विराटनगरमा वृक्षारोपण : २७७ विरुवा रोप्न ४ लाख खर्च, पारुल क्षेत्री एक्लैले रोपे ५ हजार विरुवा

विराटनगर । विराटनगर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा चार लाख रुपैयाँ खर्च गरेर २७७ वटा बिरुवा रोपेको छ । महानगरले एउटा विरुवा रोप्नका लागि १ हजार ४४४ रुपैयाँ खर्च गरेको देखिएको छ ।

वातावरण हरियाली कार्यक्रम अन्तर्गत सडकको डिभाइडरहरुमा विभिन्न प्रजातिका बिरुवा रोपेको महानगरले जनाएको छ । महानगरपालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार ३, ५, ७, १०, ११ र १५ नम्बर वडामा १६० वटा बिरुवा रोपिएको छ भने विभिन्न ७ वटा सामुदायिक विद्यालयहरूमा ११७ वटा बिरुवा रोपिएको छ ।

महानगरको वातावरण शाखाकी इन्जिनियर सुदिक्षा कार्कीले बिरुवाको घेरावारसहितको लागि सो रकम खर्च भएको बताएकी छन् । रोपिएका बिरुवा संरक्षण तथा तारजाली व्यवस्थापनका लागि महानगरले २ लाख ५० हजार रुपैयाँ थप बजेट खर्च गरेको जानकारी दिएको छ । महानगरले वातावरण प्रदूषण अनुगमन तथा निरीक्षणमा भने १ लाख रुपैयाँ खर्च गरेको छ ।

विराटनगरकै पारुल क्षेत्रीलगायतका अभियान्ताको समूहले भने सरकारी सहयोगविना नै करिब ५ हजार विरुवा महानगर क्षेत्रमा रोपेको छ । सो समूहले ४ हजार ७ सय बिरुवा रोपेको जानकारी दिएको छ । सरकारी तथा गैरसरकारी संघ संस्थाको एक रुपैयाँ पनि बजेट अहिलेसम्म अभियानमा लगानी नभएको अभियान्ता क्षेत्रीले जानकारी दिए । उनीहरुको अभियानलाई विरुवा भने विभिन्न व्यक्तिहरुले उपलब्ध गराइदिने गरेका छन् ।

‘सुरुमा एक हजार बिरुवा रोप्ने भनेर अभियानमा खटेको थिएँ,’ उनले भने, ‘महानगरवासीको सहयोगले झन्डै ५ हजार विरुवा रोपेका छौं ।’ अझै अभियान निरन्तर चलिरहेकाले विरुवा थप रोपिने उनले बताए । रोपिएका बिरुवा तीन वर्षसम्म रेखदेख गर्नेसमेत उनीहरुको योजना छ । अभियानमा विराटनगरका स्थानीय बासिन्दाले समेत सहयोग गरिरहेका छन् ।

महानगरले बिरुवामा पानी हाल्दासमेत विभेद गर्ने गरेको क्षेत्रीले आरोप लगाएका छन् । ‘महानगरले सडकको बिचको डिभाइडरमा केही क्षेत्रमा बिरुवा रोपेको छ, हामीले सडकको दुवै किनारामा रोपेका छौं’ उनले भने, ‘महानगरले बिरुवामा पानी लगाउँदा पनि आफूले रोपेका बिरुवामा मात्रै लगाउँछ । हामीले रोपेका बिरुवा पनि महानगरकै सम्पत्ति भएपनि विभेद गर्ने गरेको छ ।’

सरकारी पक्षले कामभन्दा धेरै तडकभडक देखाउने गरेको क्षेत्रीले बताएका छन् । महानगरले हरित नगरी बनाउन कुनै चासो नदेखाएकै कारण अभियान थालिएको उनको भनाइ छ । नेपालका सबै सहरहरूमा अनिवार्य रूपमा बिरुवा रोप्नुपर्ने त्रिभुवन विश्वविद्यालयका इकोलोजी इनभाइरमेन्ट विषयका उपप्राध्यापक रामचन्द्र अधिकारी बताउँछन् । भुईँमा ठाउँ नभए घरका छतमा समेत बिरुवा रोप्न उनले सुझाव दिएका छन् । ‘भारतको पुरानो दिल्लीमा बिरुवा रोप्न खाडल खन्ने ठाउँ छैन,’ उनले भने ‘त्यस्ता ठाउँमा कौसीमा र छतमा बिरुवा रोपिएका छन् । भारतका धेरै सहरहरूमा पनि त्यस्तो देखिन्छ ।’

हावामा कार्वनडाइअक्साइडको मात्र धेरै भएकाले ग्लोबल वार्मिङ गराउने तथा क्लाइमेट चेन्ज गराउने गरेको उपप्राध्यापक अधिकारीले बताए । ‘कार्वन्डाइअक्साइड ग्यास नै ग्लोबल वार्मिङ गराउने मुख्य ग्यास हो’ उनले भने, ‘धेरै बिरुवा रोप्दा हावाको प्रदूषणलाई घटाउने र त्यसले जलवायु परिवर्तनलाई नियन्त्रण गर्नेछ ।’ सहरमा बिरुवा रोप्दा धुलाका कण विरुवाले लिने र मानिसलाई बचाउने अधिकारी बताउँछन् । यस्तै बिरुवाले जमिनमुनिको पानीलाई तानेर हावालाई चिस्याउने काम गर्ने उनले जानकारी दिए ।

महानगरले वातावरण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस मनाउन १ लाख रुपैयाँ खर्च गरेको छ । कार्यक्रम गर्नमा महानगर अगाडि देखिएको भएपनि नतिजा नदेखिएको भन्दै आलोचना भइरहेको छ । महानगरले विरुवा रोपिएको पुरानो तारजाली मर्मत सम्भारमा पनि १ लाख खर्च गरेको छ ।

शनिबार, १७ कार्तिक, २०८१, बिहानको ०९:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर