एमाले कोशी संसदीय दलको उपनेतामा मेन्याङ्वो चयन

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा तिलकुमार मेन्याङ्वो चयन भएका छन् ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको दलको बैठकले दलको उपनेतामा मेन्याङ्वोलाई चयन गरेको हो ।

यसअघि राम राना दलको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेता थिए । उनी आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएपछि संसदीय दलको उप नेताको जिम्मेवारी मेन्याङ्वोलाई दिएको नेकपा एमाले संसदीय दलका सचेतक कमला दर्नालले जानकारी दिईन ।

राना २०८० वैशाख २० गते एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा चयन भएका थिए । दलको उपनेतामा चयन हुनु भएका मेन्याङ्वो नेकपा एमाले पोलिटब्युरो सदस्य हुन्। उनी ताप्लेजुङबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

बैठकले कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश सभामा ल्याउन लागेको नीति तथा कार्यक्रमका विषयमा सुझाव दिन ५ सदस्यीय कार्यदल बनाएको छ । संसदीय दलको बैठकले उपनेता तिलकुमार मेन्याङ्वोको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा सचेतक कमला दर्नाल, प्रदेश सभा सदस्य तिलचन पाठक, इन्द्रमणि पराजुली र जयप्रकाश चौधरी सदस्य छन् ।

कार्यदलले आगामी आर्थिक वर्षका लागि सरकारले प्रदेश सभामा पेस गर्ने बजेट नीति तथा कार्यक्रम कस्तो बनाउने भनेर सुझाव दिने छ । कार्यदलले १८ गते सम्ममा सुझाव दिइसक्ने सचेतक कमला दर्नालले बताएकी छन् ।

मङ्गलबार, १५ जेठ, २०८१, दिउँसोको ०३:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर