विराटनगर । कोशी प्रदेशमा हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रियाविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको टिमाथिको सुनुवाइ सकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा मंगलबार रिटमाथि दुबैतर्फका कानुन व्यवसायीको बहस सकिएको हो ।
रिट निवेदन कार्कीको तर्फबाट जेठ ३१ गते बहस भएको थियो भने आइतबार र सोमबार विपक्षी कानुन व्यवसायीले बहस गरे । मंगलबार पुनः केदार कार्कीको तर्फबाट जवाफी बहस भएपछि न्यायाधीशहरु फैसला लेखनमा जुटेको स्रोतले जनाएको छ । सम्भवतः आजै यो मुद्दामा फैसला आउने छ ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका केदार कार्कीले आफूलाई सांसदले दिएको समर्थन फिर्ता हुन नसक्ने र २ वर्षसम्म कसैले हटाउन नसक्ने भन्दै सर्वोच्च्मा रिट दायर गरेका छन् । त्यसअघि प्रदेश प्रमुख परर्शुराम खापुङले कार्कीलाई दिएको समर्थन र विश्वासको मत प्रदेशसभाका बहुमत सांसदले फिर्ता लिएको ३० दिनभित्र उनले विश्वासको मत नलिएको भन्दै वैशाख २६ गते नयाँ सरकार गठनको आह्वान गरेका थिए ।
जेठ २७ गते नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेशसभाका ५२ सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भए । सोहि दिन केदार कार्कीले सर्वोच्चमा रिट दर्ता गरेका थिए । नयाँ बनेको सरकारले प्रदेशसभाका ५७ सांसदको विश्वासको मत पाएको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ जनाको समर्थन चाहिन्छ ।
सर्वोच्चले रिट जारी हुने फैसला सुनाएमा मुख्यमन्त्रीको रूपमा केदार कार्की फर्कनेछन् भने रिट खारेज हुने फैसला भएमा वर्तमान मुख्यमन्त्री कार्कीले निरन्तरता पाउने छन् ।