विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी वर्तमान सत्ता समीकरणभन्दा बाहिर नजाने बताएका छन् ।
बिहीबार बिहान आफूसँग कुराकानी हुँदा नेपालले समीकरण भन्दा बाहिर नजाने भनेर स्पष्ट पारेको प्रचण्डको भनाइ छ ।
आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले मधेश प्रदेश सरकार पनि गठबन्धनकै बन्ने दावी गरे । ‘माधवजी अलि पहिलेदेखि नै उता पनि यता पनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो’ उनले भने, ‘तर, अहिले बिहान मेरो कुरा हुँदा माधवजीले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्ने कुरामा क्लियर गर्नुभएको छ ।’ ‘समीकरण भन्दा बाहिर मधेसमा पनि अर्को सरकार बन्दैन’ उनले भने ‘अहिले हाम्रो जे छ त्यही हुन्छ ।’
प्रधानमन्त्री प्रचण्डले संघीय सरकारको बजेटमा कोशी उपेक्षित भएको गुनासोबारे सोधिएको प्रश्नमा त्यस्तो अवस्था नरहेको बताए । विराटनगर रिङरोडदेखि पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज स्थापाना गर्नेसम्मका विषय बजेटमा समावेश भएको उनको दावी छ । ‘अन्य पनि धेरै विषय छन्, वक्तब्यमा आएका विषय मात्र बजेट हैन’ उनले भने ।