समाचार प्रभाव : तस्करीबारे सुरक्षा समितिको बैठक

छानविन समिति बनाउने तयारीमा प्रमुख जिल्ला अधिकारी

विराटनगर । मोरङका सुरक्षा निकायकै बेमेल र विवाद मात्र नभएर उनीहरुकै संरक्षणमा तस्करी मौलाएको विषयमा हाम्रोमत दैनिकमा समाचार प्रकाशित भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेको छ ।

सुरक्षा निकायकै संरक्षणमा तस्करी: एकअर्का विरुद्ध उजुरी

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जिल्ला प्रशासन कार्यालयमा बुधबार बोलाएको बैठकमा प्रकाशित समाचारको विषयमा छलफल भएको जानकारी दिए ।

‘समाचार प्रकाशित भएको छ । यो विषयमा के हो भनेर तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर छलफल भएको छ,’ प्रजिअ भट्टराईले भने, ‘समाचारमा भनेजस्तो तीनै निकायका प्रमुखबीच बेमेल छैन । आजको बैठकले तस्करीको विषयमा मैले मेरो लेबलबाट छानविन गराउने भनेर भनेको छु ।’

प्रमुख जिल्ला अधिकारी भट्टराईले समाचारमा उल्लेख भएजस्तो तस्करी नखुलेको र कडाई गरिएको ब्रिफिङ सुरक्षा प्रमुखहरुले गरेको जानकारी दिएका छन् । प्रदेश प्रहरी प्रमुख र आफूले यसमा कडाइपूर्वक निर्देशन दिएको उनको दावी छ ।

यद्यपि समाचार आएपछि यस विषयमा थप छानविन गराउनुपर्ने आवश्यकता भएको प्रजिअ भट्टराईले बताए । ‘मैले प्रहरीका प्रमुखहरुलाई छानविन गराउँछु भनेको छु । म मेरो लेबलबाट छानविन गर्छु । आफ्नो हिसावले तयार हुनुहोला । अप्रिय निर्णय गर्नसक्छु भनेको छु,’ उनले भने, ‘सबै एकैठाउँमा बसेर गुड कोअर्डिनेशन गरेर काम गर्ने कुरा भएको छ ।’ उनले कसको नेतृत्वमा छनानविन समिति बनाउने भन्ने खुलाएनन् ।

मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की, सशस्त्रका एसपी विश्व खड्का र राष्ट्रिय अनुसन्धानका एसपी तिलक प्रसाईको विरुद्ध प्रधानमन्त्री कार्यालयसहित उच्च तहमा तस्करसँग मिलेमतो गरि रकम असुलेको उजुरी परेको छ । तर, त्यसबारे उपल्लो तहबाट गम्भीर अनुसन्धान भएको छैन । बरु सुरक्षा निकायका प्रमुहरु एकअर्कालाई तस्करसँग मिलेको आरोप लगाइहरेका छन् ।

सीमा क्षेत्रमा घुमुवा परिचालन गरेर तस्करी खुलाएको र व्यापक पैसा उठाएको भन्दै प्रधानमन्त्री कार्यालयमा दिएको निवेदन सुरक्षा निकायले नै एकअर्काविरुद्ध दिएको आशंका गरिएको छ । यद्यपी उनीहरु आफूहरुलाई बद्नाम गर्न यस्तो उजुरी दिएको दावी गर्छन् ।

‘गृहमन्त्रीको पन्ध्रौं निर्णयमा उल्लेखित भए अनुसार सादा पोशाकमा प्रहरी नराख्ने भनिएता पनि यो निर्णयलाई वास्ता नगरी सादा पोशाकमा घुमुवा प्रहरी हौं भन्दै तस्करसँग साँठगाँठ गरी दिनमा र रातमा लाइन चलाएर भन्सार नतिरि सामान ओसार पसार भइराखेको छ,’ मोहम्मत रफिकको नाममा परेको निवेदनमा भनिएको छ । सो निवेदनमा ‘पटक पटक उजुरी परेपनि प्रदेश प्रहरी कार्यालयमा छानविन गरेपनि घुमुवा प्रहरीहरुलाई कारबाही अनुसन्धान नगरी फेरि त्यही काममा खटाएको र २÷४ दिन विदा छोड्ने र फेरि त्यही काममा लगाउने गरेको’ उल्लेख छ ।

निवेदनमा सिमा नाका, ढाट, दरैया, पोष्ट, उखुबारी, मटेरुवा, इस्लामपुरबाट तस्करी भइरहेको र भन्सार नतिरि लत्ताकपडा, लेडिज आइटमहरू आइरहेको पनि उल्लेख छ ।

एसपी कार्कीले भने आफूहरुले तस्करी नियन्त्रणमा कडाइ गरेको बताएका छन् । यस्तै अनुसन्धानका एसपी प्रसाईले पनि समाचारमा भनेजस्तो बेमेल नभएको प्रतिक्रिया दिएका छन् ।

बिहिबार, १० साउन, २०८१, बिहानको ०७:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर