विराटनगर । हिक्मतकुमार कार्की नेतृत्वको कोशी सरकारमा सहभागी नेकपा माओवादी केन्द्र आज सरकारबाट बाहिरिने भएको छ ।
केन्द्रमा नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच भएको गठबन्धनपछि प्रतिपक्षमा पुगेको माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिन लागेको हो ।
अन्य प्रदेशमा माओवादी प्रतिपक्षमा पुगिसके पनि कोशीमा मुख्यमन्त्री कार्कीले तत्काल सरकार नछाड्न माओवादीलाई आग्रह गर्दै आएका थिए । तर,केन्द्रीय गठबन्धन अनुसारको सरकार निर्माण गर्नुपर्ने दबाबमा रहेका मुख्यमन्त्रीको सहजताको लागि सरकारबाट बाहिरिन लागेको माओवादीले जनाएको छ ।
आज मुख्यमन्त्रीको समय पाएपछि माओवादीका मन्त्रीहरुले राजीनामा बुझाउने तयारी गरेका छन् । राजीनामाको तयारी भएपनी त्यसको औपचारिक जानकारी मन्त्रीहरूले दिएका छैनन् ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले आज दलको बैठक बसेर निर्णय गर्ने बताए । उनले भने, आज हामीले बैठक राखेका छौ । बैठकपछि निर्णय सार्वजनिक गर्छौ ।´
कोशी सरकारमा माओवादीबाट भौतिक पुर्बाधार बिकास मन्त्रालयमा गणेश उप्रेती , स्वास्थयमा राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बहादुर मगर मन्त्री छन् । यस्तै पर्यटनमा बन्दना झागर राज्यमन्त्री छन् ।
संविधानको धारा १६८(५) अन्तरगत एमालेका ३९ र माओवादीका १३ जना प्रदेश सभा सदस्यको समर्थनमा हिक्मत कुमार कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।