नेकपाको स्थायी कमिटी बैठक स्थगित, अर्को मिति तोकिएन

विराटनगर । बैठकमा पेस गर्ने एजेण्डा तय नभएपछि बिहीबारका लागि बोलाइएको नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बुधबार अपरान्ह बसेको सचिवालयको बैठकले स्थायी कमिटीको बैठक स्थगित गरेको हो । बैठकपछि पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको थियो । त्यस क्रममा बैठकको मिति तोक्ने विषयमा छलफल भएपनि सहमति बन्न नसकेको बताइएको छ ।

बिहीबार बिहान ११ बजेदेखि बस्‍ने भनिएको स्थायी कमिटी बैठक तत्काललाई स्थगित भएको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको छ । बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकमा राख्‍ने एजेण्डा तय गर्न सकेको थिएन।

गत शनिबार बसेको सचिवालय बैठकले २५ गतेका लागि स्थायी कमिटी डाक्ने निर्णय लिएको थियो। तर, बुधबारसम्ममा पनि सचिवालयले स्थायी कमिटीमा लैजाने एजेण्डा तय गर्न नसकेपछि बैठक स्थगित भएको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एजेण्डा तयसँगै स्थायी कमिटी बस्‍ने नबस्‍ने निर्णयको जिम्मेवारी अध्यक्षद्वयलाई दिइएको जानकारी बुधबार साँझ सञ्चारकर्मीहरुलाई दिनुभएको थियो । तर, दुई अध्यक्षबीच पनि बैठक बोलाउनेबारेमा सहमति नजुटेपछि स्थायी कमिटी तत्कालका लागि स्थगित गरिएको हो।

बुधबार, २४ बैशाख, २०७७, साँझको ०७:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर