दुर्घटना बढ्यो, ट्राफिक राजश्व घट्यो

मोरङमा गत वर्ष ११७ जनाको मृत्यु

विराटनगर । मोरङमा सवारी साधन दुर्घटना हुने दर बढेको छ भने ट्राफिक प्रहरीले संकलन गर्ने राजश्व रकम गत वर्ष घटेको छ । मोरङमा गत आर्थिक वर्षमा दुर्घटना संख्या २०९ वटाले बढेको छ भने ट्राफिक प्रहरीबाट संकलन हुने राजश्वमा पनि भारी गिरावट आएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा ट्राफिक प्रहरीले अघिल्लो वर्षको तुलनामा ९४ लाख ५०० रुपैयाँ कम राजश्व असुली ग¥यो ।

आर्थिक वर्ष २०७९–८० मा ४ करोड ८७ लाख ३२ हजार राजश्व असुली हुँदा २०८०/८१ मा भने ३ करोड ९३ हजार ३१ हजार ५०० सय रुपैयाँ मात्र राजश्व असुली गरेको हो ।
आर्थिक वर्ष २०७९–८० मा १ हजार २२७ वटा सवारी साधन दुर्घटना भएकोमा २०८०÷८१ त्यो संख्या बढेर १ हजार ४३६ वटा दुर्घटना भयो । जुन संख्या अघिल्लो वर्षको तुलनामा २०९ वटा बढी हो ।

जिल्ला ट्राफिक प्रहरी मोरङका अनुसार दुई आर्थिक वर्षको अवधिमा तुलनात्मक रुपमा पछिल्लो आवमा सवारी साधन दुर्घटना बढेको हो ।
नियम मिचेर चल्ने सवारीको संख्या पनि बढेको छ भने त्यसकै कारण दुर्घटना बढेको भएको प्रहरीले जनाएको छ । कारबाहीमा पर्ने

सवारीसाधन बढेपनि राजस्वमा कमी आएको ट्राफिक प्रहरीको भनाइ छ । गत आवमा जिल्लामा १ हजार ४३६ दुर्घटना भएकोमा ११७ जनाको मृत्यु भएको थियो । घटनामा २६८ जना घाइते भएका थिए भने १ हजार ९९० जना समान्य घाइते भएका थिए ।

दुर्घटनामा साना सवारी साधनहरु बढी पर्ने गरेको ट्राफिक प्रहरी कार्यालय मोरङको तथ्यांकमा उल्लेख छ । यस अवधिमा २७ वटा टिपर, १ हजार २७५ वटा मोटरसाइकल, २५६ वटा टेम्पो, ६१ वटा ट्रक, १९३ वटा जिपकार, ८६ वटा बस र १४ वटा माइक्रो दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ट्राफिक चेतनामा वृद्धि भएपनि सडकको स्तर सुधार नहुँदा दुर्घटनामा कमी नआएको ट्राफिक प्रहरीले जनाएको छ । मोरङ जिल्ला ट्राफिक इन्चार्ज सुमन न्यौपानेले शून्य सहनशीलता अपनाएर नियम मिच्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याइएको बताए । ‘सानो गल्तीले ठूलो दुर्घटना हुनसक्छ,’ न्यौपानेले भने, ‘त्यसैले सानो गल्ती गर्दा पनि नियमानुसार कारबाही गरिएको हो । उनका अनुसार ग्रामीण क्षेत्रमा बढी दुर्घटना हुने गरेको छ । राजमार्गमा कडाइका साथ ट्राफिक नियम कार्यावन्यन गराएकाले दुर्घटना घटेको तर गाउँमा बढी दुर्घटना हुने गरेको उनले बताए ।

राजमार्गमा नियमित ट्राफिक निगरानी हुँदा नियम उल्लंघन गर्ने क्रम घटेको र गाडीको चाप पनि कम भएकोले राजश्व कम भएको उनले बताएका छन् । ट्राफिक नियम पालना गर्ने क्रम बढेपछि राजश्व घट्नु स्वभाविक हुने उनको भनाइ थियो ।

मङ्गलबार, १५ साउन, २०८१, बिहानको ०८:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर