकार सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हटिसकेको छ । तर, सेवाग्राहीलाई त्यसबारे राम्रो जानकारी नहुँदा प्रशासनमा भीड छ । सरकारको छिनछिनमा फेरिने निर्णयको मारमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकहरु परेका छन् ।

अहिले राष्ट्रिय परिचयपत्र अनिवार्य नगरे पनि चाहिन्छ भनेर वृद्धवृद्धाहरू आएकोले भिडभाड बढेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले बताए । मेडिकलतिर पढ्ने विद्यार्थीदेखि छात्रवृत्तिमा पढ्ने विद्यार्थी तथा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई परिचयपत्र अनिवार्य भएकाले पनि भीड देखिएको उनले बताए ।

‘निजी कलेजहरूले पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने गरेका छन् । यसले पनि भिड बढेको हो,’ उनले भने । परिचयपत्रको नाम दर्तामा प्रशासनले ढिलासुस्ती भने नगरेको उनको दाबी छ । ‘भिडभाड बढेपछि टोकन वितरण गर्ने गरिएको छ’ उनले भने ‘टोकन लिएपछि आफ्नो पालोमा आउनुहुन्छ, तलमाथि अरू हुँदैन ।’

आइतबार, २० साउन, २०८१, दिउँसोको १२:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर