विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट पारित भएको बजेट पुनरावलोकन नहुने स्पष्ट पारेका छन् ।
सरकारमा सहभागिताको तयारीमा रहेको नेपाली काँग्रेसले आफ्नो सहभागिताविना आएको बजेट आफूहरु सरकारमा आएपछि पुनरावलोकन हुनुपर्ने माग राख्दै आएकोमा मुख्यमन्त्रीले कार्कीले त्यसलाई नकारेका हुन् ।
विराटनगरमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट पास भई कार्यान्वयनमा गइसकेकोले त्यसमा पुनरालोकन नहुने स्पष्ट पारे । आबधिक समयमा नमिलेको बजेटलाई कानुन बमोजिम सच्याउने सकिने उनको भनाइ छ ।
यसअघि नेपाली काँग्रेस कोशीको काठमाडौंमा बसेको संसदीय दलको बैठकले बजेट पुनरावलोकन हुनुपर्ने निर्णय गरेको थियो । यस्तै सरकारमा सहभागि हुनुअघि आलोपालो सरकारको नेतृत्व गर्नेबारे लिखित सहमति गर्नुपर्ने काँग्रेसको निर्णय थियो । मुख्यमन्त्रीको दल नेकपा एमालेले आलोपालोको निर्णय केन्द्रबाट हुने भन्दै लिखित सहमति पनि नहुने स्पष्ट पारिसकेको छ ।
मुख्यमन्त्री कार्कीले राष्ट्रिय राजनीतिमा भएको समिकरण अनुसार केहि दिनभित्रै कोशीमा एमाले र कांग्रेसको संयुक्त सरकार निर्माण हुने बताएका छन् । शक्ति सङ्ख्याको आधारमा नेकपा एमालेले मुख्यमन्त्रीसहित पाँच र काँग्रेसले चार मन्त्रालय लिने सहमति भएको पनि उनले जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले ‘वर्तमान अवस्थामा मन्त्रालयको सङ्ख्यामा वृद्धि नहुने स्पष्ट पारेका छन् । काँग्रेसले मन्त्रीहरुको नाम दिएपछि केहि दिनभित्रमै सरकार विस्तार हुने उनको भनाइ छ ।