विराटनगर । स्थानीय तहमा दलका कार्यकर्ता खुसी बनाउनकै लागि तालिम शीर्षकमा लाखौँ बजेट छुट्याउने गरिएको छ । कर्मचारीका साथीभाइ खुसी बनाउन पनि तालिमका नाममा बजेट राखिन्छ । एउटा कम्पनी दर्ता गरेर बजेट माग्न जानेको स्थानीय तहमा भीड नै लाग्ने गरेको छ । यसरी विनियोजन गरिएको बजेटमा तालिम लिने अनुहार पनि उनै हुन्छन् । सिलाइ–कटाइ, च्याउ खेती, तरकारी खेती, करेसाबारी खेती र उद्घोषणलगायत शीर्षकमा तालिम दिने गरिन्छ । तालिम लिएका अधिकांशको प्रमाणपत्र उपभोग भएको पाइँदैन ।
तर, मोरङको केराबारी गाउँपालिकाका केही महिला भने अपवाद बनेका छन् । पालिकाले दिएको तालिमपछि उनीहरू उद्यममा जोडिएका छन् । १२ जना महिला मिलेर सरफ (कपडा धुने पाउडर) बनाउन थालेका छन् । उनीहरू जनही १०–१० हजार रुपैयाँ संकलन गरेर सरफ उत्पादन गर्न थालेका हुन् । सरफ उत्पादनमा लागेका १२ जना नै गृहिणी हुन् । सीता गुरागाईं, अनुजा श्रेष्ठ, दुर्गा विक, सुमित्रा मगर, आरती रम्तेल, सावित्रा श्रेष्ठ, निशा श्रेष्ठ, ओमकुमारी विक, सरस्वती बराल, सीता रोक्का, सावित्रा श्रेष्ठलगायत छन् ।
यसअघि गाईबस्तु पाल्ने र सामान्य खेतीकिसानी गर्दै आएका उनीहरू उद्यम तिर लागेका हुन् । १२ जना महिला संयुक्तरूपमा काम गर्छन् । सीता गुरागाईंको घरमा भेला भएका उनीहरू सरफ बनाउने गर्छन् । ‘हामीलाई गाईबस्तु पालेर मात्रै केही हुँदैन भन्ने लाग्यो । यसपछि छरछिमेकी मिलेर दैनिक उपभोग्य सामग्री सरफ र साबुन बनाउने तालिमका लागि अनुरोध ग¥यौं,’ सीताले भनिन्, ‘गाउँपालिकाले तालिम दिएपछि सरफ बनाउन थालेका छौँ ।’
घरको काम भ्याएर फुर्सद मिल्नासाथ उनीहरू एकैठाउँमा भेला भएर आफ्नो उद्यममा लाग्छन् । उनीहरूले उत्पादन गरेको सरफ भने स्थानीय बजारमा नै खपत हुने गरेको छ । आफैं बजारमा गएर बेच्ने गरेका छन् । यसरी बजार लगेर बेच्न थालेको महिना दिनजति भयो ।
‘अहिले शुरूवाती चरण भएकाले सबै कुरामा हाम्रो ध्यान पनि पुगेको छैन । फुर्सदको समय मात्रै उद्यमका लागि दिएका छौँ,’ सीताले भनिन्, ‘अहिलेसम्मको परिणामबाट खुसी छौँ । चुलोचौकोबाट निस्केर केही गर्न सकिन्छजस्तो लाग्न थालेको छ । अब बजारलाई पनि व्यवस्थित पार्दै लान्छौं ।’
ती महिलाहरू मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म भेला भएर संयुक्तरूपमा काम गर्छन् । उनीहरूले प्याकिङ गर्नेलगायत केही मेशिनरी औजार पनि जोहो गरेका छन् । उनीहरूले दैनिक ९० किलोग्रामसम्म सरफ उत्पादन गर्ने गर्छन् । आफन्त तथा केराबारीका व्यापारी उनीहरूका उपभोक्ता हुन् । उनीहरूलाई मागेअनुसार उपलब्ध गराउने गरेको सीता बताउँछिन् ।
सरफसँगै अब साबुन पनि उत्पादन गर्ने उनी बताउँछिन् । थोरै लगानीमा उत्पादन गर्न सकिने उनको भनाइ छ । उनीहरू सबैले कसले के काम गर्ने भनेर पनि बाँडफाँट गरेका छैनन् । शुरूवाती चरण भएकाले सबै मिलेर अगाडि बढौं भनेर कामको बाँडफाट नगरिएको उनीहरू बताउँछन् । अब बजारको खोजीमा निस्कने उनीहरूको भनाइ छ । पहिलो चरणमा उत्तरी मोरङकै केराबारी, विराटचौक, बेलबारी, पथरी–शनिश्चरे, उर्लाबारीलगायत बजारमा पु¥याइने उनीहरूले बताए ।
स्थानीय तहहरूले तालिम दिए पनि प्रभावकारी भने कम हुने गरेको छ । यतिसम्म कि तालिम लिएकाहरूले त्यसको उपयोग नगर्ने बरु प्रमाणपत्र सिराने लगाएर सुत्ने गरेको आरोप लाग्ने गरेको छ ।
पहिलोपटक तालिममा सहभागी भएका उनीहरू भने तालिम सिरानीमा राखेर नसुत्ने बताउँछन् । ‘राज्यले गरेको लगानी उपभोग गरेर सीप विकास गर्ने हामीले योजना बुनेका थियौँ । यसमा केही हदसम्म सफल भइरहेका छौँ,’ सीताले भनिन् ।