तस्करीमा सुरक्षा निकाय नै संलग्न : एकअर्काविरुद्ध उजुरी !

तीन सुरक्षा निकायबीच तस्करसँग महिनामारी लाखौं रकम उठाउने गरेको एकअर्कालाई आरोप

विराटनगर । मोरङका सुरक्षा निकायबीच तस्करीको प्रकरणलाई लिएर विवाद छताछुल्ल भएको छ । नेपाल प्रहरी मोरङका प्रमुख एसपी नवराज कार्की, सशस्त्र प्रहरीका एसपी विश्व खड्का र राष्ट्रिय अनुसन्धानका एसपी तिलक प्रसाईंबीच तस्करीमा एकअर्कामो मिलेमतो रहेको आरोप उनीहरुले नै लगाएका छन् ।

सशस्त्रका एसपी खड्कालाई तस्करसँग मिलेमतो गरेको बेनामे उजुरी परेपछि हेडक्वाटर तानेर अनुसन्धान भएको थियो । यद्यपि उनले सफाइ पाएर पुनः काममै फर्किसकेका छन् ।

२०८१ असारको पहिलो हप्ता मोरङका प्रहरी प्रमुख कार्कीले परिचालन गरेका घुमुवाविरुद्ध प्रधानमन्त्री कार्यालयमा एउटा बेनामे उजुरी गयो । उजुरीबारे छानविन गर्न प्रधानमन्त्री कार्यालयले गृहमन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दियो । प्रहरी प्रधान कार्यालयले त्यसबारे निर्देशन गरेपछि प्रदेश प्रहरी कार्यालयले अनुसन्धान गर्दा एसपी कार्कीले खटाएका घुमुवाहरुको बद्नियत नदेखिएको प्रतिवेदन हेटक्वाटरमा पठायो ।

एसपी कार्की र उनले परिचालन गरेका घुमुवाले तस्करीको सेटिङ मिलाएको र लाखौं रकम लिने गरेको उजुरी थियो । ‘गृहमन्त्रीको पन्ध्रौं निर्णयमा सादा पोशाकमा प्रहरी नराख्ने भनिएपनि त्यसलाई वास्ता नगरी सादा पोशाकमा घुमुवा प्रहरी हौं भन्दै तस्करसँग साँठगाँठ गरी दिनमा र रातमा लाइन चलाएर भन्सार नतिरी सामान ओसारपसार भइराखेको छ,’ मोहम्मत रफिकको नाममा प्रधानमन्त्री कार्यालयमा दिइएको निवेदनमा भनिएको छ । सो निवेदनमा ‘पटक–पटक उजुरी परेपनि घुमुवा प्रहरीहरुलाई कारबाही नगरि प्रदेश प्रहरी कार्यालयले पनि त्यही काममा खटाएकोे’ उल्लेख छ । निवेदनमा सिमा नाका, ढाट, दरैया, पोष्ट, उखुबारी, मटेरुवा, इस्लामपुरबाट तस्करी भइरहेको र भन्सार नतिरी लत्ताकपडा, लेडिज आइटमहरू आइरहेको उल्लेख छ ।

निवेदनमा कपडा तस्करहरुबाट मासिक साढे १० लाख, माछा व्यापारीबाट ९ लाख, किराना पसलबाट २ लाख, भन्सार एजेण्डहरुबाट १ लाख, तरकारी, कुखुरा, ग्यासँका सामान, हार्डवेयर पसल तथा गाई गोरु तस्करहरुबाट लाखौं रुपैयाँ गरेर मासिक ३० लाखसम्म असुल्ने गरेको उल्लेख छ । निवेदनमा तस्करीमा संलग्न सिमा क्षेत्रमा व्यापारीहरुको नाम, फोन नम्बर र पसलको नाम समेत उल्लेख छ ।

त्यसगलत्तै प्रधानमन्त्री कार्यालमा अर्को उजुरी पुग्छ । जसमा राष्ट्रिय अनुसन्धानका एसपी प्रसाईले तस्करीको धन्दा चलाएको व्यहोरा उल्लेख छ । असारको पहिलो हप्ता नै प्रधानमन्त्री कार्यालयमा पुगेको निवेदन पीडित व्यापारी मुसाफिरको नाममा छ ।

सो निवेदनको व्यहोरा एसपी कार्कीका विरुद्धमा परेको निवेदनकै ढाँचामा छ । उल्लेखित तस्करका गिरोहहरुसँग एसपी प्रसाईले पैसा असुल गर्ने गरेको निवेदनमा दाबी गरिएको छ । निवेदन प्रधानमन्त्रीको सचिवालय, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, गृहमन्त्रालय, अनुसन्धान महानिरीक्षक र जिल्ला प्रशासन कार्यालयलाई पनि पठाइएको छ ।

पीडित व्यापारीको हवला दिँदै परेको निवेदनमा प्रसाईमाथि फोनबाट पैसा मागेको आरोप लगाइएको छ । ‘एसपी साहेबले अफिसमा हामीलाई आफैं फोनबाट पटक–पटक कल गरी बोलाई राख्नुभएको छ । घर र पसरलमा पनि सरकारी नम्बरको गाडीले पछ्याइरहेको अवस्था छ । मलाई तपाईहरुबाट पैसा महिनेवारी चाहियो ।….. माथि गृहमन्त्री कार्यालय, प्रधानमन्त्री कार्यालय, आइजिपी, डिआइजी साहेबहरुलाई पनि बुझाउनु पर्छ’ भन्ने उल्लेख छ । एसपी साहेबको दबाबमा इन्स्पेक्टरले पैसा मागेको निवेदनमा दावी गरिएको छ ।

एसपी प्रसाईले ठूला व्यापारीहरुलाई आफ्नो अफिसमै बोलाएर पैसा लिने गरेको आरोप निवेदनमा छ । आफ्नो स्वार्थमा पैसा उठाउनका लागि बोर्डरमा र भन्सारमा घुमुवाहरु परिचालन गरेको भन्दै पैसा बुझाउने व्यापारीको नामसमेत निवेदनमा उल्लेख छ ।

एसपी प्रसाईमाथि परेको निवेदनउपर राष्ट्रिय अनुसन्धानको केन्द्रीय कार्यालयले छानविन गरेको स्रोतले जनाएको छ । छानविनपछि प्रसाई तस्करसँग रकम असुल गर्ने कार्यमा संलग्न नभएको प्रतिवेदन निर्माण भएको स्रोत दाबी गर्छ । आफ्ना विरुद्ध अनुसन्धानका एसपी प्रसाईले उजुरी दिएको भन्दै जनपथका एसपी कार्कीले काउन्टर उजुरी दिएको स्रोतले दावी गरेको छ ।

स्रोतका अनुसार एसपी कार्कीको विरुद्ध दोस्रो पटक एउटै व्यहोराको उजुरी परेपछि मोरङका प्रमुख जिल्ला अधिकारीसहित जनपथ र सशस्त्र प्रहरीका एसपीसहितको बैठक डिआइजी कार्यालयमा बसेको थियो । बैठकले अनुसन्धानका एसपी प्रसाईले उजुरी हालेको निश्कर्षसहित उनकै विरुद्ध अर्को उजुरी पठाएको अनुसन्धान स्रोतले दावी गरेको छ ।

प्रसाईलाई प्रदेश प्रहरी कार्यालयमा कार्यरत मोरङका पूर्वएसपी दिपक पोखरेल र पोखरेलको कार्यकालमा मोरङको घुमुवा इञ्चार्ज बनेका बरिष्ठ सइ राजेन्द्र कटुवालले सहयोग गरेको निष्कर्षमा डिआईजी, प्रमुख जिल्ला अधिकारी तथा एसपीद्वय कार्की र खड्का रहेको बताइन्छ । गृह मन्त्रालय मातहतका तीन सुरक्षा निकायबीचको यो द्वन्द्व त्यतिमै सीमित नरहेको पाइएको छ ।

सुरक्षा निकायका दुई अंग र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धानका अधिकारीहरुबीचको विवाद र बेमेल देखिरहँदा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, प्रहरीका कोशी प्रदेश प्रमुख डिआइजी चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी प्रदेशका प्रमुख डिआइजी शम्भु सुवेदी र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धानका डिआइजी किशोर श्रेष्ठ भने रमिते बनेका छन् ।

तस्करी व्यापक भएको रिपोर्ट पुगेपछि केही समय अगाडि आइजिपी बसन्त कुँबरले एसपी कार्कीलाई हेडक्वाटर तान्न खोजेका थिए । तर, उनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी चन्द्रकुबेर खापुङको सहयोगले हेडक्वाटर तानिनबाट जोगिएको कार्कीकै निकटस्थ प्रहरी अधिकारीहरु बताउँछन् ।

