प्रहरी र प्रजिअ प्रदेश मातहत आए उत्कृष्ट काम गर्छौं : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी समायोजन नभएसम्म प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकारको मातहतमा दिए उत्कृष्ट ढंगले परिचालन गर्ने बताएका छन् ।

सोमबार विराटनगरमा गृह मन्त्रालयले आयोजना गरेको कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलार्इ सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले समायोजन ढिलो भइरहेको अवस्थामा एकमुष्ट बास्केटबाट प्रहरी र प्रजिअलाई प्रदेशमा पठाए काममा सहज हुने बताए ।

‘कतिपय अवस्थामा को प्रहरी गए र को आए भन्ने पनि थाहा नहुँदा प्रदेशमा काम गर्न गाह्रो भएको छ’ उनले भने, ‘यो अवस्थामा यो विकल्प राम्रो हो, हामी यसको सफल प्रयोग गरेर देखाउँछौ ।’ प्रदेश सरकार सबै तहसँग समन्वय गरेर काम गर्न तयार रहेको उल्लेख गर्दै उनले संघीय सरकारले पनि त्यहि अनुरुप सहजिकरण गर्नुपर्नेमा जोड दिए ।

प्रदेश सरकार प्रहरीलाई बलियो बनाउन लागिपरेको चर्चा गर्दै कार्कीले अगामी तीन वर्षमा कोशीभित्र प्रहरी कार्यालय पूर्वाधारयुक्त बनाउने र सबै ठाउँका प्रहरीलार्इ सवारी साधन पुर्याउने योजना साथ काम गरिरहेको बताए । सुशासन ,शान्ति र समृद्धिका लागि सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने भन्दै उनले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गरेमा उद्योग बाणिज्य क्षेत्रमा पनि सुधार हुने बताए ।

कुनै बेलामा जनताले खोज्ने पहिलो निकाय प्रहरी रहेको भन्दै मुख्यमन्त्र कार्कीले कर्तव्यनिष्ठ भएर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिए । प्रहरीलाई प्रविधिमैत्री बनाउन र पूर्वाधारमैत्री बनाउन सकेमा थोरै जनशक्तिबाट पनि काम हुने उनको भनाइ छ ।

सोमबार, २८ जेठ, २०८१, साँझको ०७:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर