विराटनगर । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले आफ्नो क्षमताअनुसारकाम गर्न मुख्यमन्त्रीहरूले नै छेक्ने गरेको गुनासो गरेकि छिन् । मुख्यमन्त्रीहरूका कारण आफ्नो कार्यकालमा आफूले काम गर्न नसकेको उनको गुनासो रहेको छ
बुधवार राष्ट्रिय महिला आयोगले विराटनगरमा गरेको कार्यक्रममा लिम्बूले आफ्नो क्षमताअनुसार मुख्यमन्त्रीहरूले काम गर्न नदिएको गुनासो राखेकी हुन् ।
लिम्बू कार्की र उद्धव थापा नेतृत्वको सरकारमा गरी दुईपटक स्वास्थ्यमन्त्री बनेकी थिइन् । तर दुवैपटक पुरुष मुख्यमन्त्रीकै कारण आफूले काम गर्न नसकेको उनको गुनासो रहेको छ । मुख्यमन्त्री कार्की प्रमुख अतिथि भएकै कार्यक्रममै उनले यस्तो आरोप लगाएकी हुन् ।
‘महिलालाई एउटा मन्त्रालयको जिम्मेवारी सम्हाल्न दिइन्छ,’ उनले भनिन् ‘तर त्यो महिला मन्त्रीलाई आफ्नो क्षमताले काम गर्न दिइँदैन । पार्टीगत दबाब पनि पुरुषकै हुन्छ । सरकार प्रमुखको दबाब पनि पुरुषकै हुन्छ ।’
आफ्नो क्षमताअनुसार कार्य योजना बनाएर सक्रिय रुपमा अगाडि बढ्नबाट महिलालाई रोक्ने गरेको उनको गुनासो थियो ।
‘मेरो भोगाइलाई मात्रै म भन्न चाहन्छु । दुईटा पार्टीका दुई छुट्टाछुट्टै सरकारमा स्वास्थ्यमन्त्री भएर काम गर्दा मेरा तीता–मिठा भोगाइहरू छन् । पार्टी र मुख्यमन्त्रीकै कारण काम गर्न समस्या हुदो रहेछ,’ उनले भनिन् ।
महिलामाथि हुने दबाबमुक्त हुने खालका कार्यक्रम आयोगले ल्याउनु पर्ने उनको सुझाव रहेको छ । महिलालाई प्रदेश सरकार र पार्टीमा नेतृत्वमा जिम्मेवारी दिन दबाब बढाउनु पर्ने उनले बताइन् ।
तर मुख्यमन्त्री कार्कीले भने पूर्वमन्त्री लिम्बूको आरोपको खण्डन गरेका छन् । महिला भएकै कारण विभेद गरियो भन्ने अवस्था कोशी प्रदेशमा नरहेको उनको दाबी रहेको छ । कहिलेकाहीँ ‘मजाक’ गरेर साथीभाइ बीचमा गरिने व्यवहारलाई नकारात्मक सोच्नु नहुने उनको भनाइ थियो ।