विराटनगर । लकडाउनको रुप परिवर्तनको माग चर्को रुपमा उठिरहेको बेला सरकारले भने आगामि जेठ ५ गतेसम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । हिंजो बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले पनि लकडाउन बढाउन सुझाव दिएको थियो । समितिले जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।
तर, भारतमा संक्रमणको अवस्था जोखिमपूर्ण देखिएको र त्यसको असर नेपालमा पनि पर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै रुपमा लकडाउन कायम गर्ने बताउनु भएको थियो । नेपालमा टेस्ट कम भएको र यसलाई बढाउनु पर्ने प्रधानमन्त्री ओलीको तर्क रहेको थियो ।
मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय हवाई उडान र सीमा नाकामा आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात् जेठ १८ गतेसम्म लम्ब्याउने पनि निर्णय गरेको छ ।
गत चैत ११ गतेदेखि सरकारले जारी गरेको लकडाउन पटक–पटक थप पछि वैशाख २५ गतेसम्मका लागि कायम गरिएको थियो । लामो लकडाउनले अर्थतन्त्रमा ठूलो समस्या परेको भन्दै प्रभावित भएको छ । सरकारले भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरेको छ ।