विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको उपाधि विराटनगरको मोर्डन एरा स्कुलले जितेको छ । विराटनगरको सहिद मैदानमा बिहीबार सम्पन्न फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) लाई १–० गोलले हराउँदै मोर्डन एराले उपाधि जितेको हो ।
जितसंगै मोर्डन एराले नगद २५ हजार रुपैयाँ जितेको छ । उपबिजेता डिपिएसले नगद ११ हजार रुपैयाँमा चित्त बुझायो । जितको लागि मोर्डन एराका अमन माझीले खेलको ५५ औं मिनेटमा निर्णायक गोल गरे । प्रतियोगिताको तेस्रो विराटनगर १३ स्थित गोदावरि स्कुल भयो ।
मोर्डन एराका रोसित राइ खेलको प्लेर अफ द म्याच घोषित भए । बेस्ट मिट फिल्डर डिपिएसका जेनिल विष्ट, बेस्ट गोलकिपर मोर्डन एराका रोनक राजधामि, बेस्ट कोच मोर्डन एराका सन्दिप भट्टराई, बेस्ट फिल्डर मोर्डन एराका अमन माझी, बेस्ट प्लेयर अफ द टुर्नामेन्ट डिपिएस स्कुलका आयुष सहनी घोषित भए । त्यसैगरी ईमर्जिङ प्लेयरमा सिद्धार्थ स्कुलका प्रवेश राई र हाइस्कोर डिपिएस स्कुलका इमोन खवास भए ।
बिजता हुने खेलाडीलाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेश कुमार दास, सल्लाहकार सावित्रा कुमारी पराजुली, प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवाल, कोषाध्यक्ष विष्णु डंगोल विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, खेल संयोजक नन्दलाल मण्डल, नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य रोहित कोइराला, कोबास कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठ लगायतले पुरस्कार बितरण गरेका थिए ।
प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगितामा विराटनगरका २२ वटा विद्यालयले भाग लिएका थिए । विद्यालय स्तरबाट फुटबल खेलको विकास गर्नुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए ।
ग्यालेक्सी स्कुल कारवाहीमा
तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको फाइनलमा पुगेको विराटनगरको ग्यालेक्सी स्कुल कारवाहीमा परेको छ । दुई जना गैर खेलाडी विद्यार्थी विद्यालयले खेलाएको पाइएपछि आयोजक प्याब्सन विराटनगरले ग्यालेक्सीलाई कारवाही गर्दै प्रतियोगिताबाट हटाएको हो ।
२ असारमा सहिद मैदानमा भएकोे पहिलो सेमिफाइनल खेलमा मोर्डन एरा स्कुललाई टाइब्रेकरमा ३– २ गोलले हराउँदै ग्यालेक्सी फाइनलमा पुगेको थियो । मोर्डन एरा सँग भएको सेमिफाइनमा दुई जना विद्यार्थी ग्यालेक्सीमा नभएको विद्यार्थी खेलाएपछि प्याब्सन विराटनगरमा उजुरी परेको थियो । उजुरी परेपछि छानविन गर्दा ग्यालेक्सीका दुई जना खेलाडी विद्यालयमा अध्ययरत नभएको पाइएपछि कारवाही गरिएको खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए । ग्यालेक्सी कारवाहीमा परेपछि मोर्डन एरा फाइनमा पुगेको थियो । बिहीबार भएको फाइनलमा खेलमा डिपिएसलाई १–० गोलले हराउँदै उपाधि जितेको छ ।