विराटनगर । मोरङ र सुनसरीमा २० हजार भन्दा बढी भारतीय मजदुर बन्दबन्दीका कारण घर फर्किन सकेका छैनन् । भारतको पश्चिमबंगाल स्थित कुशबिहारबाट कामका लागि आएका मजदुरहरु घर फर्कने तयारी गर्दैगर्दा नेपाल र भारतमा करिव एकसाथ बन्दाबन्दी भएपछि उनीहरु काम बिहीन बस्न वाध्य भएका हुन् ।
मोरङ र सुनसरीका इँटाभट्टामा काम गर्ने मजदुरहरु पश्चिमबंगाल स्थित कुशबिहारबाट आउने गरेका छन् । इँटा बनाउने र पकाउने काम नेपाली मजदुरले नगर्ने भएका कारण उद्योगीहरुले भारतबाटै मजदुर आपुर्ति गर्ने गरेका छन् ।
कार्तिक अन्तिम साता आएका मजदुरहरु सुनसरी मोरङमा सञ्चालित करिव ५० इँटा उद्योगमा कार्यरत छन् । यहाँका उद्योगीहरुले मंसिर महिनादेखि चैत्र महिनासम्म इँटा उत्पादन गर्ने गरेका छन् । वैशाखदेखि वर्षा सुरु हुने भएकोले चैत्रमै इँटा उत्पादन बन्द हुन्छ र मजदुरहरु फर्किन्छन् । कुशबिहारका मजदुरहरु ५ महिना नेपाल बसेर फर्किने गरेका छन् ।
यस पटक भने मजदुर फर्किन नपाएको इँटा उद्योगी तथा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताउनुभएको छ । ‘सुनसरी र मोरङका करिव ५० इँटा उद्योगका झण्डै २० हजार मजदुरहरु एक महिनादेखि अलपत्र छन् ।’
यो वर्ष इँटा उत्पादनको काम बन्द भइसकेको छ तर मजदुरहरु भने फर्किन पाएका छैनन् । मजदुर नफर्किदाँ उनीहरुको खाने बस्ने प्रवन्ध उद्योगले गर्नुपरेको छ भने काम नभएपनि न्यूनतम ज्याला पनि दिनु पर्दा उद्योगीहरु थप मारमा परेको उहाँले बताउनुभयो । अध्यक्ष घिमिरेले घर फर्कन खोज्ने मजदुरलाई खर्च गरेर राख्नु पर्दा व्यवस्थापनमा समस्या आएको बताउनुभएको छ ।
पूर्वी नेपालको काँकडभिट्टाबाट २५–३० किलोमिटर दुरीमा घर भएका मजदुरहरु फर्काउन सुनसरी मोरङका इँटा उद्योगीहरुले प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई समक्ष प्रस्ताव गरिसकेका छन् । तर सरकारले त्यस विषयमा कुनै पहल भने अगाडि बढाएको छैन । भारतीय मजदुर फर्काउन पहल गर्नासाथ भारतबाट नेपाल फर्किन खोजिरहेका नेपालीहरुको ठूलो संख्या भित्र्याउन तयार हुनुपर्ने ठानेर बन्दाबन्दीको समयमा ल्याउने र पठाउने काम गर्न नहुने भन्दै संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो उद्योगीहरुले गरेका छन् ।