‘यहाँ त सबै मिलेर तस्करीलाई प्रमोट गरिरहेको जस्तो लाग्छ,’ एक प्रहरी अधिकारी नै भन्छन्, ‘तस्करी गर्ने काममा डिआइजीदेखिकै मिलेमतो हुनसक्छ ।’ सीमा क्षेत्रमा अहिले ब्यापक तस्करी भइरहेको सुरक्षा प्रमुखहरु विरुद्ध परेको उजुरीले पनि देखाएको छ ।

तस्करीबारे खोजविन गर्दा तस्करीको सामान गोदाममा थन्क्याएर प्रहरीकै सामुन्ने नेपाल छिराउँदै गरेको सिसिटिी फुटेजसमेत भेटिएको छ । जसले गर्दा सीमा क्षेत्रबाट ब्यापक तस्करी भइरहेको प्रमाणित गर्दछ । तर, तस्करी कसको संरक्षणमा भइरहेको छ भन्नेमा सुरक्षा निकायबीच नै आरोप र प्रत्यारोप हुँदा तस्करलाई भने हाइसञ्चो छ ।

राष्ट्रिय अनुसन्धानका उच्च तहका एक कर्मचारीले ‘बन्दुक लिएर, व्यापक जनशक्तिका साथ बसेको जनपथ र सशस्त्र प्रहरी रमिते बनेकोले तस्करी फस्टाएको’ आरोप लगाएका छन् । आफू बच्नका लागि अनुसन्धानका अधिकृतहरुमाथि आरोप लगाइएको उनको जिकिर छ ।
सशस्त्र प्रहरीका तत्कालिन कोशी प्रदेश प्रमुख डिआइजी अञ्जनी पोखरेल रहँदासम्म केही हदसम्म तस्करी कम भएको सीमा क्षेत्रकै बासिन्दाहरू बताउँछन् । जब पोखरेलको २०८१ वैशाख १८ गते सरुवा भयो, त्यसपछि यहाँ खुलेआम तस्करीको धन्दा चलिरहेको उनीहरुको दावी छ ।

सुरक्षा निकायहरुको बेमेल र विवादले त्यसलाई अझै मलजल गरिरहेको छ । दुई दिन अगाडि सेटिङमा प्याज छिराएको भन्दै तस्करका दुई पक्षबीच सिक्टी नाकामा विवाद भएको थियो । उक्त विवाद साम्य बनाउन सशस्त्र र जनपथका प्रहरीको टोली नै त्यहाँ पुग्नु परेको थियो ।

तस्करीमा एकअर्कामाथि भएको आरोप र उजुरीबारे अनुसन्धानका प्रमुख प्रसाईंले आफ्नो विरुद्धमा बेनामे उजुरी कसैले हालेको भएपनि त्यसबारे हेडक्वाटरले छानविन गरेर क्लियरेन्स दिइसकेको बताएका छन् । ‘मेराविरुद्ध कसैले नियतवस उजुरी हालेको रहेछ’ उनले भने, ‘त्यसबारे हेडक्वार्टरले छानविन गरेर उजुरी गलत भनिसकेको छ ।’ सीमा क्षेत्रबाट तस्करी भएकोबारे गुनासो आएपनि त्यसको ठोस प्रमाण फेला नपारेको उनको दावी छ ।

यता मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्कीले पनि कसैले आरोपित गर्नकै लागि बेनामे उजुरी दिएको दावी गर्दै तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरे । ‘बेनामे उजुरी आधारहिन र प्रमाणहिन छ’ उनले भने, ‘कसैले बद्नाम गर्नकै लागि उजुरी दिएको हो, त्यसको अर्थ छैन ।’ उनले सीमा क्षेत्रबाट तस्करी भइरहेको आरोप अस्वीकार गर्दै तस्करी ठप्प रहेको दावी गरेका छन् ।

पछिल्लो समयमा भन्सार छली गरेर अवैध रुपमा हुने राजस्व छलीबाट प्रहरीले उठाउने राजस्वमा कमी आएको तथ्यांकले तस्करी फस्टाएको आरोपलाई बल दिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०÷८१ मा भन्सार चोरी तस्करीबाट प्रहरीले उठाउने राजस्व अघिल्लो वर्षको तुलनामा आधाभन्दा कमी भएको छ । चोरी तस्करीका सामानबाट अघिल्लो वर्ष २६ करोड ९८ लाख ३८ हजार राजश्व असुली गरेको प्रहरीले गत आर्थिक वर्षमा भने १२ करोड ३८ लाख ११ हजार मात्र असुली गरेको छ ।

बुधबार, ०९ साउन, २०८१, बिहानको ०९:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर