विराटनगर । निर्माण व्यवसायी संघ कोशी प्रदेश कार्यालय भित्र रहेको शौचालयको हजको फोहर पानी नालामा हाल्दा गाउँमा दुर्गन्ध फैलिएको छ ।शौचालयबाट निस्कियो फोहर पानी नालामा हाल्दा विराटनगर महानगरपालिका – ४ स्थित प्रगति टोल क्षेत्रमा दुर्गन्ध फैलिएको स्थानीयले बताएका छन् ।
संघले निर्माण गरेको शौचालयको फोहर पानी सिधै नालामा हालेको कारण अहिले गाउँमा बस्न नसक्ने गरी दुर्गन्ध फैलिएको विराटनगर ४ प्रगति टोलका स्थानीय रमेश अधिकारीले बताए । ‘अहिले पनि शौचालयको शौचसहितको फोहर पानी नालाबाट बग्ने गरेको छ । गाउँमा अहिले बसीनसक्नु भएको छ । दुर्गन्धले नाक थुनेर हिँड्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘हामीले पटक पटक भन्दा पनि कुनै सुनवाइ नभएपछि विराटनगर महानगरपालिकामा उजुरी दिएका छौँ ।’
यहाँका स्थानीयले विराटनगर महानगरपालिकामा हजको फोहर नालामा हाल्नेलाई कारबाहीको माग राख्दै बुधवार निवेदन दर्ता गराएका छन् । ‘विराटनगर ४ प्रगति टोल क्षेत्रको उत्तर पट्टिको बाटोमा निर्माण व्यवसायी संघ प्रदेश कार्यालयको शौचालयको नाला सिधै पश्चिम पट्टिको ड्रेनमा खसालेकोले महानगरपालिका वडा नम्बर ४ स्थित प्रगति टोल क्षेत्रमा दुर्गन्ध फैलिएको हुँदा उक्त शौचालयको नाला ढल बन्द गराई दुर्गन्ध फैलाउनेलाई आवश्यक कारबाही गर्नु हुनु अनुरोध गर्दछु,’ रमेश अधिकारीले दर्ता गराएको जाहेरीमा उल्लेख छ । ’
विराटनगर महानगरपालिका फोहर मैला शाखा प्रमुख पुनम दाहालले शौचालयको हजको पानी नालामा हालेको पाइए कारबाही गर्ने बताए । ‘अहिले उजुरी परेको छ । हामी अनुगमन गर्नेछौँ । अनुगमनको क्रममा शौचालयको फोहर पानीमा नालामा हालेको पाए कारबाही गर्नेछौँ,’ उनले भने ।
यता निर्माण व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष जनसेवक भण्डारीले कार्यालयमा आफू नभएको कारणले के भएको थाहा नभएको बताए । ‘कार्यालयको शौचालयको फोहोर पानी नालामा गएको रहेछ भने हामी सुधार गर्नेछौँ,’ उनले भने