विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसअघि प्रदेशमा सहमतिको सरकार बन्नसक्ने आशय व्यक्त गर्दै आएको भएपनि शीर्ष नेताहरुले त्यसमा सहमति नदिएको बुझिएको छ । स्रोतका अनुसार नेपाली काँग्रेस र एमालेका शीर्ष नेताहरुले सहमतिको सरकार बनाउने सहमति नदिएपछि मुख्यमन्त्री कार्की सरकारमा काँग्रेसलाई भित्र्याएर माओवादी केन्द्रलाई हटाउने तयारीमा लागेका छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुई दिन अगाडि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । ओलीसँगको भेटपछि फर्किएका मुख्यमन्त्री कार्कीले केन्द्रकै समीकरणको आधारमा कोशी प्रदेश सरकार अगाडि बढ्ने बताएका छन् ।
‘सहमतीय रूप दिन सकिन्छ कि भन्ने कुरा पनि आएको छ । भागबण्डा मिलाउने सन्दर्भमा चाहिं माथिको समिकरण मात्रै प्रयोग गर्ने हो कि भन्ने पनि देखिएको छ,’ उनले भने, ‘काँग्रेसले अलि छिटो गरौं भनेकोले केही दिनभित्र हामी निष्कर्षमा पुग्नुपर्छ ।’
मुख्यमन्त्री कार्कीले यसअघि पनि सहमतिको कुरा सफल नभएको भन्दै काँग्रेस र माओवादीमध्ये एक पार्टी प्रतिपक्षमा बस्नैपर्ने अवस्था सिर्जना हुनसक्ने संकेत गरे । ‘यहाँ माओवादीसँग मिलेका छौं । माथि काँग्रेससँग मिलेको अवस्था छ’ उनले भने, ‘काँग्रेस चाँडै सरकारमा आउने तयारी गरिरहेको छ । केन्द्रको समीकरण नै कार्यान्वयन भएर जान्छ होला ।’
कोशी प्रदेशको हकमा विशिष्ट अवस्था रहेपछि काँग्रेसले सरकारमा छिटो आउन पहल गरिरहेको भन्दै मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रलाई अहिले नै बर्खास्त गर्ने वा हटाइहाल्ने भन्ने कुरा भने नभएको बताए । ‘मैले हेर्दा साउन महिनाभरीमा यो विषय टुंगिन्छ’ उनले भने, ‘काँग्रेससँगको गठबन्धन सुरु गर्नु अगाडि माओवादीसँग बसेर हामी टुंगो लगाउँछौं ।’
नेपाली काँग्रेस संसदीय दलका नेता उद्धब थापाले पनि आफ्नो पार्टीबाट जाने मन्त्रीहरूको नाममा सहमति हुन नसकेको कारण सरकार निर्माणमा ढिलाई भएको बताएका छन् । ‘कोशी प्रदेशको सरकारको विषय काँग्रेसकै साइडबाट टुंगिन बाँकी छ’ उनले भने, ‘त्यो टुंगिएपछि काँग्रेस र एमालेको संयुक्त सरकार बन्छ ।’ माओवादी सरकारमा भएको कुरामा अहिलेलाई आपत्ती नरहेको भन्दै उनले काँग्रेसले टुंगो लगाएर आएपछि माओवादी सरकारबाट बाहिरिने बताए ।
कोशी प्रदेशसभाको दोस्रो कार्यकालको सुरुवातदेखि नै आफूले सर्वदलीय सरकार बनाउँ भनेको स्मरण गर्दै थापाले केन्द्रको कारण त्यो असम्भव जस्तै बनेको बताए । सर्वदलीय सरकार विकास र समृद्धिको लागि भनेको भएपनि प्रदेश सरकारबारे निर्णय प्रदेशले नै गर्नसक्ने अवस्था नरहेको उनले बताए । ‘हामीले भनेर हुन्थ्यो भने यसअघि नै सहमतिको सरकार बनिसक्थ्यो नि’ उनले भने ‘शीर्ष नेताको सहमति नभए सर्वदलीय सरकार बन्ने अवस्था देखिँदैन ।’
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि मुख्यमन्त्रीलाई अप्ठ्यारो नपार्ने बताएका छन् । ‘मुख्यमन्त्रीले मलाई अप्ठ्यारो पर्यो छोडिदिनु भन्नुभएको दिन हामी सरकारबाट बाहिरिन्छौं,’ आङ्बोले भने, ‘अहिलेसम्म त्यस्तो कुरा भन्नुभएको छैन ।’
हाल माओवादी केन्द्रबाट गणेश उप्रेतीले भौतिक पूर्वाधार विकास मन्त्रालय, नारायण बुर्जा मगरले पर्यटन, वन तथा वातावरण मन्त्रालय र राजेन्द्रकुमार कार्कीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएका छन् । यस्तै पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा बन्दना झाँगर रहेकी छिन् । काँग्रेस सरकारमा आउँदा माओवादीले जिम्मेवारी सम्हालेका तीन मन्त्रालय र मुख्यमन्त्रीकै जिम्मेवारीमा रहेको उद्योग, कृषि तथा सहकारी मन्त्रालय काँग्रेसलाई दिने मुख्यमन्त्रीको तयारी रहेको स्रोतले जनाएको छ ।
संविधानको धारा १६८ (५) लाई दोस्रो पटक प्रयोग गर्दै कोशी प्रदेशसभाबाट मुख्यमन्त्री कार्की तेस्रो पटक वैशाख २७ गते मुख्यमन्त्री बनेका हुन् । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई २ वर्षसम्म कसैले हटाउन नसक्ने भन्दै हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर सर्वोच्चमा रिट निवेदन दिएका थिए । उक्त निवेदन सर्वोच्चले खारेज गरेपनि फैसलाको पूर्णपाठ अझै आइसकेको छैन ।