विराटनगर । प्रदेश १ मा थप एक जनालाई कोरोना पोजेटिभ पुष्टि भएको छ ।
उदयपुरको भूल्केकी एक महिलालाई शनिबार साँझ कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश १ सरकारले जनाएको छ।
संक्रमण पुष्टि भएकी महिला ४३ वर्षको रहेको विराटनगर स्थित कोशी अस्पतालले जनाएको छ । कोशी अस्पतालकै प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो ।
शनिबार बिहान उदयपुरको भुल्केमा १८, ४५ र ६५ वर्षिय महिलामा संक्रमण देखिएको थियो । शनिबार संक्रमण पुष्टि भएकाहरु यसअघि संक्रमण देखिएका व्यक्तिको परिवारका सदस्य रहेको बताइएको छ । संक्रमितलाई विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको छ ।
योसँगै प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ भने उपचारपछि १४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ । संक्रमितमध्ये ३१ जना उपचारपछि निको भएका छन् ।