विराटनगर । विद्यालय औपचारिक शिक्षा हासिल गर्ने स्थान मात्र नभएर जीवनका यावत् मूल्य मान्यता सिक्दै सामाजिकीकरणमा अभ्यस्त हुने थलो पनि हो । किताबी ज्ञानका साथै व्यावहारिक जानकारी प्रदान गर्दै विद्यालयलाई बहुआयामीक ज्ञान केन्द्र बनाउनुपर्ने आवश्यकता पछिल्लो समयमा बढेको छ ।
मुलुक संघीयतामा गएपछि कोशी प्रदेश सरकारले विद्यालयलाई बहुआयामीक ज्ञान केन्द्र बनाउन विभिन्न कार्यक्रम अगाडि बढाएको छ । त्यसमध्येकै एक हो, विद्यालय नर्स कार्यक्रम ।
प्रदेश सरकारले प्रदेशभरीका १६० वटा सामुदायिक विद्यालयमा कार्यक्रम सञ्चालन गरेको छ । मोरङमा १९ वटा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम सञ्चालनमा रहेको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।
स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताका अनुसार विद्यालय नर्स कार्यक्रम सञ्चालन भएका १९ वटा सामुदायिक विद्यालयमा करिव २० हजार विद्यार्थी यसबाट लाभान्वित भएका छन् । विद्यालय नर्स कार्यक्रममा प्रतिनर्स तलबसहित अन्य सुविधामा ४० हजारको हराहारीमा प्रदेश सरकारको लगानी छ ।
औषधीसहित आवश्यक स्वास्थ्य सामग्रीसहित विद्यालय नर्स कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले वार्षिक ८ करोड रुपैयाँ लगानी गर्दै आएको छ । विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम सञ्चालनले विद्यालयमा प्रवद्र्धनात्मक, प्रतिकारात्मक र उपचारात्मक स्वास्थ्य सेवा प्रदान भएको छ ।
कार्यक्रमबाट विद्यार्थीमार्फत परिवार एवम् समुदायलाई स्वस्थ बनाउन जनचेतना जगाउने तथा स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहन पुगेको अभिभावकको भनाइ छ । कार्यक्रमले नर्सले विद्यार्थीमार्फत विस्तार गरेको सचेतनाले परिवार तथा समुदायलाई स्वस्थ रहन प्रेरणा र जानकारी प्रदान गर्दै आएको छ । कलिला विद्यार्थीलाई सामान्य स्वास्थ्य शिक्षाका साथै उमेर अनुसार उनीहरूमा आउने शारीरिक तथा मनोवैज्ञानिक परिवर्तनलाई सम्बोधन गर्न नर्सहरू सहयोगी बन्दै गएका छन् । आर्थिक वर्ष २०७५÷७६ मा एक जिल्लामा एउटा विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको थियो । त्यसलाई अहिले विस्तार गर्दै लगिएको छ ।
प्रदेशको स्वास्थ्य मन्त्रालयका नर्सिङ अधिकृत आस्था थापाका अनुसार प्रदेशभरीका १६० वटा विद्यालयमा अहिले सो कार्यक्रम सञ्चालनमा छ । थप १३ वटा विद्यालयमा आगामी आर्थिक वर्षमा कार्यक्रम विस्तार गर्न लागेको मन्त्रालयले जनाएको छ ।
स्थानीय तहमातहत रहेको विद्यालयमा प्रदेश सरकारले कार्यक्रम सञ्चालन गरिरहेको भएपनि स्थानीय तहले भने कार्यक्रमलाई प्रभावकारी बनाउन बजेट वा नीति तथा कार्यक्रम बनाएको देखिन्न । प्रभावकारी रुपमा सञ्चालन हुँदै आएको यो कार्यक्रमको लागि प्रदेश सरकारसँगै स्थानीय तहको साझेदारी आवश्यक देखिएको मन्त्रालयले जनाएको छ ।
विद्यार्थीको असल साथी नर्स
नर्सलाई विद्यार्थीले स्वास्थ्य समस्या समाधानको केन्द्रबिन्दुको रुपमा लिएका छन् । विद्यालय नर्सले उमेर र अवस्था अनुसार स्वास्थ्य परामर्श दिने गरेकाले विद्यार्थीले आफ्नो मनको कुरा तथा कौतुहलता पूरा गर्ने व्यक्तिको रुपमा लिएका हुन्छन् । बालबालिकादेखि किशोरकिशोरीसम्मले आफ्न्नो पारिवारिक समस्या, स्वास्थ्य समस्या किशोरावस्थामा आउने परिवर्तन सम्बन्धि कौतुहलता र आफ्नो मनमा लागेका हरेक कुराहरु खुलेर भन्ने व्यक्तिका रुपमा विद्यालय नर्स स्थापित भएका छन् ।
केही बालबालिकाको आमाबुबा नभएको, आमाबुबालाई उनीहरुको कुरा सुन्न समय नभएको, कतिको मिल्ने साथी नभएको र स्वास्थ्य सम्बन्धी सही ज्ञान दिएर कौतुहलता व्यवस्थापन गर्ने व्यक्ति नभएको अवस्थामा विद्यालय नर्स असल साथी बनेका छन् । नर्सका कारण विद्यार्थीको व्यवहार परिवर्तन र स्वस्थ जीवनशैली विकास गर्न सहयोग पुगेको विद्यालयहरुले जनाएका छन् ।
विद्यार्थीहले स्वास्थ्यको महत्व बुझेर जन्मदिनमा केक÷चकलेट बाँड्नुको साट्टो सरफाइको लागि आवश्यक सामग्री (हेन्डवास, डस्टबिन, हर्पिक र ब्रस) र सेनेटरी प्याड जस्ता सामग्री विद्यालयमा राख्न सुरु गरेका छन् ।
शारीरिक परिवर्तनको जानकारी
किशोरावस्था भनेको बालकबाट वयस्क हुने अवस्था हो । यो अवस्थामा विभिन्न शारीरिक (विशेष गरेर प्रजनन अंगहरुमा) परिवर्तन आउँछ । जुन कुरा किशोरकिशोरी परिवार, साथीभाइ र शिक्षकलाई भन्न गाह्रो मान्ने गर्छन् । त्यस्तो कुरा विद्यालय नर्सलाई भन्न सहज मान्छन् ।
विद्यार्थीले खुलेर भन्न नसकेका धेरै जिज्ञासा तथा कौतुहलता विद्यालय नर्सले स्वास्थ्य शिक्षा दिने बेला समेट्ने गरेका छन् । त्यसैले उनीहरुलाई आफ्नो समस्याको समाधान नर्सले गर्छ भन्ने बिश्वास रहेको देखिन्छ ।
विद्यार्थीलाई व्यक्तिगत सरसफाइ जस्तै हात धुने, नङ काट्ने, दाँत माझ्ने, नुहाउने, यौनांगको सरसफाइको बारेमा महत्व बुझाएर व्यवहार परिवर्तन गराउन पनि नर्स सहयोगी बनेका छन् । यस्तै महिनावारी हुँदा गर्नुपर्ने सरसफाइ, प्याड बनाउने, लगाउने तरिका र फोहोर प्याड व्यवस्थापन गर्ने तरिकाबारे नर्सले विद्यार्थीलाई बुझाएका छन् ।
विद्यालयमा नर्सको अगुवाइमा निःशुल्क सेनेटरी प्याडसमेत वितरण भइरहेको छ । विराटनगर स्थित पोखरिया माविमा कार्यरत नर्स प्रतिभा बजगाईंका अनुसार किशोर अवस्थामा विद्यार्थीका धेरै स्वास्थ्य समस्या लुक्ने गरेकोमा अहिले उनीहरु खुलेर बताउने गरेका छन् । सामान्य समस्या हुनसाथ विद्यार्थीहरु आएर आफूलाई बताउने गरेको उनले बताइन् ।
मानसिक, सामाजिक र संवेगात्मक समस्या समाधान
