नेपाल सहकारीले बचत फिर्ता दिएन

विराटनगर । विराटनगरको रोडशेष चौक दक्षिण जोगवनी रानी सडक खण्डमा रहेको नेपाल सहकारी संस्थाले बचतकर्ताको जम्मा गरेको रकम नदिएको गुनासो सर्वसाधारणले गरेका छधन् ।

बचतकर्ताले जम्मा गरेको रकम फिर्ता लिने समय ‘म्याचुरेटी’ दुई वर्षभन्दा धेरै वितिसक्दा पनि पैसा फिर्ता नगरेपछि सहकारीको कार्यलयमा पुगेर धर्ना दिन थालेका छन् ।
सहकारीमा दैनिक ज्यालादारी गर्नेदेखि ठेला तथा रिक्सा चलाएर बचत गर्नेहरु धेरै छन् । विराटनगर १३ का दिपेन्द्र महतोले सिटी सफारी चलाएर सहकारीमा रकम बचत गरेका थिए । उनी पैसाको लागि धाएको झन्डै २ वर्ष भइसक्यो । तर, सहकारीले बचत फिर्ता दिएको छैन ।

विराटनगर १३ कै शारदा महतोले पनि आफ्ना श्रीमान् र छोराको नाममा सहकारीमा पैसा जम्मा गरेकी थिइन् । ठेलामा मःम, चाउमिन र चिया बेचेर बचत गरेको रकम फिर्ता नपाएको उनको दुखेसो छ । बुधबार बचतकर्ताहरु सहकारीमा रकम माग गर्दै पुगेका थिए ।

सहकारीको सञ्चालक समितिका पदाधिकारीहरु भने सम्पर्कविहीन छन् । अहिले सहकारीको हरहिसाब पूर्वअध्यक्षकी श्रीमती श्रीजना खातीले हेर्दै आएकी छन् । यसअघि अध्यक्ष रहेका राजु शर्माको २०७८ सालमा निधन भएपछि सचिव रहेका निर्मलकुमार दाहालले एकलौटी रुपमा सहकारी सञ्चालन गरेका थिए ।
रमिला विश्वकर्मा शिलवाललाई अध्यक्ष बनाएर सहकारी सञ्चालन भएकोमा अहिले अध्यक्षसहित सञ्चालकहरु सबै सम्पर्कविहिन छन् । सचिव दाहाल जापान पुगेको स्थानीयले बताएका छन् । सहकारीको रेखदेख अहिले उनै मृतक राजु शर्माकी श्रीमती श्रीजनाले गर्दै आएकी छन् ।

बचतकर्ताहरुले आफुले जम्मा गरेको रकम पाउनु पर्ने भन्दै सहकारीको हरहिसाव हेर्दै आएकी खातीसमक्ष माग गरिरहेका छन् । नेपाल सहकारीभित्र ठुलो गञ्जागोल र भन्द्रगोल रहेको देखिएको उनले बताएकी छन् । बचतकर्ताको रकम लगानी गरेको पैसा उठेपछि मात्रै फिर्ता हुने हाल सहकारीको रेखदेख गर्दै आएकी खातीले बताइन् ।
आफ्ना श्रीमानको निधनपछि चलखेल गरेर डुबाएको सहकारी आफैं लागेर उकास्ने योजना रहेको उनको दावी छ । बचतकर्ताहरुले विराटनगर १३ का वडा अध्यक्षसहितको उपस्थितमा छलफल गरी रकम असुल गर्ने वा खाती विरुद्ध ठगी सम्बन्धी मुद्दा हाल्ने चेतावनी दिएका छन् ।

शुक्रबार, २५ जेठ, २०८१, बिहानको ०७:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर