महानगरको मौनताले अवैध स्कुल निर्वाध सञ्चालनमा

वडाध्यक्षकै आग्रह बेवास्ता गर्छन् महानगर

विराटनगर । सञ्चालन अनुमति नलिई सञ्चालन भइरहेको विद्यालयमा अनुगमन गरी कानुनी प्रक्रिया पूरा गर्न वडाध्यक्षले गरेको आग्रहलाई समेत महानगरले बेवास्ता गर्दै आएको पाइएको छ ।

सरकारसँग स्वीकृति नलिई अवैधरुपमा विद्यालय सञ्चालन भइरहेको लिखित निवेदन आएपछि त्यस विषयमा अनुगमन गरी यथार्थ पत्ता लगाउन र नियमसंगत सञ्चालन गर्ने वातावरण बनाउन वडाध्यक्षले पटक पटक लेखेको पत्र लामो समयसम्म कार्यान्वयन नगरेको पाइएको हो । मुख्यगरी विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाकालाई वडा अध्यक्षले लेखेको पत्र कार्यान्यन गर्न कर्मचारीले बेवास्ता र आलटाल गरेको पाइएको हो ।

विराटनर महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष जीतेन्द्रकुमार साहले वडामा उजुरी आएपछि पटकपटक शैक्षिक प्रशासन महाशाखाकाका प्रमुखसमेतलाई अनुगमन गरिदिन पत्र पठाए पनि कर्मचारीले आलटाल मात्र गरेको बताए । उनले कतिपय स्कुल अनुमति नलिई वडामा सञ्चालन गरेको र प्राथमिक तहको अनुमति लिई माध्यमिक तहसम्म सञ्चालन गरेको भन्दै वडामा आएको निवेदनको अधारमा अनुगमन गर्न आग्रह गरेका थिए । तर, महाशाखाका कर्मचारीले आजभोली भन्दै अवैध रुपमा चलिरहेका विद्यालयहरुलाई प्रोत्साहन गर्ने काम गरेको उनको आरोप थियो ।

पछिल्लो समय विराटनगर महानगरपालिकामा अभिलेख नै नबुझाइ अवैधरुपमा बिना दर्ता चेतना बोर्डिङ्ग स्कुल संचालन हुँदै आएको समाचार प्रकाशित भएको थियो । विराटनगर १८ स्थित चेतना बोडिङ्ग स्कुल विगत ११ वर्षदेखि सञ्चालनमा रहेको र एकदशकदेखि महानगरको जानकारीविनै विद्यालय चलिरहेको वडाध्यक्ष साहले बताए । यस विषयमा समाचार प्रकाशन भएपछि वडाध्यक्षले महानगरलाई अनुगमन गरिदिन पत्राचार गरेका थिए । तर उक्त पत्र लामो समयसम्म कार्यान्वयनमा नआएको र विद्यालयको अनुगमन पनि नभएको उनले बताए ।

विद्यालय शिक्षा स्थानीय तहको जिम्मेवारी क्षेत्रमा पर्ने भएकोले विद्यालयहरुको सञ्चालन र अनुगमन तथा नियमनको काम स्थानीय तहबाटै हुने व्यवस्था मिलाइएको छ । विराटनगर महानगरपालिकाले उक्त विद्यालयको बारेमा महानगरसँग कुनै अभिलेख नरहेको जनाएको छ ।

विराटनगर महानगरपालिकामा एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा (ईएम आई एस)मा हालसम्म कुनै पनि जानकारी नदिएको महानगरपालिकालेसमेत जनाएको हो । महानगरपालिकाको नगर कार्यपालिकाको कार्यलय शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत रमेश खड्काले चेतना बोर्डिङ्ग सञ्चालनमा रहेको कुनै अभिलेख महानगरमा नरहेको जनाएको छ । आर्थिक वर्ष २०७१÷७२ मा सबै विद्यालयलाई एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा (ईएमआईएस)मा अभिलेख गरान आग्रह गरेपनि सो स्कुलले हाल नगराएको उनले जानकारी दिए ।

अभिलेखमा विद्यार्थी संख्या, शिक्षकको विवरणसहित भौतिक संरचनाको विवरण बुझाउनु पर्ने हून्छ । तर, विवरण नबुझाएको स्कुल अवैध हुन्छ, अधिकृत खड्काले भने –‘खारेजको प्रक्रिया बढ्ने छ ।

‘यस्ता विद्यालय अवैध हुन्’, उनले भने –‘अवैधानिक रुपमा विद्यार्थीलाई शिक्षाको पहुँच भन्दा बाहिर राखेको बुझिन्छ । अनुमति लिएर सञ्चालन गरे पनि एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा (ईएम आई एस) अभिलेख नभए स्वतः अवैध ठहरिन्छ ।’

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा (ईएमआईएस)कै अधारमा रिर्पोट बर्षेनि सार्वजनिक गर्ने गरेका छन् ।

२०७० सालमा स्थापना भएको सो स्कुल हाल कक्षा १० सम्म सञ्चालन भइरहेको भन्दै स्थानीयहरुले वडामा उजुरी दिएका थिए । विराटनर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख कृष्ण भट्टराईले बाहिर रहेको वडाध्यक्षको आग्रह अनुसार अनुगमन नगरेको बताए । विरामी भएर भर्खरै कार्यालय आएको बताउदै उनले भने –‘सवन्वय गरेर अनुगमन गर्ने छु ।’

‘वडाध्यक्षे पनि अनुगमन गर्र्न सक्ने अधिकार छ’ , उनले भने –‘वडा अध्यक्षले गरेपनि हुन्छ । अनुगमनमा अवैध सञ्चालन पाइए शिक्षा ऐन अनुसार सो स्कुलको सम्बन्धन रद्द गर्नुको साथै जरिवाना गर्न सकिने व्यवस्था छ । स्थानीयका अनुसार सो स्कुलमा कक्षा १० सम्म पढाई हुने तर एसइई भने दुर्गा माविबाट दिन लगाइने गरिएको छ । स्थानीय अभिभावकलाई निःशुल्क भर्ना लिने प्रलोभनमा विद्यालयले विद्यार्थी लिने गरेको स्थानीयको आरोप छ ।सुरुमा भर्ना गर्न पैसा नलाग्ने बताए पनि पछि विभिन्न बहानामा पैसा असुली गर्ने गरेको एक अभिभावकले बताए ।

महानगरमा हालसम्म एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा (ईएम आई एस)मा जम्मा ९५ वटा बोडिङ्ग स्कुलहरु अभिलेखमा रहेको पाइएको छ । कानुनी तथा शिक्षा नियमावलीअनुसार स्वीकृति लिएर मात्रै विद्यालय सञ्चालन गर्नु पर्ने हो तर, पहुँच र शक्तिको आडमा यस्ता गैरकानुनी काम गरी बालबालिकाको भविष्यसँग खेलवाड गर्ने गरिएकोले महानगरले त्यस्ता विद्यालयलाई कारवाही गर्ने जनाएको छ ।

सोमबार, २१ जेठ, २०८१, बिहानको ०८:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर