पहिरोका कारण ताप्लेजुङमा सयौँ परिवार प्रभावित

ताप्लेजुङ । मनसुन सुरु भएसँगै लगातारको वर्षाको कारण ताप्लेजुङमा बाढी पहिरोबाट पाँच जनाको मृत्यु भइसकेको छ भने सयौं परिवार प्रभावित भएका छन् ।

पूर्वी क्षेत्रमा पर्ने सिरिजंगा गाउँपालिका ६ मामांखे र वडा नं. ८ याम्फुदिनका नागरिक पहिरोबाट प्रभावित भएका छन् ।

याम्फुदिनका वडाध्यक्ष कृष्ण गुरुङले आफू, आफ्नो परिवार र आफू रहेको टोल असुरक्षित रहेको बताएका छन् । वडाको भोटेगाउँबाहेक कुनैपनि टोल सुरक्षित नदेखिएको उनको भनाइ छ । वडाबासीलाई सुरक्षित ठाउँ पहिचान गरेर बस्न भनेको उनले जानकारी दिए ।

घरमुनि र माथिबाट पहिरो आएपछि कञ्चनजंघा मावि छेउका पासाङ भोटे र पेम्वा भोटेको घरको सामान सारिएको छ । मामांखेका कैलाश लिम्वूका अनुसार केही घरहरु पहिरोले पुरेको छ भने घर अगाडि र पछाडि पहिरो गएपछि मानिसहरु विस्थापित भएका छन् । गौरी माया लिम्वू, भीममाया गुरुङ, ख्यालमान लिम्बूलगायतको घर पहिरोले बस्नै नहुने बनाएको छ ।

यस्तै स्थानीय पूर्णकुमार मावो, यामवहादुर लिम्वू, बुद्धिमान लिम्वू, रनकुमार, चन्द्रमान, रबिवहादुर लिम्वूको घर उच्च जोखिममा छन् । थबाबुक भन्ने स्थानमा ख्यालमान, बिरवहादुर, जगत, अमृत, चन्द्रबहादुर, आगे जेठा, आगे कान्छाको घर उच्च जोखिममा रहेको लिम्बूले जानकारी दिए ।

यस्तै साबिक २ देउराली डाँडा क्षेत्रमा मनकुमार, इन्द्रवहादुर, मनबहादुर लिम्वू, नारायण भट्टराई, मेघनाथ भट्टराईका घर उच्च जोखिममा रहेका छन् । साविक ६ नम्वर वडामा गल्लीमुनि माइलाको घर जोखिममा रहेको बताइएको छ ।

जोखिम प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि अनुरोध गरिएको छ । शनिबार विहानदेखिको वर्षा नरोकिएको स्थानीयले बताएका छन् । सो क्षेत्रमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल कञ्चनजंघा गुल्मका गुल्मपति रबिन सिलवालका अनुसार बिहानै पठाइएको टोली सिरिजंगा गाउँपालिकाको केन्द्र तेल्लोकबाट अगाडि बढेको छ ।

जताततै सडक भत्किएको र बनाउँदै जानुपर्दा टोलीलाई पुग्न समस्या भइरहेको सिलवालले बताए । सशस्त्रको टोलीले विपद्‌मा परेकालाई सुरक्षित राख्ने लगायतका काम गर्नेछ ।

आइतबार, ०३ असार, २०८१, बिहानको १०:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर