काठमाडौंं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको दावी गर्नुभएको छ ।
शुक्रबार संघीय संसदको बजेट अधिवेशनको पहिलो बैठकलाई बैठकलाई सम्बोधन गर्दै देउवाले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार, सांसद अपहरण, अध्यादेश लगायतका प्रकरणले केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक र नैतिक आधार गुमाएको जिकिर गर्नुभयो ।
अहिलेको अभिभारा कोरोनाविरुद्ध कसरी राष्ट्रिय एकता गरेर अगाडि बढ्ने भन्ने रहेको भएपनि सरकार त्यसमा असफल भएको देउवाको भनाइ छ। वर्तमान परिस्थितिको संयम भएर सामना गर्न संसदलाई अपील गर्दै उहाँले गाउँ जाने नागरिकलाई सहज व्यवस्था नगरेकोमा पनि सरकारको आलोचना गर्नुभयो ।
खान पनि नदिने र गाउँ जान पनि रोक्ने सरकारको व्यवहारले नागरिक आहात भएको देउवाको भनाइ छ । सकुम्बासीलाई जाउलो आवश्यक भएको बेला आयोग गठन गरेको भन्दै उहाँले आपत्ती जनाउनुभयो ।
स्वास्थ्य सामग्रीको अझै अभाव रहेको र खरिद प्रक्रियामा भ्रष्टाचार भएकोमा देउवाले दुःख व्यक्त गर्दै भ्रष्टाचारमा संलग्नलाई पदमुक्त गर्न माग गर्नुभयो । उहाँले सांसद हरणमा संलग्नलाई कारबाही गर्न पनि माग गर्नुभयो ।
अध्यादेश जारी गरेर सरकारले अलोकतन्त्रिक र गैरजिम्मेवार व्यवहार देखाएको भन्दै उहाँले प्रधानमन्त्रीले सुनियोजित रूपमा अध्यादेश ल्याएको बताउनुभयो । सरकारले गरेका भ्रष्टाचारजन्य गतिविध र अलोकतान्त्रिक प्रवृतिलाई प्रतिपक्षलाई सैह्य नहुने देउवाको भनाइ थियो ।