एचआइभी संक्रमितले पाएनन् शल्यक्रिया सेवा

विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा एचआइभी संक्रमितहरुले शल्यक्रिया सेवा पाउनबाट बञ्चित भएको बताएका छन् । रोग लागेको वेलामा उपचार नपाउँदा आफूहरुको अधिकार हनन् हुनुका साथै उपचारकै लागि अनेकौं सास्ती खेप्नु परेको उनीहरुले बताए ।

सामान्य पिलो आउँदा गर्नुपर्ने माइनर शल्यक्रिया समेत कोशी अस्पतालका चिकित्सकहरुले नगरिदिँदा एचआइभी संक्रमित बिरामीहरुले निकै समस्या भोग्नु परिरहेको उनीहरुको गुनासो छ । जसले गर्दा विरामी भएका एचआइभी संक्रमित थप उपचारको लागि धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा जान बाध्य छन् ।

कोशी अस्पतालमा कतिसम्म विचित्र देखिएको छ भने स्त्री तथा प्रसूति विभागमा संक्रमित गर्भवति महिलाको शल्यक्रिया भने वर्षौदेखि हुँदै आएको छ । जसलाई मेडिकल भाषामा पिएमटिसिटी सर्जरी भन्ने गरिन्छ । तर, एचआइभी संक्रमितरु विरामीको अरु सामान्यदेखि जटिल प्रकारका शल्यक्रिया गर्नु पर्ने अवस्था देखिएमा कोशीका चिकित्सक डराउने गरेको नेशनल एसोसिएसन अफ पिपुल लिभिङ विइथ एचआईभी महासंघ ( एनएपि प्लस एन) कोशी प्रदेशका सुपरभाइजर रोमनकुमार राईले बताए । ‘कोशीको गाइनो विभागमा एचआइभी संक्रमित गर्भवती महिलाको शल्यक्रिया हुन्छ । तर, त्यसै अस्पतालको अन्य विभागमा कुनै पनि रोगको शल्यक्रिया नहुनु भनेको एचआइभी संक्रमित विरामीसँग चिकित्सक डराएका हुन्,’ उनले भने, ‘राज्यले एचआइभी संक्रमण रोकथाम र नियन्त्रण भन्दै अहिले अभियान चलाएको छ । सन् २०३० सम्म नेपालमा एचआइभी संक्रमण निर्मुल पार्ने घोषणा गरिएको छ । अनि एउटै अस्पतालमा यसरी संक्रमितलाई विभेदपूर्ण तरिकाले स्वास्थ्य उपचारबाट बन्चित गरेपछि कसरी सरकारको लक्ष्य पूरा हुन्छ ? ।’

उनले तत्काल कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा अन्य विरामीले जस्तै संक्रमितको पनि सबै प्रकारको शल्यक्रिया गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।‘संक्रमितको शल्यक्रिया गर्नको लागि राज्यले छुट्टै संरचना र उपकरणहरु राखेर भएपनि सेवा दिनुपर्छ नत्र राज्यले चलाएको अभियानको औचित्य कसरी पुष्टि हुन्छ जबसम्म राज्य मातहतकै अस्पतालले दिनसक्ने सेवा समेत दिँदैन । यो हामी सबैका लागि बिडम्बनापूर्ण अवस्था हो’ उनले भने, ‘चार हजारबढि एचआइभी संक्रित रहेको कोशी प्रदेशमा सहज रुपमा उपचार नपाउँदा संक्रमितलाई धेरै समस्या परेको छ ।’ कतिपय संक्रमितले समयमै उपचार नपाउँदा मृत्युवरण पनि गर्नुपर्ने अवस्था आएको उनले सुनाए ।
चार हजारबढि संक्रमित रहेको प्रदेशमा २ हजार ४०७ जनाले नियमित औषधी सेवन गर्दै आएका छन् । जसमध्ये ८७ जना एचआइभी संक्रिमत बालबालिका छन् । एचआइभी संक्रिमतको शल्यक्रिया सरकारी अस्पताबाट नहुँदा उपचारबाट बन्चित हुनुपरेको उनले बताए ।

यता कोशी अस्पतालका मेसु डा. रविराज सिंहले सुरक्षा कवच र प्रोटकल नभएको कारणले संक्रमितको शल्यक्रिया गर्न नसेको बताए । पछिल्लो समय चिकित्सकहरुसँग छलफल गरेर संक्रमितहरुको शल्यक्रिया सावधानी अपनाएर भएपनि गर्नेबारेमा तयारी गरिएको उनले बताए । सर्जन चिकित्सकसमेत रहेका मेसु सिंहले भने, ‘त्यसका लागि मैले चिकित्सकहरुसँग छलफल पनि चलाएको छु । केही दिनमा सकात्मक सन्देश आउनेछ ।’

मेसु सिंहले प्रोटोकलको कारण देखाएर संक्रमितको शल्यक्रिया नभएको भनिरहँदा गाइनो वार्डका एक जना चिकित्सकले भने, ‘यो बहानाबाजी मात्र हो । हामीले गाइनो वार्डमा वर्षौदेखि संक्रमित गर्भवति महिलाको शल्यक्रिया गरेर नवजात शिशुलाई जन्म दिइरहेका छौं । हामीले यसरी उपचार गर्न नसक्दा अन्य वार्डमा सर्जरी गर्न सकिँदैन भन्ने हुन्छ ? । त्यो भनेको डराएर वा काम गर्नको गाह्रोले गरिएको एउटा बहनाबाजी मात्रै हो ।’

मङ्गलबार, ०८ साउन, २०८१, बिहानको ०८:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर