कोशी सरकारको नीति तथा कार्यक्रम सोमबार प्रदेशसभामा पेश हुने

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङ्गले सोमबार अपराह्न ४ः०० बजे बस्ने प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

आइतबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । बैठकले नीति तथा कार्यक्रम पेश गर्न प्रदेश प्रमुख खापुङलाई अनुरोध गर्ने र त्यसको व्यवस्थापन गर्न प्रदेशसभालाई आग्रह गर्नेसमेत निर्णय गरेको मन्त्री अधिकारीले जानकारी दिएका छन् ।

सरकारले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको बैठकमा उपस्थित हुने नहुने औपचारिक निर्णय गरेको छैन । हिक्मतकुमार कार्की मुख्यमन्त्री भएपछि बसेका प्रदेशसभा बैठकमा काँग्रेस उपस्थित भएको छैन ।

कोशी सरकार परिवर्तन विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको फैसलदा नआएको भन्दै काँग्रेस वैशाख ३१ मा सुरु भएको प्रदेशसभाको बैठकमा सहभागी भएको छैन । नेपाली काँग्रेसका प्रमुख सचेतक गोपाल तामाङले नीति तथा कार्यक्रम पेश हुने बैठकमा काँग्रेस सहभागी हुने जानकारी दिएका छन् । यद्यपी त्यसको औपचारिक निर्णय सोमबार विहान बस्ने संसदीय दलको बैठकबाट हुने उनको भनाइ छ ।

आइतबार, २० जेठ, २०८१, साँझको ०६:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर