विराटनगर । मोरङको रतुवामाई नगरपालिका –४ झुर्कियामा चट्याङले लागेर मंगलबार एक किशोरीको मृत्यु भएको छ । अविरल वर्षासँगै परेको चट्याङले १६ वर्षीया विपना महतोको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका घरमै बसिरहेका बेला बिहान ७:३० बजेतिर चट्याङले लागेर विपना गम्भीर घाइते भएकी बस्नेतले बताए ।
चट्याङले लागेर बेहोस भएकी उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ ।
त्यस्तै, धनपालथान गाउँपालिका –७ कदमाहस्थित एउटा घरमा चट्याङ परेर आगलागी भएको छ । रामा केवरतको घरमा बिहान ४:३० बजेतिर आगलागी भएको डीएसपी बस्नेतले बताए ।
उनका अनुसार चट्याङ पर्नासाथ सुरु भएको आगोले बाँसको टाटीले बारेको र टिनको छानो भएको १ तले घर पूर्णरूपमा जलेको छ । घरभित्र रहेका सामान पनि जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।
स्थानीयको सहयोगमा प्रहरीले एक घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । घटनामा मानवीय र चौपाया क्षति भने नभएको जानकारी प्रहरीले दिएको छ ।