लगातारको वर्षापछि बाढी पहिरो जाँदा ताप्लेजुङमा पुल र संखुवासभामा घर बग्यो

विराटनगर । बुधबार रातिदेखि परेको परेको अविरल वर्षाले ताप्लेजुङको सिसावा खोलामा आएको बाढीले एउटा काठेपुल बगाएको छ ।

पुल बाढीले बगाएपछि फक्तालुङ गाउँपालिकाका स्थानीय प्रभावित भएका छन् । काठको पुल भएपनि गाडी, मोटरसाइलल र मानिस त्यसबैबाट आवतजावत गर्ने गरेका थिए ।

फक्तालुङ ५ का वडाध्यक्ष लिम्बूका अनुसार बिहानै साढे ६ बजेको समयमा आएको बाढीले पुल बगाएको छ । बाढीले पुल बगाएपछि त्यसको मारमा विद्यार्थी परेका छन् । अर्को ठाउँबाट खोला तर्न आधाघन्टा माथि झोलुंगे पुलमा पुग्नुपर्ने बताइएको छ ।

यस्तै सिसावा खोलामा आएको लेदोसहितको बाढीले तमोर नदी पनि थुनिएको छ । तमोर थुनिएपछि त्रास बढेको उनले बताए । नदि थुनिएपछि ड्याम बनेको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले थुनिएको तमोर अहिले खुलिसकेको जानकारी दिएका छन् ।

उता संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । राति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् ।

कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन् ।

पहिरोले घर बगाएर विस्थापित भएपछि उनीहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा ९ घर विस्थापित भएका छन् । खाँदबारी–४ सेकाहाका चार घर पहिरोबाट विस्थापित भएको वडाध्यक्ष विनोद सुब्बा गुरुङले जानकारी दिए । यस्तै चिचिला गाउँपालिकाको १ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेको प्रहरीले जनाएको छ ।

निरन्तरको वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । पहिरोका कारण करिब एक करोडको क्षति भएको सडक कार्यालयले जनाएको छ ।

बिहिबार, ३१ जेठ, २०८१, दिउँसोको १२:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर