विराटनगर–१६ को मिल्स एरियाको हड्ताली हाटमा मजदुरहरुको बाक्लो बस्ती छ । विराटनगर जुटमिलको गेटमै टाँसिएको सडकको पूर्वपट्टि रहेको हड्ताली हाटमा बुधबार र शनिबार बजार लाग्छ । तर, त्यो बजार पहिले बरगाछीको फेदमा रहेको चौतारालाई केन्द्र बनाएर लाग्थ्यो । अहिले त्यहाँबाट दक्षिणपट्टिको सडकमा सरेको छ । सो ठाउँमा पुग्दा केही मदिराका पारखीहरू टमाटरको अचार बनाउन व्यस्त थिए । केही स्टिलका गिलासमा चुस्की लगाइरहेका थिए । महिलाहरु भने सानातिना टहरोमा चलाएका मदिराका पसल, चुरोट र गुटखाका पसलहरुमा व्यस्त थिए ।
त्यही ठाउँमा ४० वर्ष अगाडिदेखि बस्दै आएकी ६३ वर्षीय कविता मगर पहिलेको त्यो ठाउँको रौनक सम्झिन्छिन् । सरसफाइ उस्तै थियो, मानिसको आवतजावत र घुइँचो उस्तै थियो । बजार पसलमा मानिसको भीडभाड रहिनै रहन्थ्यो । ‘यहाँ त मेला नै लाग्थ्यो । जुटमिलमा काम गर्नेहरुले आ–आफ्नो घरबाट काम गर्न जान्थे । काम छुटेपछि फेरि सबै गुरुरु आउने आ–आफ्नो घर जाने गर्थे । त्यसबेला यो ठाउँमा घरको ढोका डोरीले बाँधेर हिंड्दा पनि चोरी हुँदैन थियो । अहिले त घरै फोर्ने अवस्था छ,’ मगर भन्छिन् । मिल चल्दा चौतारा आसपाको रौनक नै छुट्टै हुन्थ्यो । कस्तो राम्रो ठाउँ थियो । झिलिमिली थियो । अहिले फोहोर र गजगजी हिलो, दुर्गन्ध उस्तै छ । मजदुरहरु सबैको कमजोर आर्थिक अवस्था छ । त्यस ठाउँमा रहेको पुराना संरचनाको नाममा त्यही एउटा बरको रुख छ, साना तिना टहरा छन् । नजिकै मस्जिद छ । मन्दिर पनि छ । तर, त्यस ठाउँका हराभरापन हराएको छ ।
त्यसबेला जुटमिल्समा काम गर्ने मजदुरहरुलाई क्वाटर (आवास) बनाएर दिइएको थियो । अहिले पनि जुटमिलको जग्गामा सयौं घरहरु छन् । त्यही हाट आसपासमा ६०–७० घर परिवार छन् । पुराना मजदुरहरु भने धेरैले ज्यान गुमाइसके । कतिपयले ठाउँ छोडेर हिंडे । ‘गिरिजाबाबुले जुटमिलमै काम गर्दा उहाँसहितले हड्ताल गरेपछि यहाँको नाम नै हड्ताली हाट भयो,’ कविताले २००३ सालमा सुरु भएको आन्दोलनबारे आफूले सुनेको बताइन्, ‘पहिले पहिले त यहाँ हड्ताली हाटमा मान्छे आउनै डराउँथे । हटिया लगाउन आउँदा पनि मानिस डराउँथे । हड्ताल हुन्छ भनेर । दिउँसो हाट बजारमा सामान फिजाउँथे । तर, हड्ताल हुने डरले उनीहरु समसाँझै सामान पोका पारेर हिंड्थे ।’
त्यतिखेर काँग्रेसकै नेताहरुले हड्ताल सुरु गरेका थिए । जहाँ कम्युनिष्ट नेता मनमोहन अधिकारी पनि सहभागी थिए । उनै मनमोहनले आफू प्रधानमन्त्री भएपछि मदन भण्डारीको स्मृतिमा त्यही बरको रुखलाई बीचमा पारेर पक्की चौतारा बनाइदिए । पहिले काठको चौतारा थियो । नयाँ बनाको चौतारा पनि अहिले कुरुप बनेको छ । भत्किन थालेको छ । ‘गाछी गिरिजाबाबुको भयो, चौतारा मनमोहनले बनाउनु भयो । अब कसको नाम राख्ने भनेर चौताराको नामै भएन,’ हाँस्दै सोही ठाउँकी ६० वर्षीय मन्जु गुरुङले भनिन् ।
जुटमिल्सबाटै सुरु भएको आन्दोलनले देशमा प्रजातन्त्रको बिजारोपण भयो । तर, अहिले जुटमिल बन्द भएपछि यहाँका आधा भन्दा धेरै मजदुर भारत गएर काम गर्न बाध्य छन् । पहिले मजदुरको सेवा सुविधा वृद्धि र सामाजिक सुरक्षाका साथै प्रजातन्त्र ल्याउने भाषण हुन्थ्यो । तर, अजकालका प्रत्येकजसो चुनावमा नेताहरुले त्यही चौतारामा उभिएर भाषण ठोक्छन् । भाषणमा जुटमिल चलाउछु भन्न कसैले छोड्दैनन् । जुटमिल भने चल्ने कुनै गुन्जायस देखिँदैन । त्यहाँ काम गर्ने मजदुरको आर्थिक श्रीवृद्धि भएन । बरु, नेताहरुको भाषणमा तालि बजाउने मजदुरहरुको निम्न आर्थिक अवस्था र दयनीय जीवनस्तरसँगसँगै जीवनलिला समाप्त भयो । उनीहरुका सन्तानलाई पनि अझै त्यही दुःखले छोडेको छैन । जुटमिल्स बन्द हुँदा उनीहरुले रोजगारी गुमाएका छन् । बरु त्यहाँबाट विस्थापित भएका छन् ।
विराटनगर निवासी फुलकुमार लालबानी (६३) भीमराज नौलखाका नाती हुन् । भीमराज नौलखा विपी कोइराला, गिरिजाप्रसाद कोइरालाका साथी हुन् । भीमराज नौलखाले आफ्नो आत्मवृत्तान्त ‘कालापानीमाथिको बिजय’ मा विराटनगर जुटमिल्सको आन्दोलनबारे उल्लेख गरेका छन् । ‘मजदुर आन्दोलन सुरु गर्दा सबैभन्दा ठूलो भूमिका बीपीको निर्देशनमा गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, बिकु बाबु, भीमराज नौलखाको योगदान धेरै ठूलो छ । मजदुर आन्दोलनको बेला नोना कोइरालाहरु स्वयम् छाती खोलेर भिडेका थिए । त्यो आन्दोलन नै राणाहरु फाल्ने जग बन्यो,’ फूलकुमार लालवानी भन्छन्, ‘हड्ताली हाट भनेको त्यहाँबाट हट्तालको अभ्यास भयो । आन्दोलनको बिउ त्यहाँबाटै रोपिएको हो । जुटमिलको पूर्वपट्टि एउटा चौतारो छ । बेलाबेलामा त्यहाँ अहिले पनि आमसभा हुने गरेको छ । ७ सालको क्रान्तिको जग बसेको ठाउँ पनि त्यही चौतारो हो ।’
त्यो आन्दोलन सल्किँदै जाँदा राणाको शासन ढल्यो । देशमा प्रजातन्त्रको जग बस्यो । त्यसबेला भीमराज नौलखाहरु पनि गिरिजाप्रसाद कोइराला, मनमोहनसँगै आन्दोलनमा थिए । त्यसबेला राज्यले धरपकड गरेको थियो । गोली चलाएको थियो । कतिपय मजदुरहरुको ज्यान गएको थियो । तर, नोना कोइरालालगायतका महिलाहरुले छाती खोलेर लु गोली हान् भनेपछि सरकारी फौज पछि हटेको थियो ।
कृष्णप्रसाद कोइरालाको सक्रियतामा वि.सं. १९९२ सालमा (खगेन्द्र नेपालीद्वारा लिखित ‘नेपाल परिचय’ नामक पुस्तकमा १९९३ उल्लेख छ) उद्योग परिषद्को गठनसँगै विराटनगर जुट मिल्सको स्थापना भयो । त्यसबेला प्रधानमन्त्री जुद्ध शमशेर थिए । विराटनगर जुट मिल्स नेपालमा स्थापना भएको प्रथम उद्योग थियो । यो उद्योगको दर्ता नम्बर एक थियो । र, यसले मजदुरमार्फत् राजनीतिलाई मौलाउने अवसर दिएको थियो उद्योगमा २ हजार ४ सय मजदुर र ४ सय कर्मचारी कार्यरत थिए ।