काठमाडौं । भारतले दार्चुलाको लिपुलेक हुँदै मानसरोवर जोड्ने बाटो बनाएको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीसहित ३६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले माइतीघरबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
माइतीघर बबरमहल क्षेत्रबाट १२, लैनचोर क्षेत्रबाट १६, डिल्लीबजारबाट ३ र कालीमाटीबाट ५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । त्यसमध्ये मोहन वैद्य नेतृत्वको पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी ५ जना र बाँकी सत्तारुढ नेकपा निकटका विद्यार्थी नेता तथा कार्यकर्ता रहेका छन् ।
नियन्त्रणमा लिएका उनीहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ । भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग शुक्रबारबाट सञ्चालनमा ल्याएको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
सडक शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए । त्यसको विरोधमा प्रदर्शनमा सहभागी अनेरास्ववियूका पूर्वकेन्द्रीय सचिव सुदेश पराजुलीलगायत विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
यसअघि गत कात्तिक १६ गते भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा पनि लिपुलेक, लिम्पियाधुरालगायत नेपालका भूमि आफ्नो भूभाग भन्दै समेटेपछि विरोध भएको थियो। सरकारले नेपाली भूमि फिर्ता ल्याउने बताएको भएपनि अहिलेसम्म आफ्नो नक्सासमेत सार्वजनिक गर्न सकेको छैन ।