काँग्रेस र एमालेबीचको सहमति, ‘केन्द्रमा जे हुन्छ, प्रदेशमा त्यहि’

विराटनगर । कोशी प्रदेश सरकारबारे नेपाली काँग्रेस र एमालेबीच ‘केन्द्रमा जे हुन्छ प्रदेशमा त्यहि’ गर्ने सहमति भएको छ । प्रदेश सरकारको नेतृत्व आलोपालो हुनुपर्ने काँग्रेसले अडान राखेकोमा दुई पार्टीको बैठकले यस्तो सहमति गरेको हो ।

नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच जसरी सहमति भएको छ र सरकार जुन दिन परिवर्तन हुन्छ, त्यही अनुसार कोशी प्रदेशमा पनि गर्ने सहमति भएको बताए । यद्यपि दुई पार्टीबीच त्सबारे लिखित सहमति भने भएको छैन ।

काठमाडौंमा शनिबार बसेको दुई पार्टीको बैठकमा एमालेका तर्फबाट मुख्यमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर र प्रमुख सचेतक रेवतीरमण भण्डारी सहभागी थिए । यस्तै काँग्रेसको तर्फबाट दलका नेता उद्धब थापा, काँग्रेस प्रदेश उपसभापति रमेशजङ्ग रायमाझी र प्रमुख सचेतक गोपाल तामाङ सहभागी थिए ।

‘बैठकमा काँग्रेस ४ वटा मन्त्रालय लिएर सरकारमा जाने सहमति भएको छ,’ तामाङले भने, ‘मुख्यमन्त्री र आलोपालो भन्ने विषयमा भने केन्द्रमा जे हुन्छ । प्रदेशमा त्यही गर्ने सहमति छ ।’ तामाङका अनुसार केन्द्र काँग्रेसले सरकारको नेतृत्व पाएको दिन प्रदेशमा पनि नेतृत्व लिने सहमति भएको छ ।

सरकारमा काँग्रेसले यसअघि माओवादी केन्द्रले सम्हालेको भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन वन तथा वातावरण मन्त्रालय लिनेछ ।  यस्तै सामाजिक विकास तथा कृषि मन्त्रालयमध्ये एक मन्त्रालय काँग्रेसले पाउने उनले जानकारी दिए ।

यस्तै काँग्रेस र एमालेबीच संसदीय समितिको नेतृत्वको विषयमा पनि सहमति भएको छ । ‘विषयगत समितिमा पनि एमालेले ३ वटा र काँग्रेसले २ वटाको नेतृत्व लिने सहमति भएको छ’ तामाङले भने, ‘सार्वजनिक लेखा समितिसहित दुई समिति प्रतिपक्षीलाई दिने कुरा छ ।’

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने माओवादीले सार्वजनिक लेखा समितिको सभापति पाउने निश्चित रहेपनि अर्को सभापतिबारे निर्णय नभएको बताए । काँग्रेसले सरकारमा सहभागिताबारे लिखित सहमति गर्न प्रस्ताव गरेपनि लिखित सहमति नहुने उनको भनाइ छ । ‘लिखित सहमति हुँदैन । समीकरण गरेर जाने भनेको विश्वासको आधारमा हो’ उनले भने, ‘केन्द्रमा लिखित गरिसकेको कारण प्रदेशमा अर्को लिखित गरिरहनु जरुरी छैन ।’ भण्डारीले अबको एक हप्तामा सरकारले पूर्णता पाउँछ र साउन महिनाभरमा समितिले सभापति पाउने बताएका छन् ।

एमालेसँग गरेको सहमतिको विषयमा नेपाली काँग्रेसको कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले अनुमोदन गर्ने भएको छ । सोमबार विराटनगरमा बस्ने बैठकले एमालेसँग भएको सहमति अनुमोदन गर्ने प्रमुख सचेतक तामाङले बताए ।  कार्यसम्पादन समितिको बैठकले सहमति अनुमोदन गर्ने भएपनि सरकारमा जानेहरुको नाम भने तय गर्ने छैन ।

मन्त्रीको नाम दिने केन्द्रले नै हो । सबैले बुझेकै कुरा हो’ तामाङले भने, ‘केन्द्रबाट त्यस्तो नाम पर्सिसम्ममा आउला कि भन्ने आशा छ ।’ प्रदेशको निर्णयबारे जतिसुकै स्वायत्तताको कुरा गरेपनि केन्द्रले नै तय गर्ने देखिएको उनले बताए ।

संविधानको धारा १६८ (५) लाई दोस्रो पटक प्रयोग गर्दै कोशी प्रदेशसभाबाट मुख्यमन्त्री कार्की तेस्रो पटक वैशाख २७ गते मुख्यमन्त्री बनेका हुन् । गत असार १७ गते नयाँ गठबन्धन (एमाले र काँग्रेस) बनेसँगै असार ३० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भइसकेका छन् । सोही अनुसार कोशी प्रदेश सरकारमा पनि काँग्रेस सहभागी हुने अन्तिम तयारीमा छ ।

सोमबार, १४ साउन, २०८१, बिहानको ०७:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर