विराटनगर । नेकपा एमालेले मोरङ सहित १३ जिल्लाको अधिबेशन अनिश्चित बनेको छ । अधिवेशन हुन बाँकी जिल्लाहरूमा कोशी प्रदेशका तीन वटा रहेका छन् । कोशीका इलाम, मोरङ र तेह्रथुम जिल्लामा अधिवेशन अनिश्चित बनेको हो ।
त्यसैगरी मधेस प्रदेशमा पनि तीन वटा जिल्लाको एमालेले समयमा अधिवेशन गर्न नसकेको हो । बागमती प्रदेशका सबै जिल्लाको अधिवेशन सम्पन्न गरेको एमालेले गण्डकीको मनाङ र कर्णालीको डोल्पामा पनि जेठ महिनाभित्र अधिवेशन गर्न असफल भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका डोटी, अछाम र बझाङ जिल्लाको अधिवेशन पनि हुन नसकेको एमाले सङ्गठन विभागका सचिव समेत रहेका केन्द्रीय सदस्य माधव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार विशेष क्षेत्र अन्तर्गतका युवा, विद्यार्थी, उद्योग– व्यवसाय र मजदुरको पनि अधिवेशन हुन बाँकी रहेको छ ।
६८ वटा जिल्ला कमिटीको मात्रै जिल्ला अधिवेशन सम्पन्न गरेको छ । २०८१ जेठ जेठ महिनाभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न पार्टी केन्द्रले निर्देशन दिएपनि १३ वटा जिल्लाले समयमा अधिवेशन गर्न नसकेका हुन् ।
जेठ ३२ गतेभित्र अधिवेशन सम्पन्न गर्न नसक्ने १३ वटा जिल्लाले अब ८१ सालको सदस्यता नवीकरण गरेरमात्रै अधिवेशन गर्नुपर्ने छ । यसअघि एमालेले २०८० सालसम्मको देशभरका पार्टी सदस्यहरूको सदस्यता नवीकरण गरेको थियो ।
कतिपय जिल्लामा सदस्यता विवाददेखि सांगठानिक काम पूरा नभएकाले तोकिएको समयमा जिल्ला अधिवेशन सम्पन्न हुन नसकेको नेताहरूले बताएका छन् ।
७७ जिल्ला र चार वटा विशेष क्षेत्र गरी ८१ वटा जिल्लामध्ये ६८ वटा जिल्लाको अधिवेशन सम्पन्न भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
एमालेले युवा, विद्यार्थी, उद्योग व्यवसाय र मजदुर गरी चारवटा सङ्गठनलाई विशेष क्षेत्रका रूपमा जिल्ला कमिटी सो सरहको मान्यता दिएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यही जेठ मसान्तभित्र अधिवेशन नगर्ने जिल्लामा यो वर्षको सदस्यता नवीकरण गरेरमात्र अधिवेशन गर्न पाउने बताए ।
‘जेठ महिना कटेपछि नयाँ वर्षको पार्टी सदस्यता नवीकरण गरेपछिमात्र अधिवेशन गर्नुपर्ने हुन्छ’, गौतमको भनाइ छ । उनले १३ जिल्लाको हकमा पार्टी कमिटीहरूले अधिवेशनलाई प्राथमिकतामा नराखेका कारण अधिवेशन हुन नसकेको बताए ।