एमालेमा विवाद : अध्यक्ष थापालाई गरिएको कारबाही २४ घण्टाभित्र फिर्ता लिन चेतावनी

विराटनगर । नेकपा एमाले मोरङको चरम विवाद उत्कर्षमा पुगेको छ । एमाले मोरङका निर्वतमा अध्यक्ष ऋषिकेश पोखरेलको योजनामा विराटनगर महानगर अध्यक्ष सागर थापासहितलाई निलम्बन गरिएपछि विवादले उग्र रुप लिएको हो । एमाले मोरङ अध्यक्ष बाबुराम कार्कीले शुक्रबार विराटनगर अध्यक्ष सागर थापासहित तीन जनालाई निलम्बन गरेको विषय सार्वजनिक भएको थियो ।

त्यसको भोलीपल्ट शनिबार थापालाई गरिएको कारबाही २४ घण्टाभित्र फिर्ता लिन महानगरका १९ वटै वडाका इन्चार्ज, अध्यक्ष र सचिवहरुले जिल्ला अध्यक्ष कार्कीलाई चेतावनी दिँदै ज्ञापनपत्र दिएका छन् ।

उनीहरुले विराटनगर–३ मा रहेको मानगढ खानेपानीको विषयमा अध्यक्ष थापासहित तीन जनालाई गरेको कारबाहीको विरोध गरेका छन् । पार्टीको आधिकारिक निर्णय समेत नभएको विषयमा कामचलाउ जिल्ला संगठन समितिको अध्यक्ष कार्कीले जिल्ला कमिटीको बैठकमा निर्णय र माइन्यूट नै नभएको विषयमा विधानविपरीत कारबाहीको चिठ्ठी दिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । उनीहरुले खानेपानी संस्थामा निर्वाचनको बहानामा एमालेलाई नै सिध्याउने खेल भएको भन्दै कारबाही फिर्ता गर्नु पर्ने माग गरेका छन् ।

एमाले मोरङको पार्टी कार्यालय विराटनगरस्थित पाञ्चालीमा पुगेर उनीहरुले ज्ञापन पत्र बुझाउँदै स्थानीय कार्यकर्ताहरुको भावना विपरीत निर्णय गरेर पार्टीकै छवि धुमिल बनाउन खोजेको आरोप लागाए । नेकपा एमाले मोरङले अध्यक्ष सागर थापा, महानगर कमिटी कार्यालय सदस्य नवराज नेपाल र मानगढ खानेपानीको अध्यक्षका उम्मेदवार भएका एमाले वडा कमिटी ३ का अध्यक्ष लालमणि भट्टराईलाई कारबाही गरेको थियो ।

यस्तै वडा नम्बर ३ का वडा सदस्य सुरज न्यौपाने र जिल्ला सदस्य मुकेश बुढाथोकीलाई स्पष्टिकरण सोधेको थियो । पार्टीको निर्णय विपरित उम्मेदवार बनेको, उम्मेदवारको प्रचार प्रसार गरेको आरोप उनीहरुलाई लागेको छ । १९ वटै वडाको तर्फबाट जारी गरिएको अपिलमा भने अमुक नेताको व्यक्तिगत कुण्ठा पुरा गर्न पार्टीको गरिमामय पदको दुरुपयोग भएको भन्दै नेकपा एमाले पार्टीलाई विराटनगर महानगरपालिका भित्र कमजोर बनाउन षड्यन्त्र गरिएको उल्लेख गरिएको छ । ‘…मानगढ खानेपानी संस्थाको नियमित निर्वाचनमा उम्मेद्वारी दिएको, समर्थन गरेको आधारमा कारबाही गरिनु पार्टी विधान बर्खिलाप कार्य हो । अमुक नेताको व्यक्तिगत कुण्डा पुरा गर्न पार्टीको गरिमामय पदको दुरुपयोग हो भन्ने हाम्रो ठहर छ । ….सम्पूर्ण कारबाहीको प्रक्रिया नियोजित हो र नेकपा एमाले पार्टीलाई विराटनगर महानगरमा कमजोर बनाउने षड्यन्त्र हो भन्ने हाम्रो ठहर छ,’ अपिलमा उल्लेख छ ।

२४ घण्टा भित्र कारवाही फिर्ता नगरे हुने क्षति जिम्मा पार्टी जिल्ला कमिटीका नेतृत्वले लिनु पर्ने चेतावनी अपिलमा उल्लेख गरिएको छ । ‘पार्टी महानगर अध्यक्षजस्तो सम्मानित पदलाई पार्टी राजनीतिसँग असम्बन्धीत उपभोक्ता समितिको सामान्य निर्वाचनको विषयलाई लिएर लिखित स्पष्टीकरण समेत नसोधी पार्टी सदस्यता समेत निलम्बन गरिनु खेदजनक छ,’ उक्त अपिलमा भनिएको छ, ‘…. हामी सम्पूर्ण वडाका पदाधिकारी, महानगर सदस्य, जिल्ला सदस्य लगायतका सिंगो पार्टी परिवार विधिको शासन, स्वतन्त्र न्यायपालिका र पार्टी विधान र पद्धतीको रक्षाका लागि यो अवैधानिक कार्य २४ घण्टाभित्र फिर्ता लिए मिसन २०८४ सफल पार्न जोगदार माग गर्दछौं ।’ आफूहरुको आग्रहलाई वेवास्ता गरिए त्यसको क्षतिको जिम्मेवारी जिम्मेवार नेतृत्वकै हुने अपिलमा उल्लेख छ ।

यस्तै पार्टी कार्यालय पाञ्चालीमा भेला भएका १९ वटै वडाका पदाधिकारी तथा अध्यक्षहरुले शुक्रबार बसेको वडा कमिटी अध्यक्षको बैठकको निर्णयको माइन्यूट समेत हस्तान्तरण गरेका छन् ।

शनिबार, ०२ असार, २०८१, रातीको ०९:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर