विराटनगर । केन्द्रीय सत्ता समीकरण परिवर्तन भएसँगै कोशी प्रदेशमा पनि माओवादी मन्त्रीहरुको राजीनामा कहिले आउला र काँग्रेस सरकारमा कहिले सहभागी होला भन्ने चासो बढिरहेको छ । तर, मुख्यमन्त्री र माओवादी दुबैले अहिलेसम्म कुनै निर्णय गरेका छैनन् ।
बुधबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकमा माओवादीका मन्त्रीहरुले सरकार पुनःगठनको बारेमा चासो राखे पनि मुख्यमन्त्रीले अहिले त्यो छलफल आवश्यक नभएको बताएका छन् ।
माओवादीबाट सरकारमा नेतृत्व गरिरहेका भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेतीले मुख्यमन्त्रीलाई सरकार पुनःगठनबारे तयारी के हो भनेर सोधेका थिए । तर, मुख्यमन्त्रीले अहिले मन्त्रालयको काममा केन्द्रित हुन भनेका छन् । ‘हामीले बैठक सकिएपछि राजीनामा दिने कि नदिने ? कहिले दिने ? तपाईको कुरा के हो भनेर मुख्यमन्त्रीलाई सोध्यौं,’ उप्रेतीले भने, ‘मुख्यमन्त्रीज्यूले तपाईहरुको दलको नेतासँग सल्लाह गरेर भन्छु तपाईहरु आ–आफ्नो काम गर्नु भन्नुभयो ।’
‘तपाईहरुले हतार गर्नुपर्ने, आत्तिनु पर्ने, राजीनामाको कुरा गर्नुपर्ने कुनै कारण छैन भन्नुभयो,’ मुख्यमन्त्रीले भनेको कुरा उदृत गर्दै उप्रेतीले भने, ‘हामीले राजीनामाको प्रेसर बढेको छ भनेको उहाँले प्रेसरको औषधि खानुहोस् भन्नुभयो ।’ मुख्यमन्त्री कार्कीले अगाडि कसरी जाने भन्नेबारे माओवादी दलको नेतासँग सल्लाह गरेर निर्णय लिने बताएका थिए ।
मुख्यमन्त्री कार्कीले केही दिन अगाडि केन्द्रकै समीकरणको आधारमा कोशी प्रदेश सरकार अगाडि बढ्ने बताएका थिए । ‘सहमतीय रूप दिन सकिन्छ कि भन्ने कुरा पनि आएको छ । भागबण्डा मिलाउने सन्दर्भमा चाहिं माथिको समीकरण मात्रै प्रयोग गर्ने हो कि भन्ने पनि देखिएको छ,’ उनलेका भनेका थिए ।
नेपाली काँग्रेससँग समिकरणबारे सहमति भइनसकेको कारण मुख्यमन्त्री कार्कीले माओवादीलाई सरकारमा रहिरहन भनेको देखिन्छ । मुख्यमन्त्रीले काँग्रेसलाई चार मन्त्रालय दिने तयारी गरेका छन् । तर, काँग्रेसले पाँच मन्त्रालय मागेको नेताहरु बताउँछन् । कुरा नमिलेको कारण आफूहरुको सत्ता यात्रामा ढिलाइ भएको काँग्रेस नेताहरुको भनाइ छ ।
‘हामी भित्रै नमिलेको कारण सरकारमा जान ढिलाइ भएको हो,’ काँग्रेस संसदीय दलका नेता उद्धब थापाले भने, ‘हामीले मन्त्रीको नाम दिने वित्तिकै सरकारमा काँग्रेसको इन्ट्री हुन्छ ।’ कोशी प्रदेशमा मुख्यमन्त्री कार्यालय र ८ मन्त्रालय गरेर ९ जना मन्त्री रहने व्यवस्था छ । हाल माओवादी केन्द्रबाट गणेश उप्रेतीले भौतिक पूर्वाधार विकास मन्त्रालय, नारायण बुर्जा मगरले पर्यटन, वन तथा वातावरण मन्त्रालय, राजेन्द्रकुमार कार्कीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएका छन् । यस्तै पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा बन्दना झाँगर रहेकी छिन् ।
माओवादीले जिम्मेवारी सम्हालेका उक्त तीन मन्त्रालय र मुख्यमन्त्रीकै जिम्मेवारीमा रहेको उद्योग, कृषि तथा सहकारी मन्त्रालय काँग्रेसलाई दिने मुख्यमन्त्रीको तयारी छ । एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालयमा क्रमशः रामबहादुर मगर, एकराज कार्की, लिलाबल्लभ अधिकारी र पाँच कर्ण राईलाई मन्त्री भने राज्यमन्त्रीमा सिर्जना राई छिन् । उनीहरुलाई निरन्तरता दिने मुख्यमन्त्रीको तयारी रहेको बताइन्छ ।
काँग्रेसभित्र भने कसले सरकारको नेतृत्व गरेर जाने र को को सरकारमा जाने भन्नेबारे सहमति भएको छैन । काँग्रेसमा दर्जन बढी मन्त्रीका आकांक्षी रहेका छन् । ‘मन्त्रीमा दाबी धेरैले गर्नुभएको छ । महिला सांसदहरुले पनि दाबी गर्नुभएको छ,’ नेपाली काँग्रेसका प्रमुख सचेतक गोपाल तामाङले भने, ‘केन्द्रीय नेताले नै यो विषयमा टुंगो लगाउनु होला ।’
संविधानको धारा १६८ (५) लाई दोस्रो पटक प्रयोग गर्दै कोशी प्रदेशसभाबाट मुख्यमन्त्री कार्की तेस्रो पटक वैशाख २७ गते मुख्यमन्त्री बनेका हुन् ।