विराटनगर । एक जना मेनपावर व्यवसायी विराटनगरमा मृत भेटिएका छन् । सुनसरीकाे इनरुवा नगरपालिका -६ घर भएका २८ बर्षीया राजिव फुयाल आज बिहान विराटनगर ११ नयाँ गुद्री अगाडिको हाेटलमा मृत भेटिएका हुन् ।
हाेटलकाे १०८ नम्बर काेठामा भुन्डिएकाे अवस्थामा उनकाे शव भेटिएको छ । अहिले घटनास्थलमा वडा प्रहरी कार्यलय विराटनगरका डिएसपीकाे नेतृत्वको टाेली अनुसन्धानकाे लागि पुगेकाे छ ।
मृतक फुयाल लामाे समयदेखि मेनपावर संचालन गरेर बसेकाे बुझिएको छ । उनले बिहीबार भारत हुँदै २५ जना युवालाई डेनमार्क पठाउने भनेर विराटनगर लिएर आएका थिए । उनी विराटनगरकाे नयाँ गुद्री अगाडि बसेका थिए भने बिदेश जाने युवाहरू भने रानी क्षेत्रमा बसेका थिए ।
बिहान युवाहरूसँगै नआएपछि खाेज्दै हाेटलमा पुग्दा उनी मृत भेटिएका हुन् । एक जना डेनमार्क पठाएबापत उनले ७ लाख लाग्ने बताएका थिए । बिदेश पढाउनुभन्दा अगाडि एक जनाबाट ढेड लाख लिएका थिए । बाँकी रकम बिदेश पुगेपछि दिने भनिएकाे मुकेश कुमार पन्डितले बताए ।