प्रत्येक व्यक्ति जन्मिएदेखि नै जिम्मेवारी बहन गर्न खोज्छन् । किशोरकिशोरीमा बढ्दो परिवर्तनका कारण अझ बढी जिम्मेवारी बहन गर्न खोज्छन् । तर, हाम्रो समाज त्यो जिम्मेवारी दिन चाहँदैन । अन्ततः किशोरकिशोरी एक्लै बस्न मन पराउने, परिवारका सदस्यभन्दा साथीसँग बढी समय बिताउने र आफ्ना भावना आदानप्रदान गर्न चाहने हुन्छ ।
मोबाइल, इन्टरनेटमा बढी व्यस्त हुने, आमा बुबाले कुरा गर्न खोज्दा झिजो मान्ने, झर्कने, आफ्नो अस्तित्व÷परिचय स्थापित गर्न खोज्ने, आत्मनिर्भर हुन खोज्ने, जोखिमपूर्ण काम गर्न खोज्नेमा हुन्छन्, किशोर र किशोरी अवस्थामा । त्यस्तै कुलततिर लाग्ने, यौन इच्छा र चाहनामा वृद्धि हुने, सही र गलत छुट्याउन नसक्ने, खान मन नगर्ने, सामाजिक नियम विपरित कार्य गर्न खोज्ने, प्रेम सम्बन्धमा पर्ने, पढाइ छोड्ने, यौनरोग र एचआईभी जस्ता रोग सर्ने जोखिम बढ्ने, अरुको देखासिकी गर्ने, डिप्रेसन र आत्महत्या जस्ता समस्या आउने गरेका छन् ।
नर्सले आफूले सिकेको ज्ञान र भोगेका अनुभव समेटेर गोपनियताका साथ आवश्यक परामर्श, सल्लाह सुझाव दिन्छन् । कसैलाई पनि भन्न नसक्ने कुरा पनि सजिलै र खुलेर भन्न सकिने रहेछ भन्ने अनुभव कोशी प्रदेशले विद्यालय नर्स कार्यक्रम लागू गरेका विद्यालयका विद्यार्थीले गरेका छन् ।
पोषण र गुणस्तरीय खानाको जानकारी
अहिले बालबालिका घरमा पाकएको खानाभन्दा जंकफुड मन पराउँछन् । आमाबुबा व्यस्त भएर, पैसा दिने बानी गरेर, देखासिकी गरेर, विद्यालय क्यान्टिनमा पनि सजिलै पाउने भएर, स्वास्थ्य समस्याको बारेमा नबुझेर पनि जंकफुडको प्रयोग हुन्छ । यस समस्यालाई समाधान गर्न विद्यार्थी, अभिभावक, शिक्षक, क्यान्टिन सञ्चालक सबैलाई राखेर पोषण र गुणस्तरीय खानाको बारेमा जानकारी दिएर विद्यालयमा जंकफुड निषेध गर्न नर्सहरुले भूमिका खेलिरहेका छन् ।
नियमित स्वास्थ्य जाँच र परामर्श
विद्यालय नर्सले विद्यार्थी र शिक्षकको नियमित स्वास्थ्य जाँच गरी आवश्यक परामर्श र प्राथमिक उपचार सेवा दिन्छन् । सामान्य स्वास्थ्य समस्याको उपचार र सल्लाह विद्यालयमै सम्भव भएपछि विद्यार्थीको विद्यालयमा नियमित उपस्थिति हुने गरेको छ ।
सरकारी तथा सामुदायिक विद्यालयमा पढ्ने धेरैजसो विद्यार्थीको आर्थिक अवस्था पनि कमजोर हुने र उपचारबाट बन्चित हुने भएकोले विद्यालय नर्सले त्यस्ता बालबालिकालाई पनि समेटेको छ्र । कक्षा कोठा, शौचालय, विद्यालय वरिपरि र क्यान्टिनको नियमित सरसफाइ तथा फोहोर व्यवस्थापनमा पनि विद्यालय नर्सले महत्वपूर्ण भूमिका खेलेका छन् ।
विद्यार्थी परिवारिक, साथीभाइको संगत, देखासिकीका कारण धूमपान तथा लागुपदार्थ सेवनतिर लाग्न पुग्छन् । यस्तो कुलत नियन्त्रण गर्न विद्यालय नर्सको भूमिका महत्वपूर्ण बनेको छ । विद्यार्थीको मुख्य समस्या के हो, के कारणले उनीहरु कुलततिर लागेका हुन् भन्ने खोजी गरी परामर्श दिन आवश्यक पहल गर्ने काममा नर्स सफल भएका छन् ।