शैलजा आचार्य मुटु अस्पतालको ढुकढुकी मात्रै

पाँच महिनादेखि चिकित्सकले पाएनन् प्रोत्साहन भत्ता ।

विराटनगर । ठूलै तामझामसहित ८ माघमा शैलजा आचार्य हृदय रोग केन्द्र उद्घाटन गरिएको कार्यक्रममा तत्कालिन मुख्यमन्त्री केदार कार्कीले ‘प्रदेशका नागरिकको लागि सरकारले मुटु उपहार दिएको’ बताएका थिए । ‘अब मुटुरोगको उपचारको लागि अन्यत्र जानु नपर्ने र नागरिकले आफ्नो घरखेत बेच्नुपर्ने बाध्यता अन्त्य भएको छ’, उनले भनेका थिए, ‘घर अगाडि मन्दिर बनाउने बजेट काटेर अस्पताल निर्माण गरिएको हो ।’

विराटनगर–१४ मा प्रदेश सरकारले सञ्चालन गर्दै आएको सङ्क्रामक रोग उपचार केन्द्रको बोर्ड परिवर्तन गरेर हृदयरोग केन्द्र बनाइएको थियो । तत्कालिन मुख्यमन्त्री कार्कीले नागरिकलाई ‘मुटु उपहार’ दिएको भनेपनि हृदय रोग केन्द्र अहिले आफैंमा जनशक्ति, उपकरण र योजनाको अभावले आफैं अन्तिम छट्पटीमा छ ।

कोशी प्रदेश सरकारको बेवास्था गरेको कारण पाँच महिनाअगाडि तामझामको साथ विराटनगरमा संचालनमा आएको शैलजा आचार्य हृदय रोग केन्द्र नाजुक बन्दै गएको छ  । जनशक्तिको चरम अभावको कारण हृदय रोग केन्द्र रेफर सेन्टर बन्दै गएको छ । एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बक्तव्यमा समेत हृदय रोग केन्द्र्रको स्तरउन्नतिमा परेको छैन । अब यो उपचार केन्द्र केही समयपछि बन्द हुनसक्ने यहाँका चिकित्सकहरु नै बताउँछन् । एक जना मुटुरोग विशेषज्ञको भरमा चलेको केन्द्रमा अहिले ओपिडि सेवा मात्रै सञ्चालनमा छ ।

केन्द्रमा यसअघि कोशी अस्पतालमा रहेका मुटुरोग विषेशज्ञ डा।सर्वेश झालाई लगिएको छ । केन्द्रमा उनी मुटु रोग विशेषज्ञ एक्ला चिकित्सक हुन् । उनलाई साथ दिने अन्य विशेषज्ञ चिकित्सकहरु र पर्याप्त मात्रमा जनशक्ति नहुँदा मुटुरोगीको उपचार गर्न अन्य निजी अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता छ ।

केन्द्रमा दैनिक ३० देखि ४० जनासम्म विरामी मुटुरोगको उपचार गराउन पुग्ने गरेका छन । दैनिक आउने विरामीमध्ये ५ देखि ८ जनासम्म भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका रहने गरेको केन्द्रले जनाएको छ । तर, केन्द्रमा ओपिडिबाहेक अन्य सेवा नरहेकोले
विराटनगरकै निजी अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता छ ।

जनशक्ति अभावले खुलेन आकस्मिक सेवा
८ माघमा हृदय रोग केन्द्रको उद्घाटन गर्दा आकस्मिकसहित सेवा चाँडै सुरु गर्ने बताएका थिए । केन्द्र उद्घाटन भएको पाँच महिना बितिसक्दा पनि अहिले प्रारम्भिक चरणको स्वास्थ्य जाँचको लागि ओपिडि मात्रै हुने गरेको छ ।

आकस्मिक कक्ष सञ्चालनको लागि मुट रोग विशेषज्ञसहित कम्तिमा चार जना चिकित्सक चाहिने हृदय रोग उपचार केन्द्रका प्रमुख मुटुरोग विशेषज्ञ डा। सर्वेश झाले बताए । ‘एक जना फिजिसिय विशेषज्ञसहित एमडिजिपि, एचए र नर्सहरू चाहिन्छ । अहिलेसम्म आकस्मिक कक्षको लागि दरबन्दी खुलाएको छैन,’ डा। झाले भने, ‘जनशक्ति बेगार कहाँबाट आकस्मिक कक्ष संचालन हुन्छ रु ।’

अझै आएन टिएमटी
हृदय रोग केन्द्र स्थापना गर्दा नै अस्पतालमा टिएमटी सेवाको बोर्ड झुण्ड्याएको थियो । पाँच महिना बितिसक्दा पनि टिएमटी उपकरण नभएकोले सेवा सुरु भएकै छैन । टिएमटी जाँच गरेपछि विरामीको एन्जीयोग्राफी गर्ने कि नगर्ने एकिन हुने चिकित्सक बताउँछन् । तर, उपकरण नहुँदा ओपिडीकै सेवा प्रभावकारी नभएको केन्द्रका स्वास्थ्यकर्मीले बताएका छन् ।

केन्द्र उद्घाटन भएपछि दुई हप्तासम्म मुटुरोग विशेषज्ञ दुई जनाले सेवा दिएका थिए । अहिले डा।झा मात्र रहेका छन् । एक जना मात्र विशेषज्ञ चिकित्सक हुँदा सेवा प्रवाहमै समस्या रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

यसअघि डा. झासँगै वीर अस्पतालबाट आएका डा।समिर पौडेलले विरामीलाई सेवा प्रदान गर्दै आएका थिए । डा.पौडेल एक हप्ता बसेर काठमाडौं फर्किसकेका छन् । अर्को डाक्टरको व्यवस्था नगर्दासम्म वीर अस्पतालबाट अल्टरनेट डाक्टर आउने प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तर, पौडेल फर्किएपछि कोही पनि डाक्टर आएका छैनन् । एक जना चिकित्कसले ओपिडीमा विरामी जाँच गरेपछि अर्को चिकित्सकले इको गर्नुपर्नेमा अर्को चिकित्सक नै केन्द्रमा छैनन् । केन्द्रमा आएका दैनिक ४० देखि ५० जना विरामीमध्ये १० देखि २० जनासम्मको इको गर्नुपर्ने अवस्था छ । एउटा इको गर्न २० देखि ३० मिनेटसम्म लाग्ने गर्छ । तर, एक मात्र चिकित्सक हुँदा समस्या रहेको केन्द्रमा कार्यरत चिकित्सक बताउँछन् ।

चिकित्सक झाले पाएनन् प्रोत्सान भत्ता
मुटरोग विशेषज्ञ डा. सर्वेष झालाई सेवा सुविधासहित प्रोत्साहन भत्ता दिने सम्झौता गरेर हृदय रोग उपचार केन्द्रमा ल्याएको हो । सुरुमा मौखिम सहमति हुँदा झालाई तलबबाहेक तीन सय प्रतिशत प्रोत्साहन भत्ता दिने भनिएको थियो । पछि मन्त्रालयमा सचिवस्तरिय निर्णय हुँदा तलब बाहेक १५० प्रतिशत प्रोत्सान भत्ता दिने सहमति भयो ।

हस्पिटल संचालनमा आएपछि पाँच महिनाको उनले प्रोत्साहन भत्ता पाएका छैनन् । मासिक ७२ हजारले पाँच महिनाको प्रोत्साहन भत्ता तीन लाख ६० हजार रुपैयाँ पाउनुपर्ने देखिन्छ । हालसम्म प्रोत्साहन भत्ता नपाएको उनको गुनासो छ ।

शुल्क निर्धारण भएन
हृदय रोग उपचार केन्द्रले प्रवाह गर्ने सेवाको शुल्क निर्धारण भएको कारणले सेवाग्राहीले सेवा पाउनबाट वञ्चित भएका छन् । शुल्क निर्धारण भए अस्पतालको आन्तरिक आम्दानी पनि हुने थियो ।

शुल्क निर्धारण नभएको कारणले भारतीय विरामीले सेवा पाउन सकेका छैनन् । ‘आँखा अस्पतालले रेफर गरेर भारतीय नागरिकहरु यहाँ आउने गर्दछन् । यहाँ नेपाली नागरिकहरुको नागरिकताको अभिलेख राखेर मात्रै निःशुल्क उपचार हुने गर्दछ । भारतीय नगरिकको हकमा केही भनिएको छैन । शुल्क निर्धारण गरिएको भए सहुलियत उपचार हुने थियो,’ चिकित्सक झाले भने ।

कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयकी सचिव डा.राधिका थपलियाले जनशक्ति व्यवस्थापनको प्रक्रिया अगाडि बढेको बताएकी छन् । ‘अहिले प्रदेश मातहतका सबै अस्पतालहरूको ओएनएम सर्वे हुने तयारीमा रहेको छ । त्यही भएर जनशक्तिको समय लागेको हो । ओएनएम सर्भे सकिएपछि यो समस्याको समाधान हुनेछ,’ उनले भनिन् । उनले विस्तारै अस्पतालको विकास हुने बताइन् ।

शुक्रबार, ०८ असार, २०८१, बिहानको ०७:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर