विराटनगर । कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक सर्भेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन अनुसार कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले प्रभाव बढाउँदै लगेको देखिएको छ । यस्तै बिमक संस्थाहरु पनि बढिरहेको पाइएको छ । यस्तै सहुलियतपूर्ण कर्जा प्रवाह पनि कोशी प्रदेशमा बढेको पाइएको छ ।
सर्भेक्षण प्रतिवेदन अुनसार प्रदेशमा बैंक तथा वित्तीय संस्थाका शाखा सञ्जालमा भएको विस्तारका कारण बैंकिङ सेवामा जनताको पहुँच बढ्दै गएको छ । २०८० फागुनसम्ममा कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाद्वारा प्रति शाखा औसत २ हजार ६६५ जनसंख्यामा बैंकिङ सेवा प्रवाह भइरहेको जनाइएको छ । प्रदेशमा एटिएम बुथको संख्या ६६६ पुगेको छ भने मोवाइल बैंकिङ ग्राहकको संख्या ६१ लाख ४७ हजार नाघेको छ । इन्टरनेट बैंकिङ ग्राहक संख्या १ लाख ८५ हजार नाघेको छ ।
यस्तै बैंकिङ सेवाको विस्तारसँगै ऋणीहरुको संख्यामा समेत वृद्धि हुँदै गएको छ । कोशी प्रदेशका बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाह गरिने सहुलियतपूर्ण कर्जा प्रवाहमा वृद्धि भएको छ । २०८० असारमा यस्तो कर्जा प्रवाह ३२ अर्ब ४२ करोड ८३ लाख रहेकोमा २०८० फागुनमा ३३ अर्ब १६ करोड १८ लाख रुपैयाँ पुगेको छ ।२०८० फागुनसम्म देशकै कुल बीमक संख्या २ हजार ९३२ रहेको छ । कोशी प्रदेशमा भने यस्तो संख्या १६.३ प्रतिशत रहेको छ । देशकै कुल बीमक संख्या २ हजार ९३२ रहेको छ । कोशी प्रदेशमा भने यस्तो संख्या १६.३ प्रतिशत रहेको छ । कोशी प्रदेशमा २०८० फागुनसम्म बीमा प्रिमियम वापत संकलन भएको रकम १४ अर्ब २५ करोड पुगेको छ ।
कोशी प्रदेशमा हितग्राही (डिम्याट) खाताको संख्या ११ लाख ८७ हजार ४ सय ९१ पुगेको छ । कोशी प्रदेशको कूल डिम्याट खाता संख्यामध्ये झापामा सबैभन्दा बढी २२.४ प्रतिशत र तेह्रथुम जिल्लामा सबैभन्दा कम १.९ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७५–७६ देखि चालू आर्थिक वर्षको फागुनसम्ममा कोशी प्रदेशमा सामजिक सुरक्षा कोषमा आवद्ध हुने रोजगारदाता १ हजार ९ सय ६८ रहेका छन् भने ४९ हजार ३४५ जना योगदानकर्ता सूचीकृत भएका छन् ।
चालू आर्थिक वर्षमा कोशी प्रदेशको कृषि क्षेत्रको उत्पादन २.४५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९–८० मा कोशी प्रदेशमा प्रमखु खाद्यान्न बालीको उत्पादन १३ लाख ३६ हजार २ सय ५७ मेट्रिकटन रहेको थियो । कोशी प्रदेशमा कृषिको सुपरजोन १, जोन ३७ र १३८ पकेट क्षेत्र रहेका छन् ।
चालू आर्थिक वर्षको चैतसम्म प्रदेश सरकारबाट कूल ३ करोड ८२ लाख रकम कृषि अनुदान स्वरुप हस्तान्तरण भएको छ । कोशी प्रदेशमा कूल २ लाख ८४ हजार ९ सय १२ हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुगेको छ भने वर्षभरि सिंचाई हुने क्षेत्र २ लाख १० हजार ८८३ हेक्टर पुगेको छ ।
कोशी प्रदेशमा २०८० चैत मसान्तसम्म दर्ता भएका उद्योगहरुको संख्या ठूला, मझौला र साना गरी ८२ हजार ४९७ पुगेको छ । त्यस्तै यस अवधिमा कूल ९५ हजार ५ सय ४६ लघु, घरेलु तथा साना उद्योग कोशी प्रदशेमा दर्ता भएका छन् ।कोशी प्रदेशमा तारे स्तरका होटल गत वर्ष ११ रहेको थियो । यस वर्ष १ वटा थप भई तारे होटलको संख्या १२ पुगेको छ । पर्यटकीय स्तरको होटल ३ वटा थप भई ३६ वटा पुगेको छ भने निजी र सामुदायिक होमस्टे गरी कूल होमस्टेको संख्या १०५ पुगेको छ ।
कोशी प्रदेशमा चालू आर्थिक वर्षको फागुनसम्मको तथ्याङ्क अनुसार सबै तहका अस्पताल २२२ वटा, शिक्षण अस्पताल २, प्राथमिक स्वास्थ्य केन्द्र ३३, स्वास्थ्य चौकी ६३०, आधारभूत स्वास्थ्य सेवा केन्द्र ३७२, सामुदायिक स्वास्थ्य इकाई १५८, शहरी स्वास्थ्य केन्द्र १०५, डायग्नोष्टिक सेन्टर ४, प्रतिष्ठान १, नर्सिङ होम १ र अन्य स्वास्थ्य संस्था १४२ गरी जम्मा १ हजार ६६६ वटा स्वास्थ्य संस्था रहेका छन् । चालू आर्थिक वर्षमा कोशी प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशत रहने अनुमान गरिएको छ । जसमा प्रदेशको कृषि र गैर कृषि क्षेत्रको वृद्धिदर क्रमशः २.४५ र ३.६९ प्रतिशत रहने अनुमान गरिएको छ ।
प्रदेशको कूल ग्राहस्थ उत्पादन ९ अर्ब ३ अर्ब ५ करोड रहने अनुमान गरिएको छ । जुन देशको कूल ग्राहस्थ उत्पादनको १५.८ प्रतिशत हो । जसमा कृषि क्षेत्रको योगदान ३३.२, सेवा र उद्योगको योगदान क्रमशः ५०.९ र १५.९ प्रतिशत रहने अनुमान छ । कोशी प्रदेशको कूल ग्राहस्थ उत्पादन १ हजार ३३६ अमेरिकी डलर पुग्ने अनुमान छ ।
कोशी प्रदेशमा बेरुजू रकम भने बढ्दै गएको छ । आर्थिक वर्ष २०७८–७९ मा कायम भएको बेरुजू ४ अर्ब ९६ करोड ३४ लाख थियो । आर्थिक वर्ष २०७९–८० मा १२.४३ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड ४ लाख पुगेको छ । कूल बेरुजूमध्ये नियमित गर्नुपर्ने बेरुजू प्रतिशत ८३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
कोशी प्रदेशमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या १७.२ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षको फागुनसम्म कोशी प्रदेशमा सूचीकृत भएका बेरोजगारहरुमध्ये १.५ प्रतिशत न्यूनतम रोजगारीमा खटिएका छन् । आर्थिक वर्ष २०७९–८० मा १३.२ प्रतिशत सूचीकृत बेरोजगार न्यूनतम रोजगारीमा खटिएका थिए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालू आर्थिको फागुनसम्ममा कोशी प्रदेशका ११६ वटा पालिकामा संचालित १ हजार २ सय २८ आयोजनाबाट औसत ६४.९५ दिनका आधारमा कूल १ लाख ७ हजार ९ सय ४२ जनाले रोजगारी प्राप्त गरेका छन् ।
आर्थिक वर्ष २०७९–८० मा नेपालमा कूल श्रम स्वीकृति लिनेको संख्या ४ लाख ३ हजार ६ सय ४१ थियो । जसमध्ये कोशी प्रदेशबाट श्रम स्वीकृति लिनेको प्रतिशत १८.४४ रहेको छ ।