मदन भण्डारी अस्पतालका चिकित्सकमाथि कुटपिट,बुधबारदेखि ओपिडी सेवा बन्द

आक्रमण गर्ने पक्राउ नपरेको भन्दै बुधबारदेखि अस्पतालको ओपिडी सेवा बन्द गर्ने

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका दुई जना स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ ।
अस्पतालमा कार्यरत मेडिकल अफिसर मोरङ पथरीशनिश्चरे नगरपालिका १ का २५ वर्षीय ब्रोदिनस बुढाथोकी र अनिलकुमार यादवलाई स्थानीय युवाहरुले कुटपिट गरेका हुन् ।

३ जेठमा दिउँसो खाजा खाएर फर्किने क्रममा डा.बुढाथोकीमाथि मंलबारेका सुमन श्रेष्ठ, सितलराज गिरी र सानु रोक्काको समूहले आक्रमण गरेको आरोप छ । उनीहरुले डा. बुढाथोकीमाथि पुरानो रिसिइबीलाई लिएर आक्रमण गरेको उनले बताए । हस्पिटलमा उपचारको विवाद भएपछि डाक्टर बुढाथोकीमाथि आक्रमण भएको बुझिएको छ । ‘केही दिन अगाडि डा.बुढाथोकीलाई हामी लोकल मान्छे हो । हामीलाई छिटो लाइनमा नबसी उपचार हुनुपर्छ भन्दै आएका थिए । उनीहरु मध्ये सितलराज गिरी चिकित्सक बस्ने कुर्सीमा आएर बसे । मैले यो डाक्टर बस्ने कुर्सी हो । यहाँ नबसिदिनुहोला भन्दै बाहिर आउनु म देखाइदिन्छु भन्दै गए । पछि खाजा खाएर फर्किन क्रममा म माथि आक्रमण भयो,’ डाक्टर बुढाथोकीले सुनाए । ट्रमा सेन्टरमा उनी २०८० असोज २९ गते नियुक्त भएका हुन् ।

त्यसैगरी ७ जेठमा आकस्मिक कक्षमा सेवा दिइरहेको अवस्थामा डा. यादवलाई आक्रमण गरेको बताएका छन् ।इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र दासले अभद्र व्यवहारमा जाहेरी दर्ता भएको बताए । जिल्ला प्रशासन कार्यालयबाट पक्राउ अनुमति पत्र पनि आइसकेकाले आक्रमणमा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । आक्रमण गर्नेहरु फरार रहेका छन् । खोजी कार्य तिव्र बनाएको मोरङ प्रहरीले जनाएको छ ।

बुधबारदेखि ओपिडी सेवा बन्द

चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि निरन्तरण आक्रमण भएपछि अस्पताल प्रशासनले ओपिडी सेवा एक घण्टा बन्द गर्ने भएको छ ।
बुधबार अस्पतालको ओपिडी सेवा बन्द गर्ने अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले निर्णय गरेको हो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र चिकित्सकहरु असुरक्षित भएको र शान्ति सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीहरुले ओपिडी बन्द गर्ने निर्णय मंगलबार गरेका हुन् ।
उनीहरुले चिकित्सकमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही नगरेपछि ओपिडी सेवा बन्द गर्दै थप आन्दोलनको कार्यक्रम सार्वजानिक गर्ने चेतवनी दिएका छन् । पहिलो दिन एक घण्टा १० बजेदेखि ११ बजेसम्म ओपिडी सेवा बन्द हुनेछ । त्यसपछि हातमा कालोपट्टी बाँधेर विरोध गर्ने निर्णयमा उल्लेख छ । ओपिडीमा दैनिक ५ देखि ७०० जना बिरामीले सेवा लिने गरेका छन् ।

बुधबार, ०९ जेठ, २०८१, बिहानको ०८:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर