निवर्तमान मुख्यमन्त्री केदार कार्कीद्वारा सचिवलाई कुट्ने धम्की, प्रशासनमा उजुरी

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गर्ने धम्की दिएका छन् ।

टेलिफोनबाट उक्त धम्की दिएको भन्दै भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा शान्ति सुरक्षाको माग गर्दै निवेदन समेत दिएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले आफ्नो कार्यालयमा निवेदन परेको पुष्टि गरे । ‘उहाँले आफूलाई फोनमार्फत चुट्छु भनेर भन्नु भएको भनेर निवेदन दिनुभएको छ,’ प्रजिअ भट्टराईले भने, ‘जो सुकैले कसैलाई पनि कु्ट्छु, चुट्छु भन्न पाउँदै । मैले यो निवेदनबारे नोटिस गरेको छु । एसपी साबसँग पनि कुरा भएको छ । उहाँलाई शान्ति सुरक्षा दिने कुरामा हामी प्रतिबद्ध छौं ।’

नेपाली काँग्रेसका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री कार्कीले आफू मुख्यमन्त्री भएको बेलाका खेलकुद प्रतियोगिताको बजेट निकासा नगरेको र अब पनि नगरे ठिक नहुने भन्ने हिसावले धम्की दिएको सचिव भट्टराईले बताए । पूर्वमुख्यमन्त्रीले नै कुटपिट गर्ने धम्की दिएपछि आफू असुरक्षित भएकाले सुरक्षाको माग राख्दै निवेदन दिएको भट्टराईले बताए ।

उनले भने, ‘पूर्वमुख्यमन्त्रीले फोन गरेर तँलाई चुट्दै शौचालयमा लगेर थुन्छु भन्नुभयो । मलाई असुरक्षा भयो मैले सुरक्षाको माग राख्दै निवेदन दिएको हुँ ।’ भट्टराईले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनको बोधार्थ कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मालाई पनि दिएको बताएका छन् ।

केदार कार्की मुख्यमन्त्री हुँदा विराटनगरमा भएको गोल्डकप र मारवाडी क्रिकेट लिगको लागि दिने भनिएको रकम अर्थले सहमति नदिएपछि रोकिएको थियो । आफू मुख्यमन्त्री हुँदै आर्थिक मामिला तथा योजना मन्त्रालयले सहमति नदिएर रोकिएको बजेटको विषयमा फोन गरेर कुटपिट गर्ने धम्की आएको सचिव भट्टराईले बताए । सो बेला कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालयसमेत सम्हालेका थिएँ । आफैं विभागीय मन्त्री भएको बेला कानूनको अभावमा अर्थले रकम निकासाको सहमति दिएन ।

सामाजिक विकास मन्त्रालयले यस वर्ष विराट गोल्ड कपसँगै झापा गोल्ड कप, मारवाडी क्रिकेट लिग र बुढासुब्बा गोल्डकपका लागि बजेट माग गरेको थियो । तर, पहिले नै भएको कार्यक्रममा भुक्तानी गर्न अर्थले सहमति नदिँदा भुक्तानी हुन सकेको थिएन । सोही विषयमा असहयोग गरेको भन्दै निवर्तमान मुख्यमन्त्री कार्कीले धम्की दिएको सचिव भट्टराईको भनाइ छ । खेलकुद प्रतियोगिताको लागि एक करोड रुपैयाँ निकासा दिन मुख्यमन्त्री कार्कीले दबाब दिएका थिए ।

आरोपी निर्वतमान मुख्यमन्त्री कार्कीले भने आफूले रकम भुक्तानीको लागि क्याबिनेटमा प्रस्ताव पेश गर्न निर्देशन दिँदा पनि नमानेको बताए । पहिले पनि धेरै फुर्ती लगाएर सचिव भट्टराई निर्णय गर्नबाट भाग्ने गरेको भन्दै उनले अहिले मुख्यमन्त्रीको कारण पैसा नदिएको भन्दै आफ्नो बद्नाम गरेपछि सचेत गराएको उनको दावी छ ।

जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनमा सचिव भट्टराईले ‘साउन ७ गते अपरान्ह ४ः५३ बजे मन्त्रालयमा काम काज गरिहेको बेला कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा वर्तमान प्रदेशसभा सदस्य माननीय केदार कार्कीज्यूले ९८४२०४२०३४ नम्बरको मोवाइल नम्बरबाट मलाई फोन गरी विराट गोल्डकपको विषयलाई लिएर तथानाम गाली गलौज (मातृका यादवले सचिवलाई कुटेर शौचालयमा थुनेको यादै होला, म पनि तँदाई मन्त्रालय आएर कुट्छु, शौचालयमा थुन्छु, लगायतका धम्की र गाली गलौज) गर्नुभयो । यो अवस्थामा म मन्त्रालयमा बसेर कामकाज गर्न नसक्ने अवस्था भउकोले मेरो जिउ ज्यानको सुरक्षासहित आवश्यक शान्ति सुरक्षाको व्यवस्था गरी कार्यालयमा बसेर काम गर्ने अवस्था मिलाइदिनु हुन अनुरोध छ । साथै मलाई फोनमार्फत गालीगर्लाज र कुटपिट गर्ने धम्की दिने निज केदार कार्कीलाई आज मिति २०८१–०४–०७ गते ४ः५३ बजेको ९८४२०४२०३४ र मेरा सम्पर्क नम्बरहरु ९८५११६९५६० र ९८५२०३९२०७ बिचको कल डिटेलका आधारमा प्रचलित कानून बमोजिम कारबाही गर्नुहुन समेत अनुरोध गर्दछु,’ भन्ने व्यहोरा उल्लेख गरेका छन् ।

मङ्गलबार, ०८ साउन, २०८१, दिउँसोको ०२:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर