अतिक्रमणविरुद्ध सरकार एक्सनमा जानुपर्छ: प्रचण्ड

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्या समाधानका लागि एक पटक गम्भीरतापूर्वक राजनीतिक र कुटनीतिक पहल गर्नुपर्ने बताउनुभएको छ । उहाँले राजनीतिक र कुटनीतिक पहलबाट समस्या समाधान नभए के गर्ने भन्ने विषयमा अब नेपालले निर्णय लिन ढिला गर्न नहुने पनि बताउनुभएको छ ।

संघीय संसद अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा अध्यक्ष दाहालले अब सरकारले वक्तव्य दिने र चिठ्ठी पठाउने काम मात्र गरेर नपुग्ने भन्दै सरकार एक्सनमा उत्रिने बेला भएको बताउनुभयो ।अहिलेसम्म सरकारले गरेको कुटनीतिक पहल र प्रयत्नहरु ठिकै भएपनि अब एक्सनमा नजाने हो भने समस्या अझ जटिल हुनसक्ने पनि उहाँको भनाई थियो ।

अध्यक्ष प्रचण्डले लिपुलेकमा ६० वर्षभन्दा बढी समयदेखि भारतीय सेना बसिरहेको र त्यो नेपाली भूमि भएको स्पष्ट पार्दै पछिल्लो दिनमा लिपुलेक त्रिदेशीय सीमाबिन्दु भएकोले नेपाल र भारतसँगमात्र छलफल गरेर समस्या समाधान हुन गाह्रो हुने जानकारी दिनुभयो । उहाँले यस विषयमा चीन, भारत र नेपालबीच त्रिदेशीय छलफलका माध्यमबाट समाधान खोज्नु पर्ने बताउनुभयो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सि जिन पिङ्ग र पूर्व प्रधानमन्त्री प्रचण्डबीच गोवामा भएको छलफलमा लिपुलेकको विषय उठाइएको थियो । त्यस कारणपनि त्रीदेशीय साझेदारीका माध्यमबाट लिपुलेकको समस्या समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अहिलेनै अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लिएर जाने विषयमा भने थप छलफल जरुरी पर्नसक्ने भन्दै केही समय सोच्नुपर्ने बताउनुभयो ।

यो विषय सामान्य नभएको र भारतले पटक पटक नक्सा प्रकाशित गर्दा लिपुलेक, लिम्पियाधुरा आफ्नो नक्सामा पारेको विषयलाई समेत हिसाब गर्नुपर्ने बताउनुभयो । उहाँले भारतले आठआठ पटक नक्सा परिमाजिर्त र प्रकाशन गर्दा लिपुलेक कालापानी क्षेत्रलाई भारतमै गाभेको र त्यसमा अघिल्ला सबै सरकारहरुले के गरे भन्ने विषयमा गम्भीरतापूर्वक समिक्षा गर्न आवश्यक भएको बताउनुभयो । राष्ट्रिय एकताका माध्यमबाट ठूलो शक्तिसहित सरकारले अब यो मुद्दा समाधानका लागि पहल बढाउनु पर्नेमा उहाँले जोड दिनुभएको छ ।

आइतबार, २८ बैशाख, २०७७, दिउँसोको ०२:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर