चिनेजानेकाहरु भन्छन्, ‘मुकुल घमण्डी छन्, अरुको कुरा सुन्दैनन्’

विराटनगर । उमेरले भर्खरै तीन दशक पार गरेका डा.मुकुल ढकाल अहिले राष्ट्रिय राजनीतिको चर्चामा छन् । ढकाल केही दिन अगाडिसम्म २०७९ सालको आम निर्वाचनबाट एक्कासी उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री थिए । उनलाई रास्वपाकै मंगलबार बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री र प्रवक्ताबाट निष्काशन गर्दै साधरण सदस्यमात्रै रहने गरी कारबाही गरेको छ ।

मोरङको विराटनगर–३ दुधफारम पूर्वका स्थायी बासिन्दा ढकाल सानैदेखि केही गर्ने हुटहुटी भएका व्यक्ति थिए । नजिकबाट चिन्ने सुन्नेहरु केही गर्ने हुटहुटी देखिएपनि ढकाल घमण्डी र अरुको कुरा नसुन्ने स्वाभावका छन् ।उनका बुबा–आमा र दाइ अमेरिका बस्छन् । आमा बुबा दुवै सरकारी जागिरे थिए । मध्यम परिवारका उनी लगायत परिवारका सदस्यहरुलाई सामान्य खर्चबर्चको लागि चिन्ता थिएन । उनले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस गरेका छन् । काठमाडौंबाटै एसएलसीमा डिस्टिङ्सन नम्बर ल्याएर उत्तीर्ण गरेका उनले प्लस टु भने वाइट हाउस स्कुलबाट गरेका हुन् ।

केएमसीमा एमबिबिएस अध्ययनकै क्रममा ३६ घण्टासम्म काम लगाएको भन्दै उनले आन्दोलन गरेका थिए । त्यहीँबाट उनमा विद्रोही चेत पलाएको थियो । २०७२ सालको भुकम्पपछि उनकै नेतृत्वमा नुवाकोटमा सुमना श्रेष्ठसहितको टोलीले भत्किएको स्कुल बनाएको थियो । यस्तै उनले रवि लामिछानेको टिममा रहेर कालिकोटको रास्कोट अस्पताल निर्माण गर्ने काम पनि गरेका थिए ।

२०५० सालमा उनलाई एमबिबिएस गरिसकेपछि भने घाँटीको क्यान्सर (थाइरक्सिन) भएको थियो । मेडिसिटी अस्पतालमा अपरेशन मार्फत क्यान्सरको सफल उपचार गरेर उनी राजनीतिक पार्टी निर्माण गर्ने अभियानमा लागेका थिए । ढकालको मुहारमा जहिल्यै चस्मा देखिन्छ । किनकि चस्मा बिना उनी आँखा देख्न सक्दैनन् ।

केही गर्ने हुटहुटी भएपछि नै उनले केही साथीहरुलाई साथमा लिएर नेपाल उदय भन्ने संस्था खोलेका थिए । उक्त संस्थाले ‘टेली एजुकेशन’ संचालन गर्ने मुख्य उद्देश्य राखेको थियो । यो कोरोना कालमा अगाडि सारिएको योजना थियो । तर, आर्थिक अभाव र दाताको असहयोगका कारण उनीहरुको यो कार्यक्रम सफल भएन । पछि उक्त संस्था नै बन्द भयो । कुनै बेला साझा विवेकशील पार्टीका सदस्यसमेत रहेका उनी छुट्टै पार्टी निर्माणमा जुटेका थिए । त्यसका लागि उनले उपयुक्त पात्रको रुपमा रवि लामिछाने भेटेका हुन् । लामिछानेसँग उनी रास्कोट अस्पताल निर्माणदेखि नै नजिकिएका थिए । त्यहाँ केही समय व्यवस्थापकीय काम पनि उनले गरेका थिए । एमबिबिएसका साथै उनले मेडिकल म्यानेजमेन्टमा एमए उत्तीर्ण गरेका छन् ।

रास्वपा स्थापना हुनुभन्दा अगाडिका सबै व्यवस्थापकीय काम उनै ढकालले गरेका थिए । विधान बनाउने, पार्टीको नाम राख्ने, चुनाव चिन्ह छान्ने, घोषणापत्र लेख्ने लगायतमा पनि उनको भूमिका महत्वपूर्ण थियो । गत वैशाख १५ गते सम्पन्न इलामको उपनिर्वाचनमा पराजय व्यहोरेपछि रास्वपाको देशभरको अवस्था बुझ्न भन्दै उनी गत जेठ ६ देखि असार ५ गतेसम्म समीक्षा यात्रामा निस्किएका थिए । उक्त यात्राका क्रममा निराशाजनक प्रतिक्रिया पाएपछि असार ५ गते नै सार्वजनिक मिडियामा अब रास्वपा नसुध्रिए बिलाउने आशयका प्रतिक्रिया दिएका थिए । उनले सार्वजनिक गरेको विचार र अभिव्यक्तिकै आधारमा निर्माण गरिएको उनको प्रतिवेदन रास्वपाको असार १९ गते बसेको केन्द्रीय समितिको बैठकमा पेश भएको थियो । प्रतिवेदनमा पार्टी सभापति रवि लामिछानेप्रति असहमति राखिएको छ । रास्वपाले उनलाई पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरी अनुशासन उल्लङ्घन गरेको लगायतका आरोप लगाएको छ ।
ढकालले भने रवि लामिछाने क्लबबाट आफू निष्कासित भएपनि राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न नरोकिने बताएका छन् । ‘रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि..,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

बुधबार, २७ असार, २०८१, साँझको ०७:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर